एमालेको पुनर्गठन : नेतृत्व परिवर्तन मात्र कि ? विचार, वर्गदृष्टि, संगठन, संघर्ष र शैलीको पुनर्संरचना पनि ?

नेकपा(एमाले)को पुनर्गठनको प्रश्न आज केवल को नेता हुने र को नहुने भन्ने प्रश्नमा सीमित गर्न मिल्दैन। नेतृत्व परिवर्तन आवश्यक हुन सक्छ, नेतृत्व पुस्तान्तरण आवश्यक हुन सक्छ, नयाँ अनुहारको प्रवेश पनि आवश्यक हुन सक्छ। तर यतिले मात्र पार्टी पुनर्गठन हुँदैन। पार्टी पुनर्गठन भनेको विचारको पुनर्समीक्षा, सिद्धान्तको गतिशील प्रयोग, बदलिएको वर्ग संरचनाको पहिचान, क्रान्तिको चरणअनुसार कार्यदिशाको पुनर्निर्धारण, बदलिएको वर्गीय अन्तरविरोधको विश्लेषण, शक्ति सन्तुलनको मूल्यांकन, कार्यक्रमको परिमार्जन, संगठनको पुनर्संरचना, संघर्षको नयाँ रूपको विकास र राजनीतिक शैलीमा परिवर्तन हो। अनुहार बदल्ने तर पार्टीको सोच, काम गर्ने तरिका र जनतासँगको सम्बन्ध नबदल्ने हो भने त्यसलाई पुनर्गठन भन्न सकिँदैन।

मार्क्सवादी दर्शनले समाजलाई स्थिर वस्तुका रूपमा हेर्दैन। समाज निरन्तर परिवर्तनमा हुन्छ। उत्पादनका साधन बदलिन्छन्, उत्पादन सम्बन्ध बदलिन्छन्, वर्ग संरचना बदलिन्छ, प्रविधि बदलिन्छ, मानिसका आवश्यकता र चेतना बदलिन्छन्। त्यससँगै वर्गीय अन्तरविरोधको रूप पनि बदलिन्छ। त्यसैले कुनै पनि कम्युनिष्ट पार्टीले हिजोको समाजको वर्ग विश्लेषणलाई आजको समाजमा जस्ताको तस्तै लागू गरेर अघि बढ्न सक्दैन। विगतबाट सिक्नुपर्छ, तर विगतमा बस्न हुँदैन। सिद्धान्तलाई त्याग्ने होइन, बदलिएको यथार्थमा त्यसको सिर्जनात्मक प्रयोग गर्नुपर्छ।

 

यही कारण आजको एमालेका लागि सबैभन्दा पहिले एउटा आधारभूत प्रश्नको उत्तर आवश्यक छ, आज नेपाली समाजको मुख्य वर्गीय अन्तरविरोध के हो?

 

मार्क्सवादी अर्थमा अन्तरविरोध भन्नाले केवल दुई व्यक्तिबीचको विवाद होइन। उत्पादनका साधनमाथिको स्वामित्व, उत्पादन प्रक्रियामा भूमिका, श्रम र पुँजीबीचको सम्बन्ध, राज्यसत्ता र स्रोतसाधनमा पहुँच, सम्पत्ति र अवसरको वितरण तथा सामाजिक शक्ति सम्बन्धबाट उत्पन्न हुने वस्तुगत द्वन्द्व नै वर्गीय अन्तरविरोधको आधार हो। तर एउटै समाजमा अन्तरविरोधको रूप एउटै रहँदैन। समाजको आर्थिक आधार बदलिँदै जाँदा त्यसको राजनीतिक र सामाजिक अभिव्यक्ति पनि बदलिन्छ।

 

नेपालमा आजको वर्गीय अन्तरविरोधलाई केवल परम्परागत “सामन्त र किसान” वा “मालिक र मजदुर” को पुरानो ढाँचाबाट मात्र बुझ्न सकिँदैन। सामन्तवादका अवशेष अझै कतिपय क्षेत्रमा छन्, तर नेपाली समाजमा पुँजीवादी उत्पादन सम्बन्ध तीव्र रूपमा फैलिएका छन्। वित्तीय पुँजी, व्यापारिक पुँजी, घरजग्गा, ठेक्का अर्थतन्त्र, निजी शिक्षा–स्वास्थ्य, सेवा क्षेत्र, प्रविधि र डिजिटल बजारले नयाँ प्रकारका वर्गीय सम्बन्ध निर्माण गरेका छन्।

