नेपालको निजामती प्रशासनमाथि राजनीतिक हस्तक्षेप, प्रशासनिक स्वायत्तता र विधिको शासनको प्रश्न

राज्य व्यक्तिको इच्छाले होइन, संविधान, कानुन र संस्थागत मर्यादाले बलियो हुन्छ । राज्य सञ्चालन कुनै एक व्यक्ति, राजनीतिक दल वा सरकारको व्यक्तिगत इच्छा र स्वार्थले मात्र चल्ने विषय होइन। राज्य एउटा निरन्तर चलिरहने संस्था हो। सरकार परिवर्तन हुन्छन्, राजनीतिक नेतृत्व फेरिन्छ, मन्त्रीहरू आउँछन् र जान्छन्, तर राज्यका संस्थाहरूले आफ्नो जिम्मेवारी र दायित्व निरन्तर निर्वाह गरिरहनुपर्छ। यही निरन्तरताले राज्यलाई बलियो बनाउँछ। लोकतान्त्रिक व्यवस्थामा राजनीतिक नेतृत्वले राज्य सञ्चालनको नीति, दिशा र प्राथमिकता निर्धारण गर्छ भने स्थायी प्रशासनले संविधान र कानुनको सीमाभित्र रहेर त्यसलाई कार्यान्वयन गर्छ। यी दुईबीचको सम्बन्ध सहकार्य, समन्वय, पारस्परिक सम्मान, जिम्मेवारी र संवैधानिक मर्यादामा आधारित हुनुपर्छ।

राजनीतिक नेतृत्वबिना प्रशासनले जनताको जनादेशअनुसार राज्य सञ्चालनको दिशा निर्धारण गर्न सक्दैन। त्यसैगरी व्यावसायिक, निष्पक्ष र सक्षम प्रशासनबिना राजनीतिक नेतृत्वले आफ्ना नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्दैन। त्यसैले राजनीतिक नेतृत्व र प्रशासन एकअर्काका प्रतिस्पर्धी होइनन्, राज्य सञ्चालनका परिपूरक अंग हुन्। तर राजनीतिक निर्देशन र राजनीतिक हस्तक्षेप एउटै कुरा होइनन्। यही भिन्नता बुझ्न नसक्दा नेपालको सार्वजनिक प्रशासनको व्यावसायिकता, तटस्थता र संस्थागत स्वायत्ततामाथि पटकपटक प्रश्न उठ्ने गरेको छ।

लोकतन्त्रको आधारभूत मान्यता जनताको सार्वभौमसत्ता, संविधानको सर्वोच्चता र विधिको शासन हो। निर्वाचनबाट प्राप्त जनादेशले राजनीतिक नेतृत्वलाई सरकार सञ्चालन गर्ने वैधता दिन्छ। सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने अधिकार राख्छ। तर निर्वाचन जित्नु भनेको राज्यका सबै संस्था आफ्नो व्यक्तिगत वा दलगत इच्छाअनुसार सञ्चालन गर्ने असीमित अधिकार प्राप्त गर्नु होइन। बहुमतले सरकार बनाउन सक्छ, तर बहुमत संविधानभन्दा माथि हुन सक्दैन। जनादेश शासन गर्ने अधिकार हो, निरंकुश हुने छुट होइन।

राजनीतिक नेतृत्वले प्रशासनलाई नीति निर्देशन दिनु, कार्यसम्पादनको समीक्षा गर्नु, परिणाम माग्नु र कमजोरी सुधार्न निर्देशन दिनु स्वाभाविक तथा वैधानिक जिम्मेवारी हो। तर कर्मचारीको राजनीतिक आस्था, व्यक्तिगत निकटता वा नेतृत्वप्रतिको अनुकूलताका आधारमा नियुक्ति, सरुवा, बढुवा, पदस्थापन र जिम्मेवारी निर्धारण गर्ने प्रवृत्ति प्रशासनिक हस्तक्षेप हो। कर्मचारीको पहिलो निष्ठा कुनै व्यक्ति, राजनीतिक दल वा सरकारप्रति होइन, संविधान, कानुन र सार्वजनिक हितप्रति हुनुपर्छ। यसको अर्थ राजनीतिक नेतृत्वको वैधानिक निर्देशन अस्वीकार गर्नु होइन, गैरकानुनी वा अनुचित आदेशको अन्धअनुकरण नगर्नु हो।

राज्य शासकको इच्छाको विस्तार होइन, समाजको सामूहिक जीवनलाई व्यवस्थित गर्ने सार्वजनिक संस्था हो। कानुनी शासनको मूल मान्यता शासक र शासित दुवै कानुनको अधीनमा रहनुपर्छ भन्ने हो। राज्यको शक्ति व्यक्तिमा होइन, विधिमा आधारित हुनुपर्छ। कुनै व्यक्तिको सदिच्छाले केही समय राम्रो काम हुन सक्छ, तर संस्थागत प्रणाली कमजोर छ भने त्यस्तो उपलब्धि दीर्घकालीन हुन सक्दैन। व्यक्ति शक्तिशाली भएर होइन, संस्था बलियो भएर राज्य बलियो हुन्छ।

नेपालको संविधानले सार्वजनिक प्रशासनको संस्थागत आधार स्पष्ट गरेको छ। संविधानको धारा २८५ ले सरकारी सेवाको गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको छ भने धारा २४३ ले लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार निर्धारण गरेको छ। यी संवैधानिक व्यवस्थाको मूल उद्देश्य सार्वजनिक प्रशासनलाई योग्यतामा आधारित, निष्पक्ष, व्यवस्थित र संस्थागत बनाउनु हो। लोक सेवा आयोगको भूमिका कर्मचारी छनोट गर्ने प्राविधिक संयन्त्रमा मात्र सीमित छैन। यो राज्यको स्थायी प्रशासनलाई राजनीतिक प्रभाव, नातावाद, कृपावाद र व्यक्तिगत पहुँचबाट जोगाउने संवैधानिक सुरक्षा कवच पनि हो।

