लेखनाथ, जेठ १० गते ।पोखरा महानगरपालिकाको वडा नं. २६ ले शनिवार छलफल कार्यक्रमको आयोजना गरी दुई बर्षका लागि वडा विकास संभावनाका आधारहरु खोजेको छ ।
विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई भेलामा वडाले आगामी बजेटमा समावेश गर्ने गरी नीति, योजना र विकास संभावनाको आधारहरु खोजेको हो ।
तीन बर्षसम्म भौतिक पूर्वाधारमा बजेट केन्द्रित गरेको वडाले अवका दुई बर्ष शिक्षा, स्वास्थ्य र रोजगार प्रवद्र्धन हुने योजनालाई प्राथमिकीकरण गर्न छलफल आयोजना गरेको वडा अध्यक्ष नरेन्द्र थापाले बताउनु भयो ।
कार्यक्रममा पूर्व कानुन मन्त्री यज्ञवहादुर थापाले वडा नं. २६ मा जनताले महसुस गर्नेगरी विकास भएको उल्लेख गर्दै, रोजगारी सिर्जना गर्ने र युवा पलायन रोक्ने कार्यक्रमहरु समावेश गर्न सुझाव दिनु भयो ।
पूर्व मन्त्री थापाले सरकारका मन्त्रालय, विभाग र विभिन्न निकायमा कार्यरत कर्मचारीहरुले पनि आफु बसोबास गरेको वडा र भूगोलको विकासका लागि योगदान दिन आग्रह गर्नु भयो ।
सर्वोच्च अदालतका पूर्व न्यायाधिस डा. आनन्द मोहन भट्टराईले विकास निर्माणसँगै पर्यावरणीय सन्तुलनलाई ध्यान दिन जोड दिनु भयो ।
उहाँले संविधानले नै तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै, संघीय र प्रदेश सरकार सधै जोखिममा रहने तर स्थानीय सरकार कहिल्यै भंग नहुने स्पष्ट पार्नु भयो ।
उहाँले प्रकृतिका उपहारलाई प्रवद्र्धन गरेर पर्यटन विकासमा जोड दिने गरी खाका तयार गर्न आग्रह गर्नु भयो । पूर्व न्यायाधिस भट्टराईले पहाडी क्षेत्रका बाँझो जमिनलाई उपयोग गर्ने नीति ल्याउन र बाँदर नियन्त्रणमा जोड दिन आग्रह गर्नु भयो ।
गण्डकी प्रदेश सरकारका सचिव बद्री अधिकारीले भौतिक निर्माणले मात्र बिकासको मापन नहुने उल्लेख गर्दै, उत्पादनलाई जोड्ने खालका कार्यक्रम समावेश गर्न सुझाव दिनु भयो ।
प्रादेशीक स्वास्थ्य तालिम केन्द्रका प्रमुख डा. विनोद विन्दु शर्माले गण्डकी आर्यूवेद अस्पतालको स्तरोन्नती सँगै वडा नंं २६ मा संघीय सरकारले एक सय शैयाको अस्पताल निर्माणका लागि योजना अगाडी बढाएको जानकारी दिनु भयो ।
शसस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक सुर्यप्रसाद तिमिल्सेनाले सरसफाईका काममा सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले शसस्त्र प्रहरीबलले शिक्षालय संचालनका लागि जग्गा खोजिरहेको उल्लेख गर्दै, न्यून विद्यार्थी भएका भवनलाई प्रयोग गर्न दिन आग्रह गर्नु भयो ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुंगानाले जेष्ठ नागरिक र महिला लक्षित कार्यक्रममा समन्वय गर्न सकिने बताउनु भयो ।
लायन्स क्लव अफ इन्टरनेशनल ३२५ आई का गर्भनर विनोद ढुंगानाले वडा नंं २६ को लक्ष्मी मा.वि मा सहकार्यमा पुस्तकालय निर्माणको काम अगाडी बडेको उल्लेख गर्दै, अन्य योजनामा समेत सहकार्य गर्न सकिने बताउनु भयो ।
वडा अध्यक्ष नरेन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो बर्ष चलिरहँदा झण्डै ७५ करोड रुपैया बिकास निर्माणका लागि खर्च भएको तथ्यांक प्रस्तुत गर्नु भयो । उहाँले जो जहाँ जुन निकायमा छ त्यहीबाट वडा विकासका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।
अध्यक्ष थापाले कार्यक्रममा प्राप्त विचारलाई पूँजिको रुपमा लिएको उल्लेख गर्दै, त्यसैलाई आधार बनाएर आगामी बर्षको नीति तथा कार्यक्रम तय गरिने बताउनु भयो । उहाँले आगामी बर्षको बजेटलाई शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धनमा टेवा पुग्नेगरी विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
अध्यक्ष थापाले बिगतमा गरेका सार्वजनिक सुनुवाई, योजना तर्जुमा, वडा अनुगमनका सवै कार्यक्रम पृथक भएको उल्लेख गर्दै, यस कार्यक्रमले थप कर्तव्य बोध भएको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा व्यवसायी चन्द्रकृष्ण कर्माचार्यले राजमार्गको पुर्ननिर्माणसँगै बजारका स्वरुपमा परिवर्तन आएको उल्लेख गर्दै, अझै पनि केही स्थानमा टाउन प्लानिङ गर्न सकिनेमा जोड दिनु भयो ।
अर्का व्यवसायी बाबुराम गिरीले राजमार्गबाट विस्ताथपित भएका बजारलाई भित्री सडक व्यवस्थित गरी स्थानान्तरणको योजना ल्याउन आग्रह गर्नु भयो । उहाँले वडा बिकासका लागि तीन तहका सरकारविच समन्वय हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगमा कार्यरत सन्तोष ढुंगाना, निर्वतमान वडाध्यक्ष नारायण प्रसाद बराल, शिक्षाविद् रविप्रसाद बराल, तारा शर्मा पूर्व उपसचिव रामजी बराल, व्यवसायी छत्रधर आत्रेय, डा ग्रिष्ममोहन भट्टराई, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, डा. उदय ढुंगाना, बैकुण्ठ बराल, सुदिप अधिकारी, नारायण लामिछाने, संचारकर्मी भिमपाणी बराल, इन्जिनियर सन्दिप पौडेल लगायतले दिगो विकासका लागि सुझाव दिएका थिए । कार्यक्रममा सुचना अधिकारी नवराज सापकोटाले सहजीकरण गरेका थिए ।