 

आज एकातिर उत्पादनका साधन, पुँजी, बजार, प्रविधि, सूचना र राज्यका अवसरमा तुलनात्मक रूपमा बलियो पहुँच भएका वर्ग र तह छन्। अर्कोतिर आफ्नो श्रम बेचेर बाँच्ने श्रमिक, अनौपचारिक कामदार, करार श्रमिक, वैदेशिक श्रमिक, प्लेटफर्म श्रमिक, साना किसान, भूमिहीन, निम्न आय भएका शहरी परिवार र रोजगारी खोजिरहेको युवा पुस्ता छ। बीचमा विस्तार भइरहेको नयाँ मध्यम वर्ग छ, जसको राजनीतिक चेतना र आर्थिक स्वार्थ पनि एकरूप छैन।

 

यसर्थ आजको मुख्य वर्गीय अन्तरविरोधलाई श्रम र पुँजीबीचको सम्बन्धबाट अलग गरेर बुझ्न सकिँदैन। तर त्यसको अभिव्यक्ति बहुआयामिक भएको छ। श्रम गर्ने मानिसले आफ्नो श्रमबाट सिर्जना गरेको मूल्यमा कति हिस्सा पाउँछ? उत्पादनको साधनमाथि कसको नियन्त्रण छ? राज्यका नीति कसको आर्थिक हितसँग बढी जोडिन्छन्? शिक्षा, स्वास्थ्य, आवास र रोजगारीजस्ता आधारभूत आवश्यकता बजारको वस्तु बन्दै जाँदा त्यसको भार कसले बोक्छ? प्रविधि र डिजिटल प्लेटफर्मको स्वामित्व कसको हातमा छ? यी सबै आजका वर्गीय प्रश्न हुन्।

 

डिजिटल अर्थतन्त्रले वर्गीय अन्तरविरोधलाई अझ नयाँ रूप दिएको छ। एउटा प्लेटफर्मले हजारौं श्रमिकलाई काममा जोड्न सक्छ, तर एल्गोरिदमले श्रमको मूल्य, कामको समय र आम्दानी नियन्त्रण गर्न सक्छ। श्रमिकसँग उत्पादनको साधन नहुनु मात्र शोषणको आधार होइन, अब सूचना, डेटा, प्लेटफर्म र प्रविधिमाथिको नियन्त्रण पनि शक्ति बन्न थालेको छ। त्यसैले कम्युनिष्ट पार्टीले वर्ग संघर्षलाई कारखानाको गेटबाट मात्र होइन, मोबाइलको स्क्रिन, डिजिटल प्लेटफर्म, बजार, बैंक, शिक्षा, स्वास्थ्य र रोजगारीको संरचनाभित्र पनि देख्न सक्नुपर्छ।

 

किसानको वर्गीय अन्तरविरोध पनि बदलिएको छ। किसानको समस्या केवल जमिन कसको नाममा छ भन्ने प्रश्नमा सीमित छैन। बीउ, मल, सिँचाइ, ऋण, बजार, बिचौलिया, उत्पादन लागत, आयात, मूल्य निर्धारण र जलवायु संकटसँग किसानको संघर्ष जोडिएको छ। वैदेशिक रोजगारीले गाउँको श्रम संरचना बदलेको छ। कतिपय घरमा खेतभन्दा रेमिट्यान्स मुख्य आय बनेको छ। यसले किसान परिवारको वर्गीय चरित्रमा समेत परिवर्तन ल्याएको छ ।

 

युवाको वर्गीय प्रश्न पनि अत्यन्त महत्वपूर्ण छ। पढेपछि रोजगारी नपाउनु, रोजगारी पाए पनि न्यून ज्याला र असुरक्षित काममा बस्नुपर्नु, विदेश जान बाध्य हुनु, आफ्नै देशमा भविष्य नदेख्नु र राजनीतिक नेतृत्वप्रति विश्वास घट्नु केवल मनोवैज्ञानिक समस्या होइन। यसको आर्थिक आधार छ। यसमा वर्गीय अन्तरविरोध छ। त्यसैले युवा असन्तुष्टिलाई केवल सामाजिक सञ्जालको प्रभाव, बाह्य उक्साहट वा राजनीतिक अपरिपक्वताको रूपमा बुझ्नु मार्क्सवादी विश्लेषण हुन सक्दैन।

 