निजामती प्रशासनको प्रमुख शक्ति यसको स्थायित्व, व्यावसायिक क्षमता, अनुभव र संस्थागत स्मृति हो। सरकार परिवर्तन भए पनि राज्यको प्रशासनिक ज्ञान, अनुभव र जिम्मेवारीको निरन्तरता समाप्त हुनुहुँदैन। कुनै आयोजना कसरी सुरु भयो, त्यसको प्राविधिक आधार के हो, कुन निर्णय किन गरियो, कुन कानुनी प्रक्रियाबाट अघि बढाइयो र त्यसको दीर्घकालीन प्रभाव के पर्छ भन्ने ज्ञान प्रशासनसँग सुरक्षित रहन्छ। नयाँ राजनीतिक नेतृत्वले पुराना निर्णयको समीक्षा गर्न, कमजोरी सच्याउन र नयाँ प्राथमिकता निर्धारण गर्न सक्छ। तर त्यसका लागि प्रशासनको अनुभव र संस्थागत ज्ञानलाई उपयोग गर्नुपर्छ, आफ्नो अनुकूल नदेखिएका कर्मचारीलाई पन्छाएर राजनीतिक अनुकूलताको वातावरण बनाउनु हुँदैन।

यसको अर्थ नेपालको कर्मचारीतन्त्र पूर्णतः दोषमुक्त छ भन्ने होइन। प्रशासनमा ढिलासुस्ती, भ्रष्टाचार, प्रक्रियामुखी सोच, सेवाग्राहीप्रतिको उदासीनता, जिम्मेवारी पन्छाउने प्रवृत्ति र राजनीतिक पहुँचका आधारमा निर्णय गर्ने समस्या छन्। कतिपय कर्मचारीले आफ्नो पद र अधिकारलाई व्यक्तिगत लाभको माध्यम बनाएका छन्। आकर्षक पद र जिम्मेवारी प्राप्त गर्न राजनीतिक पहुँच खोज्ने, फाइल अड्काउने, निर्णय गर्न डराउने र सेवाग्राहीलाई अनावश्यक दुःख दिने प्रवृत्ति पनि छन्। यी विकृति अन्त्य हुनुपर्छ। प्रशासन सुधारको अर्थ कर्मचारीका कमजोरी ढाकछोप गर्नु होइन। तर प्रशासनका कमजोरी सुधार्ने नाममा कर्मचारीतन्त्रलाई राजनीतिक नेतृत्वको व्यक्तिगत इच्छाअनुसार चल्ने संरचनामा रूपान्तरण गर्नु पनि समाधान होइन।

प्रशासन सुधारको उद्देश्य कर्मचारीलाई राजनीतिक रूपमा अनुकूल बनाउनु होइन, नागरिकप्रति उत्तरदायी, कानुनप्रति प्रतिबद्ध, व्यावसायिक रूपमा सक्षम र परिणाममुखी बनाउनु हो।

यही सन्दर्भमा संघीय निजामती सेवा विधेयकमा प्रस्तावित व्यवस्थाहरूको गम्भीर समीक्षा आवश्यक छ। सेवा अवधि, अवकाश उमेर, कर्मचारी ट्रेड युनियन, छड्के प्रवेश, वृत्तिविकास, सरुवा, पदस्थापन र प्रशासनिक पुनर्संरचनाजस्ता विषय कर्मचारीको व्यक्तिगत सुविधा वा असुविधासँग मात्र सम्बन्धित छैनन्। यी विषयले नेपालको भावी सार्वजनिक प्रशासनको चरित्र निर्धारण गर्छन्। त्यसैले तिनको मूल्याङ्कन राजनीतिक आग्रह, तत्कालीन स्वार्थ वा लोकप्रिय नाराका आधारमा होइन, संविधान, कानुन, प्रशासनिक आवश्यकता, संस्थागत स्थायित्व र सार्वजनिक हितका आधारमा हुनुपर्छ।

विधेयकमा प्रस्तावित ३० वर्षे सेवा अवधि वा ५५ वर्षे उमेरहदको विषय यसै सन्दर्भमा महत्त्वपूर्ण छ। सरकारले २०८३ असोज १५ गते संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको सार्वजनिक विवरणअनुसार यी दुवै आधारमा अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको छ। यसको उद्देश्य प्रशासनमा पुस्तान्तरण, नयाँ जनशक्तिका लागि अवसर र कर्मचारी संरचनाको पुनर्सन्तुलन हुन सक्छ। तर यसको प्रभावको वस्तुनिष्ठ अध्ययन आवश्यक छ।

५५ वर्ष पुग्दैमा कुनै कर्मचारीको कार्यक्षमता समाप्त हुन्छ भन्ने निष्कर्ष वैज्ञानिक हुँदैन। त्यसैगरी ३० वर्ष सेवा पूरा गर्दैमा सबै कर्मचारी नयाँ चुनौती सामना गर्न अक्षम हुन्छन् भन्ने पनि होइन। उमेर र अनुभवसँगै कार्यक्षमतामा परिवर्तन आउन सक्छ, तर त्यसको मूल्याङ्कन वस्तुगत मापदण्डबाट हुनुपर्छ। कतिपय क्षेत्रमा अनुभवी कर्मचारीको ज्ञान, सीप र संस्थागत स्मृति अत्यन्त महत्त्वपूर्ण हुन्छ भने कतिपय क्षेत्रमा नयाँ पुस्ताको प्रविधिमैत्री क्षमता र नवीन सोच आवश्यक हुन्छ।

