पोखरा, १ वैशाख ।आदर्श समाज दैनिक ३० औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम गरिएको छ ।सोमबार आयोजित समारोहमा उपस्थित आदर्श समाज परिवारका सदस्यहरुले आपसमा नयाँ वर्ष–२०८२ को शुभकामना साटासाट गरे ।
सो अवसरमा वितरण विभागमा रही लामो समयदेखि कार्यरत् पोखरा–२६, लेखनाथ निवासी पूर्णबहादुर रानाभाटलाई सम्मान गरिएको छ । उनलाई पत्रिकाका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोला, प्रबन्धक कृष्णप्रसाद बस्ताकोटी, व्यवस्थापक दुर्गादेवी बास्तोला, कार्यकारी सम्पादक विजय नेपालले सम्मान प्रदान गरेका हुन् ।
समारोहमा आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका अध्यक्ष एवं प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रिका प्रकाशनमा धेरै चुनौतीहरु रहेको उल्लेख गर्दै संयमित भएर अघि बढ्नुपर्ने बताए । उनले पत्रिकालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण पाठक, ग्राहक, विज्ञापनदाता, स्तम्भकार तथा सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गरे ।
प्रबन्धक कृष्णप्रसाद बस्ताकोटीले पत्रिकाको सुरुआतको संघर्षको चित्रण गर्दै यो पत्रिका पोखराको पर्यायवाची बनिसकेको उल्लेख गरे । उनले पत्रिकाको स्वतन्त्र छवि रहेको बताउँदै यसको चर्चा जताततै हुने गरेको जनाए ।
व्यवस्थापक दुर्गादेवी बास्तोलाले सबैको साथ र सहयोगले पत्रिका यहाँसम्म आइपुग्न सफल भएको बताइन् ।
कार्यकारी सम्पादक विजय नेपालले पत्रिकाले आफ्नो आदर्श र पत्रकारिताको सिद्धान्तलाई जहिले पनि आत्मसात गर्दै अघि बढेको बताए । उनले आगामी दिनमा पाठकसमक्ष पत्रिकालाई अझै सशक्त र गुणस्तरीय बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
वितरण शाखा प्रमुख बलबहादुर राउतले नयाँ वर्ष तथा पत्रिकाको वार्षिकोत्सव अवसरमा शुभकामना व्यक्त गर्दै प्रगतिको कामना गरे ।वितरण शाखा प्रमुख बलबहादुर राउतले नयाँ वर्ष तथा पत्रिकाको वार्षिकोत्सव अवसरमा शुभकामना व्यक्त गर्दै प्रगतिको कामना गरे ।
पत्रिकाको सम्पादन, मार्केटिङ, वितरण, छपाई तथा प्रशासन विभागका कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन प्रशिक्षार्थी पत्रकार दिनेश पौडेलले गरेका थिए ।
पोखराको पुरानो आदर्श समाज २०५३ वैशाख १ गतेबाट पाक्षिकरुपमा प्रकाशन सुरु भएको थियो । अर्को वर्षपछि साप्ताहिकमा रुपान्तरण भएकोमा २०५४ माघ श्रीपञ्चमीदेखि दैनिकरुपमा निरन्तर प्रकाशित हुँदै आएको छ । यो गण्डकी प्रदेशमै राष्ट्रिय (क) वर्गको एकमात्र दैनिक हो ।