नयाँ मध्यम वर्गको प्रश्न पनि त्यत्तिकै महत्वपूर्ण छ। यो वर्गले केवल आर्थिक समृद्धि चाहँदैन, सुशासन, सम्मान, अवसर, स्वतन्त्रता, प्रविधिमा पहुँच, सामाजिक सुरक्षा र राष्ट्रिय स्वाभिमान पनि चाहन्छ। यसका मागभित्र प्रगतिशील र रूढिवादी दुवै प्रवृत्ति हुन सक्छन्। त्यसैले यसलाई एकैपटक प्रतिक्रियावादी वा क्रान्तिकारी भनेर वर्गीकरण गर्न मिल्दैन। यसको वर्गीय स्थिति, आर्थिक हित र राजनीतिक चेतनाको अध्ययन गर्नुपर्छ। यस परिवेशमा नेपाल राष्ट्रको अन्तरविरोध कोसंग छ ? स्पष्ट हुनु आवश्यक छ ।

 

यही बदलिएको वर्गीय संरचनालाई नबुझी पार्टीको पुरानो संगठनात्मक संरचना कायम राख्नु गम्भीर कमजोरी हो। आज एमालेका धेरै कमिटीहरू अत्यन्त भद्दा र ठूला भएका छन्। कमिटीमा धेरै सदस्य राखेर संगठन ठूलो देखिन सक्छ, तर ठूलो हुनु र प्रभावकारी हुनु एउटै कुरा होइन। कतिपय ठाउँमा बैठक बस्नसमेत कठिन हुने गरी कमिटीको आकार बढेको छ। सबै सदस्यलाई अर्थपूर्ण भूमिका दिन नसकिने, छलफल व्यवस्थित गर्न नसकिने र निर्णय कार्यान्वयनको जिम्मेवारी स्पष्ट गर्न नसकिने अवस्था आएपछि कमिटी संगठनको शक्ति नभई बोझ बन्न सक्छ।

 

कमिटीको आकार ठूलो बनाउने संस्कारले अर्को समस्या पनि जन्माएको छ। कतिपय अवस्थामा कमिटीहरू जनताको समस्या समाधान गर्ने राजनीतिक संगठनभन्दा नेता उत्पादन गर्ने कारखाना जस्ता देखिन थालेका छन्। कमिटीमा कसरी पुग्ने, अर्को तहमा कसरी उक्लिने, कुन गुटसँग नजिक हुने र पदाधिकारी कसरी बन्ने भन्ने प्रतिस्पर्धा बढ्ने तर जनताको बीचमा गएर काम गर्ने, अध्ययन गर्ने र संघर्ष गर्ने कुरा कमजोर हुने हो भने संगठनको राजनीतिक चरित्र नै कमजोर हुन्छ।

 

कम्युनिष्ट पार्टीको कमिटी पद पाउने ठाउँ होइन, राजनीतिक काम गर्ने ठाउँ हो। कमिटीमा बस्नु भनेको जनताको समस्या बुझ्ने, संगठन निर्माण गर्ने, विचार फैलाउने, संघर्ष सञ्चालन गर्ने र जिम्मेवारी पूरा गर्ने कुरा हो। कमिटीको संख्या बढाउँदै जाने तर काम गर्ने क्षमता नबढाउने हो भने त्यो संगठनात्मक विस्तार होइन, संगठनात्मक बोझ बन्न सक्छ।

 

अब एमालेले कमिटीको आकारबारे पनि गम्भीर पुनर्विचार गर्नुपर्छ। कति सदस्य राख्दा प्रभावकारी बैठक बस्न सक्छ, कति सदस्यले निर्णय निर्माणमा अर्थपूर्ण भूमिका खेल्न सक्छन्, कति सदस्यलाई स्पष्ट जिम्मेवारी दिन सकिन्छ र कति सदस्यले आफ्नो क्षेत्रका जनताको समस्या नियमित रूपमा पार्टीमा ल्याउन सक्छन् भन्ने आधारमा संगठनको संरचना तय गर्नुपर्छ। ठूलो कमिटीलाई मात्र शक्तिशाली संगठन मान्ने मानसिकता बदल्नुपर्छ।

 

