पोखरा, चैत ६ गते । पोखराको फोहोर नउठेकोमा नेपाली काँग्रेस कास्कीले ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गदै काँग्रेसले पोखराका चोक चोक र गल्ली गल्लीमा थुपारिएका फोहरका डंगुरहरु प्रति न गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विश्वकै प्राकृतिक मनोरम दृष्टीले उत्कृष्ट शहरको रुपमा परिचित पोखरा र यसको अनुपम सुन्दरतालाई चुनौति दिदैं पोखरा महानगर पालिकाको वर्तमान नेतृत्व शहरभित्रको फोहोर मैला व्यवस्थापनमा उदासिन वन्दै गईरहेको परिप्रेक्ष्यमा पछिल्लो समय शहर नै कुरुप देखिने गरी वजारका चोक चोक तथा गल्ली गल्लीमा थुपारिएका फोहोर मैलाको डंगुरहरुलाई तत्काल व्यवस्थापन गर्न महानगर नेतृत्वलाई नेपाली काँग्रेस कास्की सचेत गराउँदछ प्रेस विज्ञप्तिमा भनिएकोछ ।
स्मार्ट सिटी को झुट्ठा चुनावी नारा दिएर जनतालाई दिग्भ्रमित पारी नेतृत्व हत्याएको वर्तमान नेतृत्वले आफ्नो ५ वर्षिय कार्यकालमा आम पोखरेली जनताले अनुभूति गर्ने खालको कुनै पनि दीर्घकालीन महत्वका विषयका परियोजनाहरु सम्पन्न गर्न नसकेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, सुशासन दिन सकेन ।
आम जनताको नजरमा केवल कम्यूनिष्टहरुको भर्तीकेन्द्र, ढिलासुस्ती, विचौलियाको केन्द्र तथा भ्रष्टाचारको अखडाका रुपमा दुर्भाग्यवश महानगर स्थापित हुन पुगेको आरोप लगाउदै आम जनताको स्वास्थ्यसंग जोडिएको फोहोर मैला व्यवस्थापनलाई हेलचक्राई गरी गरिएको र पोखरा महानगरको लापरवाही प्रति नेपाली काँग्रेस कास्की घोर निन्दा र भत्र्सना गर्दछ भनिएको छ । काँग्रेसले तत्काल दीर्घकालीन कार्ययोजना सहित फोहोर मैलाको व्यवस्थापन गर्न जोडदार माग गरेको छ ।