राज्यले आवश्यकताअनुसार सेवा सर्त परिवर्तन गर्न सक्छ। तर त्यसो गर्दा न्याय, समानता, संक्रमणकालीन व्यवस्था र कर्मचारीको वैध अपेक्षालाई बेवास्ता गर्न मिल्दैन। लोक सेवा आयोगको प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रवेश गरी जीवनको महत्त्वपूर्ण समय राज्यको सेवामा लगानी गरेका कर्मचारीको वृत्तिविकास र सेवा सुरक्षालाई कुनै सरकारको तत्कालीन सुविधाअनुसार परिवर्तन गर्नु न्यायसंगत हुँदैन। सुधारको उद्देश्य प्रशासनलाई गतिशील बनाउनु हो, अनुभवी जनशक्तिलाई हठात् विस्थापित गर्नु होइन।

यससँग जोडिएको अर्को महत्त्वपूर्ण विषय नयाँ र पुरानो पुस्ताबीचको सम्बन्ध हो। राज्य सञ्चालन र संस्थागत विकासमा पुस्तान्तरण आवश्यक छ। नयाँ पुस्ताको ऊर्जा, सिर्जनशीलता, प्रविधिमैत्री क्षमता र नवीन दृष्टिकोणलाई प्रशासनमा उपयोग गर्नुपर्छ। त्यसैगरी पुरानो पुस्ताको अनुभव, ज्ञान, परिपक्वता र संस्थागत स्मृतिलाई पनि सम्मान गर्नुपर्छ। नयाँ र पुरानो पुस्ता एकअर्काका प्रतिस्पर्धी वा विरोधी होइनन्, एकअर्काका पूरक हुन्।

नयाँ र पुरानो, युवा र पाका वा फरक उमेर समूहका नाममा कृत्रिम विभाजन र अन्तरविरोध सिर्जना गर्नु वस्तुवादी सोच होइन। उमेर जैविक अवस्था हो, क्षमता र कार्यकुशलताको अन्तिम मापदण्ड होइन। नयाँ पुस्तामा सम्भावना हुन्छ भने पुरानो पुस्तामा अनुभव हुन्छ। परिवर्तनको नाममा अनुभवलाई निषेध गर्नु र अनुभवको नाममा नयाँ सम्भावनालाई रोक्नु दुवै गलत हुन्।

पुस्तान्तरण भनेको एउटा पुस्तालाई अपमानित गरेर अर्को पुस्ता स्थापित गर्नु होइन। ज्ञान, सीप, अनुभव र जिम्मेवारीको क्रमिक हस्तान्तरण गर्नु हो। नयाँ पुस्तालाई अवसर दिन पुरानो पुस्ताको अपमान गर्नुपर्दैन र पुरानो पुस्ताको अनुभव जोगाउन नयाँ पुस्ताको सम्भावना रोक्नुपर्दैन। अनुभव र ऊर्जा, परिपक्वता र नवीनता तथा निरन्तरता र परिवर्तनको संयोजनले संस्था बलियो हुन्छ। प्रशासन सुधारको बाटो पुस्ताबीचको टकराव होइन, क्षमताको संयोजन हो।

कर्मचारी सेवा सुरक्षाको अर्थ पनि स्पष्ट हुनुपर्छ। सेवा सुरक्षा भनेको काम नगरे पनि जागिर जोगाइदिने सुविधा होइन। यो कर्मचारीलाई राजनीतिक दबाब, प्रतिशोध र अनुचित हस्तक्षेपबाट जोगाउने संस्थागत प्रत्याभूति हो। कर्मचारीले कानुनअनुसार निर्णय गर्दा राजनीतिक नेतृत्व रिसाउला कि भन्ने भय राख्न थाल्यो भने उसले आवश्यक र साहसिक निर्णय गर्न सक्दैन। आफ्नो जिम्मेवारी पूरा गर्नुभन्दा पद जोगाउने उपाय खोज्न थाल्छ। यसले निर्णय क्षमता कमजोर बनाउँछ र काम नगर्ने प्रवृत्तिलाई प्रश्रय दिन्छ। अन्ततः यसको मूल्य नागरिकले चुकाउनुपर्छ। त्यसैले सेवा सुरक्षा र कार्यसम्पादनको जवाफदेहिता सँगसँगै अघि बढ्नुपर्छ।

कर्मचारी ट्रेड युनियनको अस्तित्व र भूमिकाबारे भइरहेको बहसलाई पनि यही सन्तुलनमा बुझ्नुपर्छ। विगतमा कर्मचारी संगठनका नाममा दलीय प्रभावमा काम गर्ने, सरुवामा अनुचित दबाब सिर्जना गर्ने, कार्यालयको काम प्रभावित पार्ने र पेसागत संगठनलाई राजनीतिक शक्ति प्रदर्शनको माध्यम बनाउने प्रवृत्ति देखिएका छन् भने तिनको सुधार आवश्यक छ। ट्रेड युनियनको नाममा कार्यालयको अनुशासन र सेवाग्राहीको अधिकारमाथि हस्तक्षेप गर्ने छुट कसैलाई हुनुहुँदैन।

तर विकृति देखियो भन्दैमा सामूहिक पेसागत अधिकार नै समाप्त गर्नु उचित हुँदैन। कर्मचारी पनि श्रमिक हुन्। उनीहरूको श्रमको सम्मान, पेसागत सुरक्षा, न्यायपूर्ण व्यवहार र सामूहिक आवाज उठाउने अधिकार सुनिश्चित हुनुपर्छ। ट्रेड युनियनको मूल मर्म कर्मचारीका पेसागत हकहितको संरक्षण, सेवा सर्तमा सुधार, कार्यस्थलमा हुने विभेदविरुद्ध आवाज उठाउने र व्यवस्थापन तथा कर्मचारीबीच संवादको वातावरण निर्माण गर्नु हो।

नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. ९८ अनुमोदन गरेको छ। यसले संगठन गर्ने अधिकार र सामूहिक सौदाबाजीको सिद्धान्तलाई महत्त्व दिन्छ। यद्यपि महासन्धिको धारा ६ ले राज्यको प्रशासनमा संलग्न सार्वजनिक कर्मचारीसम्बन्धी विशेष व्यवस्था गरेको छ। त्यसैले यसको व्याख्या सार्वजनिक सेवाको प्रकृति र राष्ट्रिय कानुनी व्यवस्थासँग मिलाएर गर्नुपर्छ।

कर्मचारी संगठन राजनीतिक दलका भ्रातृ संगठन बन्नु हुँदैन, तर सुधारको नाममा कर्मचारीको वैधानिक सामूहिक आवाज पनि बन्द गरिनु हुँदैन। कर्मचारी संगठनको मूल चरित्र पेसागत हुनुपर्छ, राजनीतिक शक्ति प्रदर्शनको माध्यम होइन। कर्मचारीको अधिकार र सेवाग्राहीको अधिकारबीच द्वन्द्व होइन, सन्तुलन स्थापित गर्नुपर्छ।

निजामती प्रशासनमा प्रस्तावित छड्के वा सिधा नियुक्तिको विषय अझ गम्भीर छ। निजामती सेवामा प्रवेशको स्थापित आधार खुला प्रतिस्पर्धा, योग्यता, क्षमता र लोक सेवा आयोगको निष्पक्ष छनोट प्रणाली हो। राज्यलाई दक्ष, विज्ञ र विशेषज्ञ जनशक्ति आवश्यक छ भने त्यसको विरोध गर्नुपर्ने कारण छैन। सूचना प्रविधि, इन्जिनियरिङ, अर्थशास्त्र, कानुन, सार्वजनिक वित्त, वातावरण र अन्य विशिष्ट क्षेत्रमा दक्ष जनशक्ति भित्र्याउन सकिन्छ।

तर प्रश्न विशेषज्ञ ल्याउने कि नल्याउने भन्ने होइन, नियुक्तिको ढोका कसले, कुन मापदण्ड र कस्तो प्रक्रियाबाट खोल्ने भन्ने हो। विषयगत विशेषज्ञता आवश्यक छ भने सम्बन्धित शैक्षिक योग्यता, अनुभव, सीप र व्यावसायिक दक्षताका आधारमा खुला प्रतिस्पर्धा गराउन सकिन्छ। लिखित परीक्षा, प्रयोगात्मक परीक्षा, अन्तर्वार्ता र कार्यअनुभवको वस्तुगत मूल्याङ्कन गर्न सकिन्छ। यसबाट विशेषज्ञता पनि प्राप्त हुन्छ र नियुक्तिको निष्पक्षता पनि कायम रहन्छ।

जब योग्य जनशक्ति छनोट गर्न संवैधानिक निकायको स्थापित संयन्त्र छ भने त्यसलाई छल्ने अर्को बाटो खोल्नुपर्ने औचित्य के हो? लोक सेवा आयोगको प्रतिस्पर्धात्मक प्रणालीमा कमजोरी छ भने त्यसको क्षमता अभिवृद्धि र सुधार गर्नुपर्छ, प्रणालीलाई छल्ने बाटो निर्माण गर्नु हुँदैन। बाह्य प्रवेशबाट आउने व्यक्तिको योग्यता र अनुभव कसले निर्धारण गर्छ? छनोट प्रक्रिया कसले सञ्चालन गर्छ? राजनीतिक नेतृत्वसँग निकटता भएका व्यक्तिले अवसर पाउने सम्भावना कसरी रोक्ने? स्वार्थको द्वन्द्व र कृपावाद कसरी नियन्त्रण गर्ने? यी प्रश्नको स्पष्ट जवाफ नदिई छड्के प्रवेशलाई प्रशासन सुधारको माध्यम भन्न सकिँदैन।

वर्षौँको अध्ययन र प्रतिस्पर्धाबाट लोक सेवा आयोग उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गरेका कर्मचारीले आफ्नो कार्यक्षमता र अनुभवका आधारमा वृत्तिविकासको अपेक्षा गर्नु स्वाभाविक हो। उनीहरूको वैध अपेक्षालाई बेवास्ता गर्दै बाहिरबाट सिधै उच्च पदमा नियुक्ति गर्ने बाटो खोलियो र त्यो वस्तुगत प्रतिस्पर्धाभन्दा राजनीतिक वा प्रशासनिक पहुँचमा आधारित भयो भने प्रशासनभित्र असन्तुष्टि र अविश्वास पैदा हुन्छ। विशेषज्ञता चाहिन्छ भने प्रतिस्पर्धा गराऔँ, दक्षता चाहिन्छ भने क्षमता परीक्षण गरौँ र सुधार चाहिन्छ भने प्रणाली सुधारौँ।

यी सबै विषयलाई समग्रतामा हेर्दा एउटा गम्भीर प्रश्न उठ्छ। एकातिर कर्मचारीको सामूहिक पेसागत आवाज सीमित गर्ने बहस छ, अर्कोतिर निश्चित सेवा अवधि वा उमेरका आधारमा अनुभवी कर्मचारीलाई अवकाश दिने प्रस्ताव छ र तेस्रोतिर विशिष्ट पदमा बाह्य प्रवेशको बाटो खोल्ने विषय छ। त्यसमाथि सरुवा, पदस्थापन र जिम्मेवारी निर्धारणमा राजनीतिक हस्तक्षेप कायम रह्यो भने प्रशासनको संस्थागत चरित्र कस्तो बन्छ? यी प्रत्येक प्रस्तावको छुट्टाछुट्टै औचित्य हुन सक्छ। तर तिनको समग्र प्रभावले प्रशासनलाई व्यावसायिक र सक्षम बनाउँछ कि राजनीतिक नेतृत्वको इच्छाअनुसार सजिलै परिवर्तन गर्न सकिने संरचनामा रूपान्तरण गर्छ भन्ने प्रश्नको जवाफ खोज्नैपर्छ।