यहीँबाट जबजको क्रान्तिका चरणको प्रश्न पनि जोडिन्छ। जनताको बहुदलीय जनवादलाई केवल निर्वाचन जित्ने राजनीतिक रणनीति बनाएर बुझ्नु यसको मर्मलाई साँघुरो बनाउनु हो। जबजले नेपाली समाजको विशिष्ट अवस्थालाई ध्यानमा राख्दै लोकतान्त्रिक प्रक्रियाबाट समाज रूपान्तरणको बाटो देखाएको हो। जनवादी उपलब्धिको रक्षा र सुदृढीकरण गर्दै समाजवादको आधार निर्माण गर्ने र त्यसलाई विकसित गर्दै लोकतान्त्रिक समाजवादतर्फ अघि बढ्ने कार्यदिशालाई व्यवहारमा रूपान्तरण गर्नु यसको महत्वपूर्ण पक्ष हो।

 

क्रान्ति भनेको सत्ता परिवर्तनको एउटा क्षण मात्र होइन। राजनीतिक उपलब्धि प्राप्त भएपछि आर्थिक आधार परिवर्तन गर्ने, उत्पादन शक्ति विकास गर्ने, राष्ट्रिय पुँजी निर्माण गर्ने, श्रमको सम्मान बढाउने, शिक्षा र स्वास्थ्यलाई जनमुखी बनाउने, सामाजिक सुरक्षा विस्तार गर्ने, आर्थिक असमानता घटाउने र जनताको जीवनस्तर उकास्ने कार्यभार पनि क्रान्तिको प्रक्रियाकै हिस्सा हुन्।

 

यही कारण जबजले निर्देशन गरेका क्रान्तिका चरण र त्यसअनुसारका कार्यभार कार्यान्वयन नगर्नु प्रतिगमनको जग बन्न सक्छ। राजनीतिक परिवर्तन भयो तर आर्थिक–सामाजिक रूपान्तरण भएन भने परिवर्तनप्रति जनताको विश्वास कमजोर हुन्छ। संविधान आयो तर रोजगारी आएन, लोकतन्त्र आयो तर सेवा सहज भएन, राजनीतिक अधिकार आयो तर आर्थिक असुरक्षा बढिरह्यो, राज्य परिवर्तन भयो तर जनताको दैनिक जीवनमा अपेक्षित परिवर्तन आएन भने जनतामा निराशा पैदा हुन्छ। यही निराशालाई प्रतिक्रियावादी शक्ति प्रयोग गर्न सक्छ।

 

यस अर्थमा प्रतिगमन कुनै एक दिन अचानक आकाशबाट खस्ने घटना होइन। त्यसका लागि सामाजिक आधार पहिले तयार हुन्छ। जनताको असन्तुष्टि बढ्छ, राजनीतिक संस्थाप्रतिको विश्वास कमजोर हुन्छ, वर्गीय असन्तोषले नयाँ रूप लिन्छ, संगठन जनताबाट टाढिन्छ र प्रगतिशील राजनीतिक शक्तिले जनताको असन्तुष्टिलाई आफ्नो कार्यक्रमसँग जोड्न नसकेपछि प्रतिक्रियावादी शक्तिले त्यो खाली ठाउँ भर्न सक्छ।

 

२०८२ भाद्र २३ र २४ का घटनालाई नेकपा( एमाले )ले प्रतिक्रान्ति र प्रतिगमनका रूपमा व्याख्या गरेको छ भने त्यसपछि राजनीतिक शक्ति सन्तुलन र वर्गीय अन्तरविरोधको अवस्थालाई पनि नयाँ ढंगले अध्ययन गर्नुपर्छ। प्रतिक्रान्ति वा प्रतिगमनपछि राजनीतिक शक्ति सन्तुलन पहिलेकै अवस्थामा रहँदैन। राज्यसत्ता, राजनीतिक दल, नागरिक समाज, युवा, श्रमिक, मध्यम वर्ग, सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र बाह्य शक्तिबीचको सम्बन्धमा फेरबदल आउन सक्छ। नयाँ राजनीतिक शक्ति वा नयाँ सामाजिक गठबन्धनहरू जन्मिन सक्छन्। पुराना शक्तिहरू कमजोर वा पुनर्संगठित हुन सक्छन्।

 

त्यसैले भाद्र २३ र २४ पछि एमालेले केवल आफ्नो पुरानो शक्ति कहाँ छ भनेर हेरेर पुग्दैन। आफ्नो आधार कुन वर्ग र सामाजिक समूहमा कति बलियो छ, कुन वर्ग र तहमा दूरी बढेको छ, नयाँ राजनीतिक शक्तिले कुन असन्तुष्ट सामाजिक समूहलाई आकर्षित गरिरहेको छ, राज्यका संस्थामाथि कसको प्रभाव बढेको छ, डिजिटल क्षेत्रमा कसको वैचारिक प्रभाव बलियो छ र श्रमजीवी तथा मध्यम वर्गको राजनीतिक चेतना कुन दिशातर्फ गइरहेको छ भन्ने नयाँ शक्ति सन्तुलनको अध्ययन गर्नुपर्छ।

