विराटनगरवासीलाई पोखरा भ्रमणको निम्ता

विराटनगर, १२ चैत । नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ ।जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले विराटनगरवासीलाई पोखरामा हुने फेवा नवबर्ष महोत्सवको निम्ता प्रदान गरेको हो । पर्यटन संस्कृती र खानालाई जोड दिएर यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म यो महोत्सव हुँदै छ ।

विराटनगरमा आयोजित कार्यक्रममा होटन संघ नेपाल कोशीका अध्यक्ष राजन श्रेष्ठले २५ बर्षदेखी जाउँ है पोखरा अभियानलाई निरन्तर संचालन गर्नु सराहनीय कदम भएको बताए । प्रबर्द्धनका यस्ता अभियानलाई भारतका उत्तर प्रदेश र बिहारमा पनि संचालन गर्न उनले सुझाव दिए । कोशी प्रदेशले पनि पर्यटनको अपार संभावना बोकेको भन्दै उनले प्रचारप्रशारको अभावले यो प्रदेश पछि परेको बताए ।आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले पोखरा पर्यटनका हिसाबले निकै सस्तो गन्तब्य भएको बताउँदै फेवा महोत्सवका पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशत सम्म छुट प्रदान गरिएको बताए ।

 

 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा अन्नपूर्ण क्षेत्र प्रवेशको आधार क्षेत्र मात्र नभई प्याराग्लाइडिङ, बन्जी जम्पिङ जस्ता साहसिक पर्यटनको गन्तब्य समेत भएको बताए । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो पटकको जाउँ है पोखरा अभियान संचालन भईरहेको हो । अभियान १३ चैतसम्म चल्ने छ ।कार्यक्रममा कोशी भ्रमण बर्ष २०८२ का संयोजक भविस श्रेठले नेपाल र भारतमा समेत नेपाल पर्यटन बोर्डले प्रबर्द्धनका कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने सुझाव राखे । पोखरा र पूर्वी नेपालविच हवाई र गुणस्तरीय स्थल यातायात सेवा संचालनका लागि पहल जरुरी भएको उनले बताए ।

 

 

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपाली पर्यटनमा कोशी प्रदेशको योगदान उच्च रहेको बताउँदै पोखरा र वरपरका लामाछोटा पदयात्रा गन्तब्यका बारेमा अबगत गराए ।नाट्टा कोशीका अध्यक्ष पुण्य भट्टराईले पोखरामा पूर्वबाट पर्यटक पठाउन आफूले पनि भूमिका खेलिरहेको अवगत गराए । कार्यक्रमा होटल संघ पोखरा नेपालका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले उपस्थित सबैलाई धन्यवाद दिए । कार्यक्रमको संचालन आयोजक संघका सचिव पार्वता पाण्डेले गरेकी थिईन् ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...