काठमाडौं — नेपाल आयल निगम लिमिटेडले एल.पि. ग्यासको आपूर्ति तथा वितरणलाई व्यवस्थित बनाउन अस्थायी रूपमा आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पछिल्लो दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उल्लेखनीय रूपमा बढेको छ। साथै मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एल.पि. ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको पनि निगमले जनाएको छ।
नेपाललाई एल.पि. ग्यास आपूर्ति गर्ने भारतमा समेत सर्वसाधारण उपभोक्ताले ग्यास प्राप्त गर्न समस्या भोगिरहेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको निगमले उल्लेख गरेको छ।
हालको परिस्थितिलाई ध्यानमा राख्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित गरी आम उपभोक्तालाई ग्यास उपलब्ध गराउने उद्देश्यले निगमले फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एल.पि. ग्यास भरी प्रति सिलिण्डर ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको जनाएको छ।
निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न पनि अनुरोध गरेको छ।