 

यहाँ वर्गीय अन्तरविरोध र राजनीतिक अन्तरविरोधलाई एउटै ठान्नु पनि गलत हुन्छ। वर्गीय अन्तरविरोध आर्थिक आधारमा गहिरो हुन्छ, राजनीतिक अन्तरविरोध त्यसको अभिव्यक्ति बन्न सक्छ। एउटै राजनीतिक शक्तिभित्र पनि विभिन्न वर्गीय हितको प्रभाव हुन सक्छ। कुनै आन्दोलनमा मजदुर, विद्यार्थी, मध्यम वर्ग, बेरोजगार युवा र व्यवसायी एकै ठाउँमा आउन सक्छन्, तर उनीहरूका दीर्घकालीन आर्थिक हित एउटै नहुन सक्छन्। मार्क्सवादी पार्टीको काम यस्ता अस्थायी राजनीतिक गठजोडभित्रको वर्गीय चरित्र बुझ्नु हो।

 

प्रतिक्रान्तिपछि यही प्रश्न अझ महत्वपूर्ण हुन्छ। कुनै पनि नयाँ राजनीतिक शक्ति वा आन्दोलनले आफूलाई “पुरानो सबैको विकल्प” भनेर प्रस्तुत गर्न सक्छ। तर विकल्पको वर्गीय चरित्र के हो? उसको आर्थिक नीति कसको हितमा छ? उत्पादनका साधनमाथिको सम्बन्धलाई उसले कसरी हेर्छ? श्रम र पुँजीको सम्बन्धबारे उसको दृष्टिकोण के हो? राज्यको भूमिका के हो? सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र सार्वजनिक सम्पत्तिबारे उसको नीति के हो? यी प्रश्न सोधिएपछि मात्र नयाँ शक्तिको वास्तविक राजनीतिक चरित्र पहिचान गर्न सकिन्छ।

 

एमालेका लागि चुनौती यही हो कि प्रतिक्रान्ति वा प्रतिगमनको विरोध गर्दै गर्दा जनताको वास्तविक असन्तुष्टिलाई पनि आफ्नो राजनीतिक कार्यक्रमसँग जोड्न सक्नुपर्छ। जनताको असन्तुष्टिलाई प्रतिक्रियावादी भन्दै पन्छाउने हो भने प्रतिक्रियावादी शक्तिको आधार कमजोर हुँदैन। बरु जनताको प्रश्नको प्रगतिशील समाधान प्रस्तुत गरेर मात्र त्यो आधार कमजोर गर्न सकिन्छ।

 

यसका लागि संगठन जनताको घरदैलोमा फर्किनुपर्छ। चुनाव आउँदा मात्र गाउँ पस्ने र चुनाव सकिएपछि बैठकमा सीमित हुने संगठनले बदलिएको समाजलाई नेतृत्व गर्न सक्दैन। कमिटीले आफ्नो क्षेत्रको आर्थिक, सामाजिक र वर्गीय अवस्थाबारे नियमित अध्ययन गर्नुपर्छ। जनताको दुःख सुन्ने, समाधान खोज्ने र सरकार तथा राज्य संयन्त्रसँग जोड्ने काम गर्नुपर्छ।

 

कार्यकर्ताको राजनीतिक शिक्षाको प्रश्न पनि यहीसँग जोडिन्छ। कार्यकर्ताले किन सिक्ने? कसरी सिक्ने? सिकेपछि के गर्ने? मार्क्सवादका पुस्तक पढ्नु मात्र अध्ययन होइन। आफ्नो गाउँको अर्थतन्त्र बुझ्नु, श्रमिकको अवस्था बुझ्नु, किसानको समस्या बुझ्नु, युवाको बेरोजगारी बुझ्नु, बसाइँसराइको कारण बुझ्नु, प्रविधि र कृत्रिम बुद्धिमत्ताले रोजगारीमा ल्याएको परिवर्तन बुझ्नु पनि राजनीतिक अध्ययन हो।

 

