गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन

नारायणगढ, साउन १० गते । गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित रहनुभएको गुरुङको शनिबार बिहान निधन भएको हो ।

नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेशवर खनालले पूर्व प्रमुख गुरुङको उहाँकै निवास भरतपुरको दिब्यनगरमा निधन भएको जानकारी दिनुभयो ।

 

तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६ सालमा जन्मिनु भएको गुरुङलाई २०७८ साउन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको थियो ।

 

उहाँ नेपाली कांग्रेस विभाजन रहँदा कांग्रेस प्रजातान्त्रिकको सभापति, सुकुम्वासी समस्या आयोग नवल परासीको अध्यक्ष हुनुहुन्थ्यो ।

 

गुरुङ २०१८ सालमा चितवन आन्दोलनका क्रममा शाहदत प्राप्त गर्नुभएका हरिप्रसाद गुरुङका भान्जा हुनुहुन्छ ।

 

गुरुङका छोरा हाल क्यानडा भएका कारण उहाँ फर्किएपछि अन्तिम संस्कार गरिने बताइएको छ । छोरा आइतबार बिहान नेपाल आइपुग्ने र त्यसपछि दिउँसो देवघाटमा दाहसस्कार गर्ने कार्यक्रम रहेको कांग्रेस नेता दलबहादुर गुरुङले जानकारी दिनुभयो ।गुरुङका श्रीमती र एक छोरा हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...