असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने एन्फाले दियो मिति

पोखरा – पोखरा गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत मिति दिएको छ । एन्फाले आज गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखी साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको हो । एन्फाको स्विकृत संगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ ।

उक्त प्रतियोगितामा कुल ८ टिमको सहभागिता गराउने संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार विभागिय क्लब त्रिभुवन आर्मी र एपिएफ क्लबले सहभागिता जनाउने भइसकेका छन् । ‘एन्फाले डेट दिएपछि हामीले अब तयारी थालेका छौं । सोही मितिमा हामीले प्रतियोगिताको आयोजना गर्नेछौं’ उनले भने, ‘हामीले ८ टिमको मात्र सहभागिता गराउने तयारीमा छौं । यसका लागि आर्मी र एपिएफ आउने पक्का भएको छ भने गण्डकीको पनि टिम रहनेछ ।’ पोखरामा महिला फुटबलको गतिविधि नै न्युन छ ।

 

 

संघले महिला फुटबललाई प्राथमिकतामा राखेर महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको उनले सुनाए । जुन गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक हुनेछ । महासचिव गुरुङले दीर्घकालिन सोच राखेर अब महिला फुटबलको विकासका लागि संघले पहिलो कदम चालेको सुनाए । उनका अनुसार संघले प्रदेशभित्र यस अघि प्रतियोगिताको आयोजना नगरेपनि विभिन्न खेलाडी, प्रशिक्षक तथा रेफ्री विकासका लागि तालिम, गोष्ठि तथा कोर्ष सञ्चालन गर्दै आइरहेको थियो ।

 

‘हामीले महिला फुटबलको विकास गर्ने उदेश्यका साथ पहिलो पटक महिला फुटबलको आयोजना गर्दैछौं । यसका लागि आवश्यक तयारीमा हामी जुटिरहेका छौं । अब त एन्फाले समेत डेट दिइसकेको छ’ उनले भने, ‘यो गण्डकी प्रदेशकै प्रतिष्ठीत प्रतियोगिता हुनेमा आशावादी छौं । हामीलाई महिला फुटबलको विकासमा लागेन भनेर धेरै गुनासो पनि आउने गरेको सत्य हो र त्यहाँ कहि न कहि हामी चुकेकै थियौं तर, हामी संगपनि बजेट छैन सबै सहयोगकै भरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ तर, यसपटक हामीले यो काम आटेका छौं ।’ उनका अनुसार गण्डकीमा महिला फुटबलको गतिविधि भएमा अहिलेका चर्चित विभागिय टिमलाई समेत टक्कर दिने बलियो टिम बन्नेछ ।

 

 

महिला फुटबललाई अघि बढाउनकै लागि बागमति गोल्डकपमा टिम लिएर गएको सुनाउँदै उनले गण्डकीका महिला खेलाडीलाई निरन्तर प्रशिक्षण दिन सकेमा अबका केहि वर्षपछि उत्कृष्ट टिम बन्ने सुनाए । ‘हामीले बागमतिमा भएको गोल्डकपका लागि टिम छनोट गर्दा खेलाडीको उपस्थिति पनि राम्रो थियो । त्यहाँ निकै राम्रो खेल खेल्ने खेलाडीहरुको पनि सहभागिता थियो । उनीहरुलाई निरन्तर प्रशिक्षण दिन सकेमा गण्डकीको महिला फुटबलले गति लिनेछ’ उनले भने ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...