सिकेको ज्ञान जनताको जीवनसँग जोडिएन भने त्यो ज्ञान प्रदर्शन मात्र हुन्छ। कार्यकर्ताले अध्ययन गरेपछि आफ्नो क्षेत्रमा के परिवर्तन ल्यायो भन्ने प्रश्न पनि उठ्नुपर्छ। विचार, वर्ग र व्यवहारबीच सम्बन्ध स्थापित नभएसम्म कम्युनिष्ट संगठन जीवन्त हुँदैन।

 

पार्टीले अब आफ्नो प्रत्येक कमिटीलाई एउटा राजनीतिक अध्ययन केन्द्रका रूपमा विकास गर्नुपर्छ। कुन ठाउँमा किसानको अवस्था कस्तो छ? कहाँबाट कति युवा विदेशिएका छन्? कहाँ बेरोजगारी बढी छ? कुन क्षेत्रमा उद्योग बन्द छन्? कहाँ श्रमिकको शोषण बढी छ? कहाँ भूमिहीन र सुकुम्बासीको समस्या छ? कहाँ निजी शिक्षा र स्वास्थ्यको महँगो बोझ छ? कुन क्षेत्रमा नयाँ मध्यम वर्गको विस्तार भइरहेको छ? कहाँ डिजिटल श्रम बढिरहेको छ? यी प्रश्नको अध्ययनबिना आधुनिक कम्युनिष्ट संगठन बन्न सक्दैन।

 

पार्टीको कार्यदिशा पनि यही बदलिएको समाजअनुसार पुनर्समीक्षा गर्नुपर्छ। उत्पादन वृद्धि, रोजगारी सिर्जना, राष्ट्रिय पुँजी निर्माण, कृषि आधुनिकीकरण, उद्योग विस्तार, जलविद्युत्, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र राष्ट्रिय स्वाधीनतालाई एउटै आर्थिक–राजनीतिक दृष्टिकोणमा जोड्नुपर्छ। आत्मनिर्भरता भन्नु संसारबाट अलग हुनु होइन। विश्व प्रविधि र ज्ञानको उपयोग गर्दै आफ्नै उत्पादन क्षमता र राष्ट्रिय पुँजी बलियो बनाउनु हो।

 

आजको डिजिटल युगमा पार्टी संगठनको शैली पनि बदलिनुपर्छ। सामाजिक सञ्जालमा पोस्ट र प्रचार गर्नु मात्र डिजिटल राजनीति होइन। अध्ययन, तथ्य संकलन, राजनीतिक शिक्षा, नीति निर्माण, जनताको समस्या पहिचान, स्थानीय अर्थतन्त्रको विश्लेषण र संगठनात्मक समन्वयमा प्रविधिको प्रयोग गर्नुपर्छ। एल्गोरिदमले जनताको चेतना र राजनीतिक धारणा कसरी प्रभावित गर्छ भन्ने विषय पनि कम्युनिष्ट पार्टीको अध्ययनको विषय बन्नुपर्छ।

 

पार्टीको आन्तरिक जीवन पनि बदलिनुपर्छ। आलोचना गर्नु अपराध होइन, आलोचनाबाट सिक्न नसक्नु समस्या हो। जनवादी केन्द्रीयता भनेको माथिबाट आएको निर्णयमा प्रश्न गर्न नपाइने व्यवस्था होइन। निर्णयअघि खुला छलफल, निर्णयमा सामूहिकता र निर्णयपछि अनुशासित कार्यान्वयन हो। आन्तरिक जनवाद कमजोर भयो भने गुट बलियो हुन्छ। गुट बलियो भयो भने विचार कमजोर हुन्छ। विचार कमजोर भएपछि पदको प्रतिस्पर्धा नै राजनीति बन्न थाल्छ।

 

नेतृत्व परिवर्तनको प्रश्न पनि यही आधारमा हेर्नुपर्छ। अनुभवी पुस्ताको योगदान अस्वीकार गरेर नयाँ पुस्ता मात्र ल्याउनु सही होइन। नयाँ पुस्तालाई ठाउँ नदिएर पुरानै पुस्ताले सबै ठाउँ ओगटिरहनु पनि सही होइन। अनुभव र नयाँ ऊर्जा, इतिहासको ज्ञान र नयाँ प्रविधि, संघर्षको अनुभव र नयाँ पुस्ताका प्रश्नबीच संयोजन आवश्यक छ। नेतृत्व पुस्तान्तरण जैविक प्रक्रियाजस्तो हुनुपर्छ, कृत्रिम प्रतिस्थापनजस्तो होइन।

 

