पोखरा, बैशाख १ गते । ।गैर आवासीय नेपाली संघ(एनआरएनए) हङकङले पोखरा महानरपालिकालाई ७५ हजार मास्क सहयोग गरेको छ । मंगलबार अन्तराष्ट्रिय समन्वय परिषद मार्फत आइसिसी मार्फत पोखरा महानगरपालिकालाई ७५ हजार सर्जिकल मास्क हयोग गरेको हो ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा.बद्री केसी, एनआरएन अध्यक्ष रविना थापा, एनआरएन हङकङ निर्वतमान अध्यक्ष एवं केन्द्रीय सचिव राधिका (टिका) गुरुङले पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई संयूक्त रुपमा हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा आइसिसी उपाध्यक्ष भुषण घिमिरे, उपमहासचिव ओम गुरुङ, सहकोषाध्यक्ष कञ्चन थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष रविना थापाले सानो भएपनि सहयोग गरेर सम्वन्ध स्थापित गर्ने काम गर्न पाउदाँ खुशी लागेको बताउनुभयो । उहाँले एनआरएन ८४ देशभा रहेको बताउदै कोरोना संक्रमणका बेला सहयोग गरेको स्मरण गर्नुभयो । उहाँले नेपालमा अहिले देखिएको विदेशी मुद्राको सञ्चिति घटेको र त्यसलाई सहयोग गर्न खाता खोल्न प्रोत्साहन गर्ने बताउनुभयो । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले विदेशमा बसेरपनि नेपाललाई माया गर्नेहरुबाट कोरोना संक्रमणका बेला धेरै सहयोग पाएको बताउदै एनआरएनले पनि सहयोगको हात बढाउदाँ खुशी लागेको बताउनुभयो ।
कोरोनाको दोश्रो लहरमा एनआरएन हङकङले गण्डकी प्रदेश सहित नेपालका विभिन्न ठाँउमा १३० वटा अक्सिजन कन्सन्टेटर र १७ लाख १९ हजार मास्क वितरण गरेको एनआरएन राष्टिय महिला सचिव राधिका गुरुङले जानकारी दिनुभयो ।