पोखरा स्पोर्टस् अवार्ड: ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने

पोखरा ।नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख २६ गते इभेन्ट सेन्टरमा हुने अवार्डको ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले गर्ने भएको हो ।


सोमबार प्रतिष्ठानका तर्फबाट नवीन पुन र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल समाज सेवाको क्रियाकलापमा अग्रपंक्तिमा रहेको छ भने यसका संरक्षक पूर्वमन्त्री उत्तम पुन हुन् ।

अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा सहयोगीहरु जोडिने क्रम समेत बढ्न थालेका छन् । नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ ।

 

त्यस्तै उदीयमान खेलाडी विधाको पुरस्कार प्रायोजन सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था विधाको पुरस्कार प्रायोजन निट डेन्टल केयर र लाइफटाइम अचिभमेन्ट अवार्डको प्रयोजन सिटिजन फर्निचरले गर्ने सम्झौता भइसकेको छ । त्यसैगरि जिल्ला एथ्लेटिक्स सङ्घ कास्कीले ११ हजार १ सय ११ रुपैयाँ, मदन भण्डारी स्पोर्टस् एकेडेमीले १ सय थान टिसर्ट सहयोग गर्ने सम्झौता भइसकेको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ ।

 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...