नवीन शिशिर विक
बागलुङ, भदौ २३ गते । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको लामो झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ ।
बागलुङ नगरपालिकाले छ महिना अघि विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलको नामाकरण गर्न सार्वजनिक अपिल गरेको थियो । नगरपालिकामा प्राप्त नाम मध्ये बागलुङ नगरपालिका–५ मालिका निवासी घनश्याम सापकोटाले तयार गरेको ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गर्ने निर्णय भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । मङ्गलवार सम्पन्न कार्यपालिका बैठकले उक्त नाम राख्ने निर्णय गरेको थियो ।
पहिलो चरणमा नगरपालिकाले उत्कृष्ट दश नाम छनौट गरेको थियो । पुलको नाम तयार गर्ने व्यक्तिलाई नगरपालिकाले २५ हजार रुपियाँ नगद राशि उपलब्ध गराउने घोषण गरेको थियो ।
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदी माथी हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिक टन लोड धान्न सक्छ ।