राजनीतिक शैलीमा पनि पुनर्गठन आवश्यक छ। जनताभन्दा माथि बसेको जस्तो देखिने नेतृत्वले जनताको विश्वास गुमाउँछ। सरल जीवन, जवाफदेहिता, पारदर्शिता, सार्वजनिक उत्तरदायित्व र जनतासँग प्रत्यक्ष सम्बन्ध कम्युनिष्ट राजनीतिक संस्कारका आधार हुन्। कार्यकर्ताले नेताको सुरक्षा होइन, जनताको समस्या बोकेर हिँड्ने संस्कार विकास गर्नुपर्छ।

 

एमालेको पुनर्गठन त्यसैले कसैलाई हटाउने र कसैलाई राख्ने गणित मात्र होइन। यो बदलिएको वर्गीय अन्तरविरोध र नयाँ शक्ति सन्तुलनलाई बुझेर आफूलाई पुनः परिभाषित गर्ने प्रश्न हो। विचारलाई जीवनसँग जोड्ने, वर्गदृष्टिलाई नयाँ सामाजिक संरचनासँग जोड्ने, जबजले निर्देश गरेका क्रान्तिका चरण र कार्यभारलाई वर्तमान यथार्थमा पुनःपरिभाषित गरी कार्यान्वयन गर्ने, कार्यक्रमलाई जनताको आवश्यकता र राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने, संगठनलाई चुस्त र कार्यक्षम बनाउने, कमिटीलाई पद वितरणको थलो होइन राजनीतिक कामको केन्द्र बनाउने, नेतृत्वलाई गुटबाट होइन कामबाट विकास गर्ने र संघर्षलाई नयाँ सामाजिक यथार्थअनुसार अगाडि बढाउने प्रश्न हो।

 

एमालेको आकार ठूलो हुनु आफैंमा कमजोरी होइन। ठूलो संगठन ठूलो राजनीतिक शक्ति बन्न सक्छ। तर ठूलो संगठनभित्र ठूलो जिम्मेवारी, स्पष्ट कार्यविभाजन, प्रभावकारी कमिटी, नियमित अध्ययन, जनसम्बन्ध र अनुशासन भएन भने आकार नै बोझ बन्न सक्छ। अब प्रश्न कमिटीमा कति जना छन् भन्नेभन्दा उनीहरूले के काम गरिरहेका छन् भन्ने हुनुपर्छ। बैठक कति लामो बस्यो भन्नेभन्दा बैठकपछि जनताको जीवनमा के परिवर्तन आयो भन्ने महत्त्वपूर्ण हुनुपर्छ। कति जना नेता उत्पादन भए भन्नेभन्दा कति जना जनताको बीचबाट नेतृत्वमा आए भन्ने प्रश्न उठ्नुपर्छ।

 

कम्युनिष्ट पार्टीको शक्ति पदको संख्यामा होइन, जनतासँगको सम्बन्धमा हुन्छ। कमिटीको आकारमा होइन, संघर्ष गर्ने क्षमतामा हुन्छ। नाराको आवाजमा होइन, व्यवहारमा देखिने परिणाममा हुन्छ। इतिहासको गौरवमा होइन, वर्तमानको आवश्यकता बुझेर भविष्य निर्माण गर्ने क्षमतामा हुन्छ।

 

आज एमालेले आफूलाई पुनर्गठन गर्ने हो भने सबैभन्दा पहिले आफैंसँग इमानदार प्रश्न गर्नुपर्छ। हामीले समाज कति बुझ्यौं? बदलिएको वर्ग संरचना कति बुझ्यौं? आजको वर्गीय अन्तरविरोध के हो भनेर कति गहिरो अध्ययन गर्‍यौं? युवाको मनोविज्ञान कति बुझ्यौं? किसान र श्रमिकको बदलिएको समस्या कति बुझ्यौं? नयाँ मध्यम वर्गको चेतना कति बुझ्यौं? डिजिटल युगको वर्ग सम्बन्ध कति बुझ्यौं? भाद्र २३ र २४ पछि शक्ति सन्तुलन कसरी बदलियो? कुन सामाजिक शक्ति अगाडि आयो? कुन शक्ति कमजोर भयो? एमालेको आधार कहाँ कमजोर भयो? जनताको असन्तुष्टिलाई कसले आफ्नो पक्षमा प्रयोग गरिरहेको छ? जबजले देखाएको क्रान्तिको कुन चरणमा हामी छौं? त्यो चरणका कार्यभार कति पूरा भए? जहाँ पूरा भएनन्, त्यहाँ किन भएनन्? हाम्रो संगठन जनताको बीचमा कति छ? हाम्रा कमिटीहरू काम गर्ने संरचना हुन् कि पद वितरण गर्ने संरचना? हाम्रा बैठक निर्णय गर्ने ठाउँ हुन् कि औपचारिकता पूरा गर्ने ठाउँ? हाम्रा नेताहरू संघर्षबाट आएका हुन् कि पदको भर्‍याङ चढेर आएका हुन्? यिनै प्रश्नको इमानदार उत्तरबाट पुनर्गठनको वास्तविक सुरुवात हुन्छ।

