पोखरा, चैत २१ गते । पोखरा आईतबार गण्डकी प्रदेशस्तरीय मुआथाई संघ गठन भएको छ । प्रशिक्षक समेत रहेका दिपकबहादुर गोदारको अध्यक्षतामा १३ सदस्यीय मुआथाई गण्डकी प्रदेश संघ गण्डकी गठन भएको हो । संघको दुई उपाध्यक्ष पछि मनोनित गर्ने गरी समिति गठन गरिएको हो ।
संघको महासचिवमा खगेन्द्र क्षत्री, सचिवमा आकृति भण्डारी, कोषाध्यक्षमा विजय गुरुङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा ईश्वर श्रेष्ठ, शुशिल सुनार, सुजन लामिछाने, महेन्द्र थापा, सुनिल थापा रहेका छन । त्यस्तै जितु शाही, विकास गुरुङ र कृष्ण कार्की रहेका छन् ।नवगठित संघको उदघाटन गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले गरेका थिए । उनले खेलकुदमा हाम्रो भन्ने भावना विकास नभएसम्म विकास नहुने बताउदै खेलकुद क्षेत्रमा दलाली प्रबृत्ति रहेको बताए ।
उनले खेलाडीका लागि स्थापना भएपनि खेल संघहरुले खेलाडीको पक्षमा काम गर्न नसकेको बताउदै मेरो भन्ने भावनाबाट प्रभावित रहेको बताए ।उनले म र मेरो भन्ने भन्दा हामी भन्ने अवस्था नभएसमम खेलकुदको विकास सम्भव नहुने दावी गरे । म होईन, हामी भन्ने सोच खेलकुदमा हुनुपर्छ ।’ उनको भनाई थियो । प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले यस खेलप्रति युवाहरुको आकर्षक बढेको बताउदै खेलको विकास र विस्तारमा संघले भुमिका खेल्ने बताए । उनले खेलकुदमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको बताउदै खेल संस्कृतिको विकास गर्नुपर्नेम जोड दिए । उपाध्यक्ष गुरुङल खेलकुद जितहार मात्रै नभई अर्थ र पर्यटनसंग जोडिनुपर्ने बताए ।
पूर्व अन्तराष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराईले खेलमा रंग,भेदभाव , जातीय र राजनीति नहुने बताउदै खेलले एकता कायम गर्ने बताए । उनले नेपाली खेलकुद कार्यकता भर्ति केन्द्र बनाईएर ।गन्धनाला जस्तै दुर्गन्धित भएको टिप्पणी गरे । उनले खेलाडी कुनै पार्टीको मसलदार हैन समाजमा एकता कायम गर्ने हो ।त्यसका लागि खेल जगतको विकास आवश्यक रहेको बताए । खेलाडीले राष्ट्रका लागि खेल्ने हो उनले भने हामी सवै राजनीतिक आस्था राख्छौं तर कसैको मसलदार बन्ने अवस्थाको अन्त्य हुनुपर्छ भने
।
कार्यक्रममा मुआथाईका कार्यबहाक अध्यक्ष सम्पन्न श्रेष्ठले मुआथाईको गर्विलो इतिहास रहेको बताउदै यसको सुरुवात थाइल्यान्डबाट भएको बताए । कार्य्रक्रम सञ्चालन सुवाष खड्काले गरेका थिए ।पोखरामा २०६२ सालदेखि मुआथाई खेलको शुरुवात भएको हो । २०६२ सालमा दिपकबहादुर गोदारले थाईल्याण्डमा प्रशिक्षण गरेर फर्किएपछि पोखरामा मुआथाई खेलको शुरुवात भएको हो । यद्यपी २०६६ सालमा अन्तराष्ट्रिय मुआथाई महासंघ(आईएफएमए, इन्टरनेशनल फेडेरेसन अफ मुआथाई एशोसियसन)बाट अन्तराष्ट्रिय सम्बन्धन प्राप्त गरी राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको हो ।
नेपालबाट सन २०१० मा दिपकबहादुर गोदा, गणेश कक्षपति र निर्मल पहारी थाइल्याण्डमा सहभागि भएका थिए । सन २०१६ मा तुर्किमिनिस्तानमा पोखराका खेलाडी नवराज गुरुङ इन्डोर एशियन गेम्समा सहभागिता जनाएका थिए । अन्तराष्ट्रिय एरिनामा रुपक नेपाली, तुलसी थापा लगायत सहभागिता जनाई सकेका छन् ।
पोखरामा २०६४ सालदेखि मुआथाई खेलको प्रशिक्षण शुरु भएको हो । २०६८ सालमा जिल्ला संघ गठन गरेपछि खेलले व्यापकता पाएको थियो । नयाँ प्रदेश संघ गठन भएसँगै संघले रेफ्री कोर्ष, मुआथाई कोर्ष तथा आत्मरक्षा तालिम, पोखरा महानगपालिका मुआथाई च्याम्पियनसिप तथा राष्ट्रिय मुआथाई च्याम्पियनसिप लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।