यो प्रश्नलाई पछिल्लो समय सार्वजनिक भएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग जोडिएका घटनाक्रमले अझ सान्दर्भिक बनाएका छन्। सुनकोशी–मरिण आयोजना नेपालको महत्त्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हो। यसको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि अघि बढाइएको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामा प्राविधिक मूल्याङ्कनबाट तीनवटा कम्पनी छनोट भएको र आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेको अवस्थामा २०८३ कात्तिक १४ गते ठेक्का प्रक्रिया रद्द भएको समाचार सार्वजनिक भयो। त्यसअघि जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित गराएको विवरण पनि सञ्चारमाध्यममा प्रकाशित भयो।

यस घटनामा कर्मचारीलाई नियन्त्रणमा लिनुको औपचारिक कानुनी आधार के थियो, ठेक्का रद्द गर्ने निर्णय कुन प्रक्रियाबाट भयो र त्यसमा सम्बन्धित अधिकारीहरूको भूमिका के थियो भन्ने विषय सार्वजनिक रूपमा स्पष्ट हुन आवश्यक छ। सञ्चारमाध्यममा कर्मचारीमाथि ठेक्का रद्द गर्न दबाब दिइएको आरोपसमेत प्रकाशित भएका छन्। तर आरोप, समाचारमा उद्धृत स्रोतका दाबी र प्रमाणित तथ्यलाई एउटै रूपमा लिन मिल्दैन। प्रधानमन्त्री कार्यालयको पक्ष, सम्बन्धित अधिकारीहरूको भनाइ, निर्णयको आधिकारिक आधार र छानबिनको निष्कर्ष पनि सार्वजनिक बहसमा आउनुपर्छ।

यहाँ मूल प्रश्न कुनै व्यक्ति वा सरकारको पक्ष वा विपक्षमा उभिने होइन। प्रश्न सार्वजनिक खरिद प्रक्रिया, प्रशासनिक अधिकारक्षेत्र र कानुनी शासनको हो। सार्वजनिक खरिद ऐन, २०६३ ले बोलपत्र मूल्याङ्कन, अस्वीकृति र खरिद कारबाही रद्द गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था गरेको छ। दफा २५ ले बोलपत्र मूल्याङ्कनको प्रक्रिया निर्धारण गर्छ भने दफा २६ ले निश्चित कानुनी अवस्था र कारणका आधारमा सम्पूर्ण बोलपत्र अस्वीकृत गर्न वा खरिद कारबाही रद्द गर्न सकिने व्यवस्था गरेको छ। त्यस्तो निर्णय गर्दा कारणसहित सम्बन्धित बोलपत्रदातालाई सूचना दिनुपर्ने व्यवस्था पनि छ।

त्यसैले कुनै ठेक्का रद्द गर्नुपरेमा कुन कानुनी आधार र कुन वस्तुगत तथ्यले त्यस्तो निर्णय आवश्यक बनायो भन्ने कुरा स्पष्ट हुनुपर्छ। बोलपत्रदाताबीच मिलेमतो भएको आशंका छ भने त्यसको अनुसन्धान हुनुपर्छ। आर्थिक वा प्राविधिक अनियमितता देखिएको छ भने प्रमाणका आधारमा कारबाही हुनुपर्छ। सार्वजनिक खरिदमा राज्यको ठूलो धनराशि खर्च हुन्छ। त्यसैले कुनै पनि निर्णय पारदर्शी, प्रतिस्पर्धात्मक र कानुनसम्मत हुनुपर्छ।

प्रधानमन्त्री कार्यालयले सरकारका कामको समन्वय गर्न, आयोजनाको प्रगति माग्न र अनियमितताको आशंका भए सम्बन्धित निकायलाई छानबिन गर्न निर्देशन दिन सक्छ। तर समन्वय गर्ने अधिकार र कानुनले कुनै सार्वजनिक निकायलाई दिएको खरिदसम्बन्धी निर्णय गर्ने अधिकार एउटै होइन। अधिकार क्षेत्रको सीमा मिचेर निर्णय प्रक्रियामा हस्तक्षेप गरियो भने संस्थागत सन्तुलन बिग्रन्छ।

कर्मचारीलाई नियन्त्रणमा लिने वा सोधपुछ गर्ने विषय पनि सामान्य होइन। कुनै कर्मचारी भ्रष्टाचार वा अनियमिततामा संलग्न भएको प्रमाण छ भने कानुनअनुसार अनुसन्धान हुनुपर्छ। पदको दुरुपयोग गरेको भए उसले जवाफ दिनुपर्छ। तर अनुसन्धान र दबाबबीच स्पष्ट भिन्नता छ। कानुनी प्रक्रियाअनुसार अनुसन्धान गर्नु राज्यको अधिकार हो, आफ्नो इच्छाअनुसार निर्णय गराउन कर्मचारीमाथि भय सिर्जना गर्नु वैध अधिकार हुन सक्दैन।

कर्मचारीले राजनीतिक दबाबअनुसार निर्णय गर्न अस्वीकार गरेको हो भने त्यसलाई अवज्ञा भन्न मिल्दैन। त्यसैगरी कर्मचारीले जानाजान कानुन मिचेर कुनै कम्पनीलाई लाभ पुर्‍याएको हो भने उसको पेसागत हैसियतका कारण उन्मुक्ति दिन पनि मिल्दैन। दुवै अवस्थामा तथ्य र प्रमाणका आधारमा निष्पक्ष छानबिन हुनुपर्छ। यही नै विधिको शासन हो।

