पोखरा, भदौ २० गते । पोखराको बजारमा टुसाको व्यापार बढेको छ । कास्कीको ल्वाङघलेलबाट टुसा पोखराको बजारमा आएको छ । साउन अन्तिम साताबाट पोखराको बजारमा टुसा आएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) ले यस वर्षका लागि माछापुछ्रे गाउँपालिका–१, माछापुछ्रे गाउँपालिका–२ सार्दीखोला र माछापुछ्रे गाँउपालिका–८ तथा ९ को ल्वाङबाट टुसा बिक्री गर्न अनुमति दिएपछि पोखराको बजारमा विक्री वितरण भैरहेकोछ ।
विगतको भन्दा टुसाको उत्पादन बढेकाले स्थानीयको आयस्रोतमा थप टेवा पुग्ने उद्देश्यले टुसा बिक्रीका लागि साउनदेखि टुसा बिक्री वितरण गर्न कार्यालयले अनुमति दिएको इलाका संरक्षण कार्यालय ल्वाङ व्यवस्थापन समितिका सचिव सुकबहादुर तामाङ जानकारी दिनुभयो । टुसा पोखराको ब्राण्ड बनेको छ । पोखरेली र पोखरा बाहिरका लागि समेत टुसाको माग हुने गरेको छ । टुसालाई कोसेलीको रुपमा समेत पठाउने गरिएको छ ।
घोरे, मालिङ्गे र जडिबुटी प्रजातिका टुसा यहाँ पाइन्छ । साउनमा मालिङ्गे टुसा आउँछ । स्वादिलो हुने हुँदा उपभोक्ताको पहिलो रोजाईमा पर्ने गरेको छ । निश्चित समयसीमा तोकेर मात्रै टुसा टिप्ने स्वीकृति एक्यापले दिने गरेको छ । बजारमा आउने बित्तिकै एक सय रुपैयाँमा विक्री भएको टुसा अहिले पोखराको बजारमा प्रति मुठा ५० देखि ८० रुपियाँमा विक्री भैरहेको छ । टुसा समुद्री सतहदेखि २५ सय मिटरदेखि ३५ सय मिटरको उचाईसम्म पाईन्छ । कास्कीको विभिन्न ठाँउबाट वार्षिक एक करोड रुपैयाँ बराबरको टुसा पोखराको बजार तथा अन्य शहरसम्म पुग्छ ।
टुसा पोखरामा मात्रै पाइने भएकाले अन्य शहरमा विशेष गरी कोशेलीको रुपमा लैजाने गरिन्छ