
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले विपदका कारण मुलुकभित्र बसाइँसराइँको समस्या बढेको बताए । जलवायु परिवर्तनकै कारण अहिले मनाङ र मुस्ताङमा वर्षा हुन थालेको र त्यसले ठूलो क्षति पु¥याएका कारण धेरै बस्तीहरु खतरामा रहेको उनले उल्लेख गरे । घरेलु हिंसाका कारण पनि कतिपय अवस्थामा घर छाडेर हिँड्नु पर्ने वाध्यता र बेरोजगारी समस्याका कारण लाखौं युवाहरु विदेशमा रहेको उनको भनाइ थियो । यी यावत समस्या कम गर्न आइओएमले गण्डकी प्रदेशमा पनि धेरै काम गर्दै आएको भन्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
तर विपद् आउन नदिने, विपद्को जोखिममा रहको क्षेत्रका वासिन्दालाई अन्यत्र सार्ने वा त्यसको उचित व्यवस्थापन गर्ने, विपद्ले ल्याएको क्षतिको लेखाजोखा गर्ने, विपद् पश्चात पुनस्थापना गर्ने कार्यलाई थप प्रभावकारी बनाउनु आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘विपद्को पूर्व सूचना प्रणाली स्थापना गर्ने, विपद् व्यवस्थापनको लागि बृहत योजना बनाउन सहकार्य गर्न जरुरुी छ, यस क्षेत्रमा प्रविधिको प्रयोग बढाउनु पर्नेछ ।’