पोखरा, पुस २५ गते ।नेकपा एमाले कास्कीको दशौँ जिल्ला अधिवेशन जारी छ । पोखरा सभागृहमा जारी अधिवेशनको बन्द सत्र अहिले विहान आठ बजेबाट सुरु हुदै छ । शुक्रबार उद्घाटन भएको अधिवेशनको दोश्रो दिन शनिबार राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि समुह छलफल सहित पारित गरेको छ । अधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने बताइएको छ । निर्वाचन आयोगले पदाधिकारी र सदस्य उठन मापदण्ड तयार गरेको छ । एमाले संगठन विभागले पठाएको मापदण्डलाई कायम गरिने भएको छ ।
निर्वाचनमा अध्यक्ष सहित पदाधिकारी हुन दुई कार्यकाल सदस्वा र सचिवालय सदस्य भएको हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै सदस्यपदका लागि एक कार्यकाल तल्ल्लो कमिटि वा विभागमा काम गरेको हुनुपर्ने मापदण्ड तय गरिएको छ । त्यस्तै अध्यक्ष सहित पदाधिकारीका लागि दश हजार र सदस्यका लागि दुई हजार शुल्क तोकिएको छ । एमालेको नेतृत्वका लागि दुई जनाको दावी रहेको छ । कार्यबाहक अध्यक्ष मनबहादुर गुरुंग र सचिव दामोदर बैरागी अध्यक्षका लागी आकांक्षी रहेका छन् । दुवै जनाले अध्यक्षमा दावी गरेपछि नेतृत्व चयन सकस बनेको छ । सर्वसम्मत नेतृत्व चयनमा सकस भएपछि प्रतिनिधिहरु अन्यौलमा छन् ।
निर्वाचन हुने अवस्था आए टिम बनाएर जाने पक्षमा दुवैको तयारी देखिन्छ । मनबहादुर पक्षबाट उपाध्यक्षमा तेजनाराण अधिकारी, सचिवमा विष्णु केसी वा माधव बास्तोला मध्य एक जनालाई उम्मेदवार बनाउने चर्चा चलेको छ भने उपसचिवमा इमानराज पौडेलले उम्मेवारी घोषणा गरेका छन् । यता बैरागी प्यानलबाट उपाध्यक्षमा युवराज पौडेल, सचिवमा बैनबहादुर क्षेत्री, उपसचिवमा नवराज ओझा उठने पक्का भएको छ । तर नेतारुले सहमतीका लागि प्रयास गर्ने र निर्वाचन हुन नदिने प्रयास गरिरहेको बताइएको छ ।अधिवेशनमा ९१२ प्रतिनिधि रहेका छन् ।