 

नेतृत्व साधन हो, विचार दिशा हो, वर्गदृष्टि आधार हो, क्रान्तिको चरण कार्यभार हो, वर्गीय अन्तरविरोध विश्लेषणको आधार हो, शक्ति सन्तुलन राजनीतिक रणनीतिको आधार हो, कार्यक्रम व्यवहारिक रूप हो, कार्यदिशा यात्राको बाटो हो, संगठन शक्ति हो, संघर्ष गति हो, जनवादी केन्द्रीयता पार्टीको आन्तरिक जीवन हो र जनता सम्पूर्ण राजनीतिको केन्द्र हुन्।

 

जबजका राजनीतिक उपलब्धिलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्न नसक्दा प्रतिक्रान्तिका लागि ठाउँ बन्छ। बदलिएको वर्गीय अन्तरविरोधलाई बुझ्न नसक्दा पार्टीले आफ्नो सामाजिक आधार गुमाउन सक्छ। बदलिएको शक्ति सन्तुलनलाई बुझ्न नसक्दा सही राजनीतिक कार्यदिशा निर्माण हुन सक्दैन। त्यसैले प्रतिगमनको प्रतिरोध गर्ने सबैभन्दा बलियो उपाय प्रतिगमनविरुद्ध भाषण मात्र होइन, अग्रगमनलाई जनताको जीवनमा स्थापित गर्नु हो।

 

यस अर्थमा एमालेको पुनर्गठन अनुहारको पुनर्गठन मात्र हुनु हुँदैन। यो अन्तर्वस्तुको पुनर्गठन हुनुपर्छ। पदको फेरबदल मात्र होइन, राजनीतिक संस्कारको परिवर्तन हुनुपर्छ। पुराना उपलब्धिको रक्षा मात्र होइन, बाँकी क्रान्तिकारी कार्यभार पूरा गर्ने संकल्प हुनुपर्छ। जबजलाई नारामा होइन, बदलिएको नेपाली समाजमा क्रियाशील राजनीतिक मार्गदर्शनका रूपमा प्रयोग गर्नुपर्छ। विगतको गौरवमा बस्ने होइन, विगतबाट सिकेर भविष्य निर्माण गर्ने हुनुपर्छ। प्रतिक्रान्तिको प्रतिरोध मात्र होइन, प्रतिक्रान्तिको सामाजिक आधारलाई कमजोर पार्ने आर्थिक–सामाजिक आधार निर्माण गर्ने हुनुपर्छ।

 

त्यसैले आजको मूल प्रश्न “को नेता हुने?” मात्र होइन, “कस्तो पार्टी बनाउने?” हो। “कति ठूलो कमिटी बनाउने?” होइन, “कति प्रभावकारी संगठन बनाउने?” हो। “कति जना पदमा बस्ने?” होइन, “कति जना जनताको जीवनसँग जोडिएर संघर्ष गर्ने?” हो। “कुन वर्गीय अन्तरविरोध प्रधान हुँदैछ?” भन्ने प्रश्नसँगै “त्यस अन्तरविरोधलाई कसरी प्रगतिशील दिशामा समाधान गर्ने?” भन्ने प्रश्न हो। “कुन चरणमा छौं?” भन्ने प्रश्नसँगै “त्यो चरणको कार्यभार कति पूरा गर्‍यौं?” भन्ने प्रश्न हो। “शक्ति सन्तुलन कसरी बदलिएको छ?” भन्ने प्रश्नसँगै “त्यसअनुसार हाम्रो रणनीति र कार्यदिशा कसरी बदल्ने?” भन्ने प्रश्न हो। यिनै प्रश्नको इमानदार उत्तर र त्यसअनुसारको व्यवहारिक परिवर्तनबाट मात्र एमालेको पुनर्गठन वास्तविक अर्थमा पुनर्गठन बन्नेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...