पोखरा – मानवसेवा आश्रमले पोखरामा वृहद् सांस्कृतिक देउसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । संस्कृतिको संरक्षणसँगै मानवता प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमाmजानकारी गराइएको छ । महान् पर्व तिहारको पूर्व सन्ध्यामा कात्तिक १६ गते, मंगलबार दिनको ११ बजे कार्यक्रम गर्न लागिएको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमल्सिनाले जानकारी गराए । पोखरा सभागृहमा हुने कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, लोक गायक पशुपती शर्मा, भजन गायक चिरन बराल, आश्रमको संरक्षणमा रहेका आशाका दीपक
बालगोपाल सानासाना बाबुनानीहरु सहित आश्रमका अभियन्ताहरु र बालगोपालहरुको बेजोड प्रस्तुती रहने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हाल पोखरा १७, छोरेपाटनमा भाडामा सञ्चालन भइरहेको मानवसेवा आश्रम पोखरा शाखालाई घरभाडाबाट मुक्त गराई अपाङ्गतामैत्री, बालमैत्री भवनका लागि पोखरा – २५, बबियातारामा निर्माण भइरहेको भवनलाई पूर्णतातर्फ लैजानका लागि उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।यसै कार्यक्रम मार्फत हालसम्म मानवसेवा आश्रमले गरेका कार्यहरुको जानकारी समेत गराइएको थियो । मकवानपुर जिल्लाबाट वि.स २०६९ सालमा सुरुवात भएको आश्रमले हालसम्म १७ जिल्लामा शाखा विस्तार गरेको छ । आजको दिनसम्म आश्रमले ६१३५ जनाको उद्धार गरिसकेको विवरण छ । जसमध्ये हाल आश्रममा १६०० बढी व्यक्तिहरु आश्रित छन् भने २२०० बढीको पारिवारिक मिलन समेत गराएको छ ।
यस्तै पोखरमा रहेका २ वटा सेवाकेन्द्रमा गरि ६८७ जना विभिन्न उमेर समूहका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, भिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको सेवा गरेको छ । त्यस्तै ४६७ जनाको पारिवारिक मिलन भएको छ भने ५२ जनाको आश्रममा सेवाको क्रममा शरीर शान्त भएको छ ।