एकराज गिरी।/पोखरा, साउन ३ गते । साउन महिनासंगै पोखराका कस्मेटिक पसलका संचालकहरुलाई भ्याई नभ्याई छ । हरियो चुरा, हरियो पोते र हरियो टिका प्रति नेपाली महिलाहरुको आकर्षण बढेपछि कस्मेटिक पसल संचालकहरु ब्यस्त छन् । साउनको सुरुवातबाट नै हरियो चुरा र हरियो पोतेको माग बढ्ने भएकाले साउन अगावै नै हरिया चुराको बन्दोवस्त गरेर अहिले विक्री गर्न ब्यवसायी ब्यस्त छन् ।
साउनको सुरुवातको हप्तामा आफनो पसलमा आउने अधिकाँश महिलाहरुको रोजाई हरियो चुरा हुने गरेको अकिंता कस्मेटिक पसलका संचालकले बताउनु भयो । यतिवेला पोखराका अधिकाँश कस्मेटिक्स पसलहरु हरियो चुरा र पोतेले झपक्क भएका छन् । पसलहरुमात्र होईन पोखराका सडकपेटिमा मेहेन्दी लगाउने महिलाहरु झुम्मिएका देखिन्छन् । केहि वर्षयता नेपाली महिलाले साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउने क्रम बढेको छ ।
यो क्रम वार्षिक रुपमा बढ्दो छ । साउन लागेपछि महिला मात्रै हैन बच्चादेखि युवती सवैको हत्केलामा मेहन्दी र पाखुरामा हरियो चुरा हुन्छन् । विवाहित महिलाले श्रीमानको लामो आयुको कामना गर्दे हरियो चुरा र मेहेन्दी लगाउने गरेको दावी गर्छन ।सवै प्रकारका महिलाले कुनै न कुनै बहानामा साउन महिनामा हरियो चुरा र मेहन्दी लगाएकै हुन्छन् । कोही विश्वास गरेर लगाउँछन त कोही विश्वास नभएपनि लगाउँछन् । साथीसंगीको संगतले पनि युवतिहरुको हात र पाखुरा हरिया चुरा र मेहन्दीले सजिएका देखिन्छन् ।पोखराको बगरमा बस्ने विनिता गुरुङलाई हरियो चुरा र मेहन्दी लगाउनुको कारण बारे थाहै छ्ैन तर उहाँको हात हरियो चुराले भरिएको छ ।
हरियो चुरा लगाउनुको कारणबारे खासै थाहा छैन् गुरुङले भन्नुभयो–‘सवैले लगाएको देखेर लगाएकी हुँ,अरुले लगाएको देखेर मात्र फेशनको लागि लगाएकी हुँ ।’यहि प्रश्नमा मालेपाटनकी भुमिका गुरुङले “हरियो चुरा लगाउँदा आनन्द अनुभुति हुन्छ, मनमा शितलता भएको जस्तो हुन्छ, अनि आत्मविश्वास पनि बढ्छ,त्यसैले हरियो चुरा लगाउछु” । उहाँले साउन महिनामा हातैभरि टम्म चुरा लगाउदाँ आनन्द लाग्ने बताउनुहुन्छ ।“गाउँघरमा पहिला पहिला साउनमा हर्रेउ, सर्प वढि आउने भएकाले महिलाहरुले घाँस दाउरा गर्दा नटोकोस भनेर हरियो चुरा लगाउँथे तर अहिले त फेशने नै भएको छ ।”त्यस्तै पोखराकै सपना रिजाल भन्नुहुन्छ “साउनमा विशेष गरी शिवजीको पुजा हुन्छ र शिवलाई मन पर्ने रंग हरियो हो, त्यसैले शिवलाई खुशि पार्न हरियो चुरा लगाउँछु ” ।
अधिकाँश महिलाले भगवान शिवको मनपर्ने रंग हरियो भएकाले हरियो वस्त्र,चुरा लगाउने गरेको बताउँछन् । तर यो कुरामा धार्मिक व्यत्तित्वहरु विश्वास गदैनन् । ज्योतिष बेदनाथ तिमिल्सिना सहमत हुनुहुन्न् । धार्मिक शास्त्र कहिपनि शिवलाई मनपर्ने रंग हरियो भन्ने उल्लेख छैन जानकार बताउछन् । बरु साउनमा कृष्णझुला हुने गरेको र त्यसमा कृष्ण र राधाले हरियो र पहेलो वस्त्र धारण गर्ने गरेकोले महिलाहरुले त्यसकै सिको गरेर हरियो वस्त्र र चुराको फेशन गरेको हुनसक्ने अनुमान छ ।
हरियो चुरा जस्तै केहि वर्ष यता मेहेन्दीको क्रेज पनि बढ्दै गएको पाईन्छ । रेडिमेट मेहेन्दीका कारण परम्परागत रुपमा लगाईदै आएको तिउरीको महत्व घटेको छ । वजारमा पाईने रेडिमेढ मेहेन्दी छिटो उपलब्ध हुुनुका साथै लगाउँदा पनि सजिलो हुने गरेकोले तिउरीको महत्व घटेको हो ।पोखराका ब्यूटि पार्लर देखि सडक पेटिमा यतिवेला मेहेन्दी ब्यवसायी गर्नेको भिड लागेको छ ।सडकपेटिमा भेटिने आर्टिस्ट र वजारमा खुलेका ब्युटिपार्लरले अहिले नयाँ नयाँ डिजाईनका मेहेन्दी लगाउनेहरुको भिड छ । साउनमा विवाहिताहरुले विषेश गरी पहेलो पोते र हरियो चुरा लगाएर सोमवार महादेवको व्रत वस्छन् ।साउनको सोमवार युवतीहरुसमेत राम्रो श्रीमान् तथा भविष्य उज्वल होस भन्ने कामनाको साथमा व्रत बस्ने गरेको पाईन्छ । हरियोलाई वसन्त र पहेलोलाई हरियो हुन लागेको क्र्तुको संज्ञा दिदै दुवै रङका चुरा लगाउने बढेका छन् ।