लेखनाथ,जेठ २०/पोखरा महानगरपालिका वडा नंं २६ ले महिला तथा आमा समूहका लागि उद्घोषण र समूह व्यवस्थापन तालिम सोमबार देखी शुरु गरेको छ ।तालिम शुभारंभ गर्दै, पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले महिलाहरुका लागि संचालन गरिएका कार्यक्रमहरु प्रभावकारी हुँदै आएको बताउनु भयो ।वडा अध्यक्ष थापाले महिलाहरुको क्षमता र नेतृत्व विकासका लागि बार्षिक कार्ययोजना बनाई तालिम संचालन गर्दै आएको उल्लेख गर्नु भयो ।
तालिमले महिलाहरुलाई आत्मविश्वासी र दृढ बनाएको बताउँदै, अध्यक्ष थापाले समूह र टोलबाट नयाँ नेतृत्व उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले अनुशासन र समय व्यवस्थापनमा महिलाहरु अब्बल हुने भएकाले तालिमको सिकाई प्रभावकारी हुन् अपेक्षा गर्नु भयो ।मसिना कुराहरुको ज्ञान नहुँदा समूहलाई व्यवस्थापन गर्न कठिनाई भएको उल्लेख गर्दै अध्यक्ष थापाले तालिम पछि महिलाले नेतृत्व गरेका समूह सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो ।
वडा सदस्य लक्ष्मीदेवी भट्टराईले क्षमता भएकाहरुको भूमिका समाजमा फरक हुने भएकाले सहभागीलाई तालिमले थप शक्तिकरण गर्ने बताउनु भयो ।वडा सदस्य सुजता बराल सुनारले क्षमता अभिबृद्धि र उद्यमशिलताका तालिमहरुले महिलाहरुलाई शसक्तीकरण र उत्पादनमा जोड्न सकिने बताउने भयो ।कार्यक्रममा पोखरा महानगरपालिका वडा न.ं २६ का सूचना अधिकारी नवराज सापकोटाले व्यक्तित्व विकास र अन्तरनिहित दक्षतालाई प्रस्फुटन गर्न तालिम सहयोगी हुने उल्लेख गर्नु भयो ।
प्रशिक्षक घनश्याम पाण्डेले ज्ञान हुँदा हुँदै पनि अभिव्यक्तिको माध्यम र विधि जानकारी नहुँदा महिलाहरु नेतृत्वदायी भूमिकामा देखिन समस्या भएको बताउनु भयो ।वडा सदस्य लक्ष्मी देवी भट्टराईको अध्यक्षतामा भएको तालिम शुभारंभ कार्यक्रमको संचालन वडा नं. २६ का कर्मचारी इन्दिरा रेग्मीले गर्नु भएको थियो । एक सातासम्म संचालन हुने तालिममा एक सय २० जनाको सहभागिता रहेको छ ।