राजनीतिक नेतृत्वले प्रशासनलाई जवाफदेही बनाउनुपर्छ, तर जवाफदेहिता र नियन्त्रण एउटै कुरा होइनन्। जवाफदेहिताले जिम्मेवारी स्पष्ट गर्छ, परिणाम माग्छ र गल्ती भए कानुनी कारबाहीको बाटो खोल्छ। अनुचित नियन्त्रणले कर्मचारीको स्वतन्त्र निर्णय क्षमता समाप्त गर्छ र उसलाई आदेश पालना गर्ने साधनमा सीमित बनाउँछ। प्रशासनमा अनुशासन आवश्यक छ, तर अनुशासनको नाममा राजनीतिक अधीनस्थता स्वीकार्य हुन सक्दैन।

यस्तो प्रवृत्तिको असर एउटा आयोजना वा केही कर्मचारीमा मात्र सीमित रहँदैन। आज कुनै कर्मचारीले कानुनअनुसार निर्णय गर्दा राजनीतिक दबाबमा पर्नुपर्ने अवस्था सिर्जना भयो भने भोलि अर्को कर्मचारीले पनि त्यही अनुभव गर्न सक्छ। त्यसपछि कर्मचारीको प्राथमिकता सार्वजनिक हितभन्दा आफ्नो पद र सुरक्षा जोगाउनेतर्फ केन्द्रित हुन सक्छ। निर्णय नगर्ने, जिम्मेवारी नलिने र जोखिमबाट पन्छिने प्रवृत्ति बढ्न सक्छ। यसको प्रत्यक्ष असर विकास आयोजना, सार्वजनिक सेवा र नागरिकको दैनिक जीवनमा पर्छ।

राहदानी छपाइ तथा वितरणसम्बन्धी विषयमा पनि कर्मचारीमाथि सार्वजनिक रूपमा धाकधम्की, दबाब र त्रास सिर्जना गरिएको भन्ने प्रश्न उठेको थियो। कुनै सरकारी सेवामा ढिलाइ भएको छ भने त्यसको कारण खोज्नुपर्छ। जिम्मेवार अधिकारीलाई स्पष्टीकरण सोध्नुपर्छ। आवश्यक परे कानुनी कारबाही गर्नुपर्छ। तर सेवाको समस्या समाधान गर्ने नाममा कर्मचारीलाई सार्वजनिक रूपमा अपमानित गर्ने, धम्क्याउने वा भयको वातावरण बनाउने अभ्यासले संस्थागत सुधार गर्दैन। राहदानीजस्तो संवेदनशील सार्वजनिक सेवामा नीतिगत निर्णय, खरिद प्रक्रिया, प्राविधिक क्षमता, जनशक्ति व्यवस्थापन र कार्यसम्पादनको वस्तुगत समीक्षा आवश्यक हुन्छ।

कर्मचारीलाई जवाफदेही बनाउने नाममा भय सिर्जना गर्नु र राजनीतिक नेतृत्वको आदेशलाई कानुनभन्दा माथि राख्नु प्रशासनिक सुधार होइन। त्यसैगरी कर्मचारीतन्त्रले पनि आफ्नो कमजोरी लुकाउन प्रशासनिक स्वायत्तताको बहाना बनाउन मिल्दैन। स्वायत्तता अधिकारसँगै जिम्मेवारी हो। कर्मचारीले आफ्नो निर्णयको कानुनी, प्रशासनिक र नैतिक जवाफ दिनुपर्छ। राजनीतिक नेतृत्वले पनि आफूले दिएको निर्देशन र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी लिनुपर्छ।

मार्क्सवादी दृष्टिकोणबाट हेर्दा राज्य र यसका संस्थाहरू वर्गीय समाजको ऐतिहासिक संरचनाभित्र विकसित भएका हुन्छन्। राज्यका संस्थाहरू पूर्णतः वर्गनिरपेक्ष हुन्छन् भन्ने आदर्शवादी बुझाइ पर्याप्त हुँदैन। आर्थिक शक्ति, राजनीतिक शक्ति र प्रशासनिक पहुँचबीचको सम्बन्धले राज्य सञ्चालनमा प्रभाव पार्न सक्छ। त्यसैले सार्वजनिक प्रशासनलाई केवल प्राविधिक संयन्त्रका रूपमा बुझेर पुग्दैन। राज्यका स्रोतसाधन कसका हितमा प्रयोग भइरहेका छन्, सार्वजनिक निर्णयबाट कुन वर्ग लाभान्वित भइरहेको छ र विकासको प्रतिफल समाजका कुन तहसम्म पुगिरहेको छ भन्ने प्रश्न पनि उठाउनुपर्छ।

तर वर्गीय दृष्टिकोणको अर्थ प्रशासनलाई कुनै राजनीतिक दलको नियन्त्रणमा राख्नु होइन। जनताको हितमा राज्य सञ्चालन गर्ने हो भने प्रशासनलाई सीमित स्वार्थ समूह, बिचौलिया, कर्पोरेट प्रभाव र राजनीतिक संरक्षणबाट मुक्त राख्नुपर्छ। सार्वजनिक स्रोतसाधन केही शक्तिशाली व्यक्ति वा समूहको हितमा प्रयोग हुने अवस्था रोक्न कानुनी र संस्थागत संयन्त्र बलियो बनाउनुपर्छ।

सार्वजनिक खरिदमा प्रतिस्पर्धा, पारदर्शिता र निष्पक्षता कायम गर्नु पनि वर्गीय न्यायको व्यावहारिक पक्ष हो। राज्यको पैसा जनताको कर र सार्वजनिक स्रोतबाट आउँछ। त्यसैले त्यसको प्रयोगमा निजी वा राजनीतिक स्वार्थले स्थान पाउनु हुँदैन। सार्वजनिक प्रशासन जनताको सेवक हो, सीमित शक्ति समूहको स्वार्थ पूरा गर्ने माध्यम होइन।

अब प्रश्न उठ्छ, वास्तविक प्रशासनिक सुधार के हो?

