काठमाडौं, २६ भदौ । रानाभाट/भाट समाज नेपालले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ६ लाख ६ हजार रुपैयाँ सहयोग गरेको छ।

समाजले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
समाजले विपद्को अवस्थामा राज्यले गरेको आह्वानलाई मनन गर्दै संस्थागत रूपमा रकम संकलन गरी चेकमार्फत प्रधानमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरेको जनाएको छ। भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको घाउमा मलम लगाउन सानो भए पनि सहयोग पुग्ने उद्देश्यले रकम संकलन गरिएको समाजले जनाएको छ।
समाजले राहत तथा सहयोग अभियानमा योगदान गर्ने रानाभाट/भाट समाज नेपालका बन्धुहरूलाई धन्यवादसमेत दिएको छ।
रानाभाट/भाट समाज नेपालका महासचिव राजु रानाभाटद्वारा हस्ताक्षरित पत्रमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको उल्लेख छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको छ।