पाेखरा ।प्रेस क्लब गण्डकीको आयोजनामा पोखरामा मिडिया साक्षरता तालिम आयाेजना गरियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा बुधबार तालिम भएको हो ।
प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले तालिममा प्रशिक्षण दिएका थिए । लामिछानेले सहभागीहरुलाई सूचनाको सही प्रयोग, पत्रकारिता क्षेत्रमा हाल देखिएका समस्याहरु र आचारसंहिताबारे अभिमुखीकरण गराएका थिए ।
क्लबका अध्यक्ष एकराज गिरीले संस्थाले वार्षिक ५० हजारको पत्रकारिता पुरस्कार प्रदान गर्न सुरु गरेको बताए । उनले पत्रकारहरुका लागि स्कुटर मोटरसाईकल लगायतका सवारी साधनहरुको निःशुल्क सर्भिसिङ व्यवस्था गरीएको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले तालिम लिइसकेपछि पत्रकारले समाचारका लागि खिच्ने फोटो, भिडियो र समाचारहरुमा तालिमको सकारात्मक प्रभाव देखिनुपर्ने बताए । आफ्नो रुचिअनुसारको बिटमा कलम चलाउनुपर्ने बताउँदै यसले समाचारको गुणस्तर बढ्ने उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारिता क्षेत्रमा नयाँ प्रविधिहरु आउनले भएकाले पत्रकारहरु हरेक विषयमा दैनिक अपडेट रहनुपर्ने बताए । तालिममा पोखरामा कार्यरत पत्रकारहरूकाे सहभागिता थियो । उद्घाटन सत्रको समापन प्रेस क्लब गन्डकीका उपाध्यक्ष राजाराम पौडेलले गरेका थिए ।