प्रशासन सुधारको वास्तविक अर्थ कर्मचारीको सरुवा, बढुवा, अवकाश वा नियुक्तिमा परिवर्तन गर्नु मात्र होइन। नागरिकले राज्यबाट पाउने सेवा सरल, छिटो, सुलभ र न्यायपूर्ण बनाउनु हो। भ्रष्टाचार नियन्त्रण गर्नु, ढिलासुस्ती हटाउनु, सरकारी सेवाको गुणस्तर बढाउनु, प्रविधिको प्रयोग गर्नु, जिम्मेवारी र अधिकार स्पष्ट गर्नु, कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गर्नु र नागरिकप्रतिको उत्तरदायित्व बलियो बनाउनु वास्तविक सुधारका विषय हुन्।

यसका लागि नियुक्ति र बढुवालाई योग्यता तथा निष्पक्ष प्रतिस्पर्धामा आधारित बनाउनुपर्छ। लोक सेवा आयोगको संस्थागत विश्वसनीयता जोगाउनुपर्छ। सरुवा र पदस्थापनका स्पष्ट मापदण्ड बनाउनुपर्छ। कर्मचारीलाई पुरस्कार वा दण्ड दिने माध्यमका रूपमा सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। कार्यसम्पादन मूल्याङ्कनलाई वास्तविक परिणामसँग जोड्नुपर्छ। भ्रष्टाचार र अनियमिततामाथि राजनीतिक संरक्षणविना निष्पक्ष कारबाही हुनुपर्छ। कर्मचारीको क्षमता अभिवृद्धि, नियमित तालिम र प्रविधिमैत्री ज्ञान विकासमा जोड दिनुपर्छ।

त्यसैगरी संघीय निजामती सेवा विधेयकलाई अन्तिम रूप दिँदा कर्मचारी संगठन, प्रशासनविद्, कानुनविद्, लोक सेवा आयोग, प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिसँग पर्याप्त छलफल हुनुपर्छ। संघीयता कार्यान्वयनका लागि तीनै तहको प्रशासनिक संरचना सक्षम हुन आवश्यक छ। संघीय निजामती सेवा मात्र व्यवस्थित भएर पुग्दैन। प्रदेश र स्थानीय तहमा पनि योग्य कर्मचारीको उपलब्धता, सेवा सर्तको स्पष्टता र प्रशासनिक स्थायित्व आवश्यक छ। स्थानीय तहमा कर्मचारी अभाव, बारम्बारको सरुवा र जनशक्ति व्यवस्थापनको कमजोरीले नागरिकले पाउने सेवा प्रभावित भइरहेको अवस्थामा संघीयताको मर्मअनुसार प्रशासनिक संरचना निर्माण गर्नुपर्छ।

राजनीतिक नेतृत्वले पनि आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्छ। हरेक निर्णय आफूले गर्नुपर्ने, हरेक कर्मचारी आफ्नो निकट हुनुपर्ने र हरेक आयोजना आफ्नो इच्छाअनुसार अघि बढ्नुपर्ने सोच लोकतान्त्रिक नेतृत्वको चरित्र होइन। असल नेतृत्वले आफूभन्दा दक्ष व्यक्तिको ज्ञान र अनुभव उपयोग गर्छ। आलोचना सुन्छ, असहमतिलाई शत्रुता ठान्दैन र कानुनी सीमाभित्र रहेर निर्णय गर्छ। आफूले दिएको निर्देशनको कानुनी र नैतिक जिम्मेवारी पनि स्वीकार गर्छ।

राजनीतिक नेतृत्वको वास्तविक उचाइ आफ्नो आदेश कति मानिसले पालना गरे भन्नेबाट होइन, उसले कति बलिया, विश्वासिला र जवाफदेही संस्था निर्माण गर्‍यो भन्नेबाट मापन हुनुपर्छ।

लोकतन्त्रको रक्षा केवल निर्वाचन गराएर हुँदैन। निर्वाचनपछि राज्यका संस्थाहरूले कसरी काम गर्छन् भन्ने कुराले लोकतन्त्रको वास्तविक गुणस्तर निर्धारण गर्छ। संसद् प्रभावकारी हुनुपर्छ, न्यायपालिका निष्पक्ष हुनुपर्छ, संवैधानिक निकायले स्वतन्त्रतापूर्वक जिम्मेवारी पूरा गर्न पाउनुपर्छ, प्रशासनले कानुनअनुसार काम गर्न पाउनुपर्छ र नागरिकले राज्यसँग जवाफ माग्न पाउनुपर्छ। कुनै एउटा निकाय अत्यधिक शक्तिशाली भएर अरू सबै निकायलाई आफ्नो अधीनमा राख्न खोज्यो भने लोकतान्त्रिक सन्तुलन खल्बलिन्छ।

आज कुनै कर्मचारी राजनीतिक नेतृत्वको इच्छाअनुसार हटाइन्छ भने भोलि अर्को सरकारले अर्को समूहका कर्मचारी हटाउन सक्छ। आज कुनै आयोजनाको ठेक्का राजनीतिक असन्तुष्टिका कारण रद्द गर्न सकिन्छ भने भोलि अर्को आयोजनामा पनि त्यही अभ्यास दोहोरिन सक्छ। आज योग्यता प्रणालीलाई छल्ने बाटो खोलियो भने भोलि योग्यताको मापदण्ड नै पहुँच र निकटताले निर्धारण गर्न सक्छ। त्यसैले कुनै पनि सरकारका लागि आज सुविधाजनक देखिएको अभ्यास भोलि राज्यका लागि संस्थागत समस्या बन्न सक्छ।

