पोखरा, मंसिर १३ गते । मानवीय सभ्यतालाई नै चुनौती दिने गरी विश्वब्यापी रुपमा कोरोना भाइरसको महामारी फैलियो । नेपाल सरकारले पनि आफना नागरिकलाई कोराना भाइरसबाट जोगाउन लकडाउन घोषणा गर्यो । गत वर्ष चैत ११ गते लकडाउन घोषणा गरेसंगै कोरोना नियन्त्रणका लागि स्थानीय सरकारलाई जुटे । पोखरा महानगरपालिकाले लकडाउनको घोषणासंगै क्वारेन्टीन ब्यवस्थापन, दैनिक ज्यालादारी र विपन्न परिवारलाई राहत वितरण, मृगौलाका विरामी र गर्भवती महिलालाई प्रसुती सेवा सहज प्राप्त गर्न निशुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिलालाई पौष्टिक आहार वितरण, पहिलो महिला क्वारेन्टीन निर्माण गर्यो ।
पोखरा महानगरले कोरोना रोकथामका लागि आफनो तर्फबाट आवश्यक सबै कार्यहरु व्यवस्थित रुपमा गर्यो । महानगरले सरकारी अस्पताल, छिमेकी गाँउपालिका, गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री पीपीई प्रदान गर्यो । सरकारले सात महिना गरेको बन्दाबन्दीमा पोखरा महानगरपालिकाले उत्कृष्ट कार्य सम्पादन गरेको छ । त्यसैले गण्डकी प्रदेशका ११ जिल्ला मध्य पोखरा महानगरपालिका कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी कार्यालय पोखराले ११ जिल्लाबाट एकएक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको थियो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताउनुभयो ।उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका छन् ।
महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, संक्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयास लगायतलाई उत्कृष्टको सूचकका आधार मानिएका थिए । मन्त्रालयले मागेपछि जिल्लाबाट तथ्याङ्क मागिएको र तिनै तथ्याङ्कको आधारमा उत्कृष्ट छनोट गरिएको हो अधिकृत पौडेलले बताउनुभयो ।