हामीलाई कमजोर प्रशासन होइन, सक्षम प्रशासन चाहिएको छ। राजनीतिक नेतृत्वको व्यक्तिगत अधीनस्थ कर्मचारीतन्त्र होइन, संविधान र कानुनप्रति प्रतिबद्ध कर्मचारीतन्त्र चाहिएको छ। प्रश्न गर्न नसक्ने कर्मचारी होइन, कानुनी सीमाभित्र रहेर सही निर्णय गर्ने साहस भएको कर्मचारी चाहिएको छ। त्यस्तै कर्मचारीलाई आफ्नो स्वार्थअनुसार चलाउने राजनीतिक नेतृत्व होइन, योग्यताको सम्मान गर्ने, संस्थाको मर्यादा कायम राख्ने र सार्वजनिक हितलाई सर्वोपरि ठान्ने नेतृत्व चाहिएको छ।

राजनीतिक नेतृत्वले प्रशासनमाथि निगरानी गर्नुपर्छ, प्रतिशोध लिनु हुँदैन। प्रशासनले सरकारका नीति कार्यान्वयन गर्नुपर्छ, गैरकानुनी आदेशको अन्धअनुकरण गर्नु हुँदैन। कर्मचारीले आफ्नो अधिकार खोज्नुपर्छ, जिम्मेवारीबाट भाग्न मिल्दैन। ट्रेड युनियनले पेसागत हकहितको संरक्षण गर्नुपर्छ, कार्यालयको काम अवरुद्ध गर्ने अधिकार हुँदैन। बाह्य विशेषज्ञलाई प्रशासनमा प्रवेश गराउन सकिन्छ, तर योग्यता र खुला प्रतिस्पर्धाको मर्म कमजोर बनाएर होइन।

राज्य कसैको निजी सम्पत्ति होइन। सरकार कसैको स्थायी स्वामित्व होइन। प्रशासन कुनै राजनीतिक दलको भ्रातृ संगठन होइन। सार्वजनिक पद व्यक्तिगत प्रभाव विस्तार गर्ने साधन होइन। यी सबै जनताको कर, विश्वास, अधिकार र सार्वभौमसत्ताबाट निर्मित सार्वजनिक संस्था हुन्। त्यसैले राज्यका संस्थाहरूलाई व्यक्तिगत स्वार्थ, दलगत प्रभाव र सीमित शक्ति समूहको हितबाट मुक्त राख्नु लोकतान्त्रिक शासनको आधारभूत दायित्व हो।

अन्ततः हामीले निर्माण गर्न खोजेको राज्य कस्तो हो भन्ने प्रश्नको उत्तर स्पष्ट हुनुपर्छ। हामीलाई व्यक्तिको आदेशमा चल्ने राज्य चाहिएको हो कि संविधान र कानुनमा आधारित राज्य? राजनीतिक पहुँचका आधारमा अवसर बाँड्ने प्रशासन चाहिएको हो कि योग्यता र प्रतिस्पर्धाका आधारमा जिम्मेवारी दिने प्रशासन? नयाँ र पुरानो पुस्तालाई एकअर्काको प्रतिस्पर्धी बनाएर विभाजित गर्ने व्यवस्था चाहिएको हो कि अनुभव र ऊर्जाको संयोजनबाट संस्था बलियो बनाउने प्रणाली? सत्तामा बस्नेहरूको इच्छालाई कानुन बनाउने व्यवस्था चाहिएको हो कि सत्तामा बस्नेहरूलाई समेत कानुनको अधीनमा राख्ने लोकतान्त्रिक प्रणाली?

निजामती प्रशासनको सुधार आवश्यक छ, तर प्रशासनमाथिको राजनीतिक नियन्त्रण सुधार होइन। कर्मचारीको सेवा सुरक्षा आवश्यक छ, तर त्यसको अर्थ गैरजिम्मेवारीलाई संरक्षण गर्नु होइन। राजनीतिक नेतृत्वको निर्देशन आवश्यक छ, तर त्यसको अर्थ कानुन मिच्ने अधिकार प्राप्त हुनु होइन। प्रशासनिक स्वायत्तता आवश्यक छ, तर त्यसको अर्थ जवाफदेहिताबाट उन्मुक्ति पाउनु पनि होइन।

राजनीतिक नेतृत्वले राज्यलाई दिशा दिनुपर्छ, प्रशासनले विधिअनुसार गति दिनुपर्छ र संविधानले दुवैलाई सीमाभित्र राख्नुपर्छ। कर्मचारीलाई अधिकारसँगै जिम्मेवारी, प्रशासनलाई स्वायत्ततासँगै जवाफदेहिता र राजनीतिक नेतृत्वलाई जनादेशसँगै संवैधानिक मर्यादाको बोध हुनुपर्छ। नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभवलाई टकरावमा होइन, सहकार्यमा जोड्नुपर्छ। प्रशासनका विकृति हटाउनुपर्छ, तर सुधारका नाममा संस्थागत स्वायत्तता समाप्त गर्नु हुँदैन।

राज्य बलियो हुने भनेको शासक बलियो हुनु होइन, राज्यका संस्था बलिया हुनु हो। लोकतन्त्र बलियो हुने भनेको सत्तामा पुगेका व्यक्तिले आफूलाई शक्तिशाली ठान्नु होइन, आफूलाई समेत संविधान र कानुनको अधीनमा राख्न सक्नु हो। राज्य व्यक्तिको इच्छाले होइन, विधिको शासनले बलियो हुन्छ। प्रशासन राजनीतिक आस्थाले होइन, योग्यता, व्यावसायिकता र सार्वजनिक उत्तरदायित्वले चल्नुपर्छ। लोकतन्त्र नाराले होइन, बलिया संस्था, निष्पक्ष प्रक्रिया र नागरिकप्रतिको जवाफदेहिताले जीवन्त रहन्छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...