हराउँदै गएको दाइँ संस्कृति जोगाउँदै पर्यटन प्रबर्द्धन गर्न पोखरामा दाइँ महोत्सवकाे तयारी, विदेशी पर्यटकको सहभागिता रहने

पोखरा । आधुनिक कृषि प्रविधिको विस्तारसँगै गाउँघरबाट हराउँदै गएको गोरुले दाइँ गर्ने परम्परालाई पुनर्जीवित गर्ने उद्देश्यले पोखरामा तेस्रो दाइँ महोत्सव–२०८३ आयोजना हुने भएको छ। कृषि संस्कृतिको संरक्षण, किसानलाई प्रोत्साहन र पर्यटन प्रवर्द्धनलाई एकैसाथ जोड्ने लक्ष्यसहित मंसिर १२ गते शनिबार पोखरा महानगरपालिका–२९ नौबिसे सिसुवामा महोत्सव हुन लागेको हो।

पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुन लागेको महोत्सवले पुस्तौँदेखि चल्दै आएको परम्परागत कृषि प्रणाली र ग्रामीण जनजीवनको मौलिक पहिचानलाई पर्यटकीय आकर्षणका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

महोत्सवमा आधुनिक मेसिनको सट्टा गोरुको सहायताले धान चुट्ने, धानको राश बनाउने र बत्ताउने पुरानो कृषि परम्परालाई प्रत्यक्ष रूपमा प्रदर्शन गरिनेछ। चार हल गोरु प्रयोग गरेर दाइँ लगाइनेछ भने १७ जना दँदेराहरूले गोरु धपाउने, दाइँ लगाउने, पराल बाँध्ने र परालको कुनियो बनाउनेलगायतका परम्परागत काम गर्नेछन्।

 

यो महोत्सव केवल दाइँ हेर्ने कार्यक्रम मात्र नभई गाउँघरको पुरानो कृषि जीवनशैली, श्रम संस्कृति र सामूहिकताको अनुभव गर्ने अवसरसमेत बन्नेछ। नयाँ पुस्ताले आफ्ना पुर्खाले अपनाउँदै आएको कृषि प्रणालीलाई नजिकबाट बुझ्न पाउनेछन् भने विदेशी पर्यटकले नेपाली ग्रामीण जीवन र मौलिक संस्कृतिको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

 

महोत्सवमा विदेशी पर्यटकको आकर्षण पनि बढ्दै गएको छ। कार्यक्रम संयोजक हरिराम अधिकारीका अनुसार हालसम्म ५० जना विदेशी पर्यटकले सहभागी हुन नाम दर्ता गराइसकेका छन्। नाम दर्ता गर्ने क्रम जारी रहेकाले पर्यटकको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। विभिन्न विद्यालयका विद्यार्थी, स्थानीय बासिन्दा र सर्वसाधारणको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

 

परम्परागत दाइँको मौलिक वातावरण झल्काउन महोत्सवमा सहभागीलाई परालमाथि र बारीको पाटामा बसेर खाजा तथा खाना खाने व्यवस्था पनि मिलाइनेछ। यसले गाउँघरमा दाइँ लगाउँदाको पुरानो सामूहिक जीवनशैली र आत्मीयताको झल्को दिनेछ।

 

महोत्सवलाई थप रोचक र सहभागितामूलक बनाउन दँदेरा लगाउने, गुन्द्री बुन्ने र लठ्ठो तान्नेलगायतका परम्परागत प्रतियोगिता पनि सञ्चालन गरिनेछ। प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिनेछ भने सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानलाई समेत सम्मान तथा पुरस्कृत गरिने आयोजकले जनाएको छ।

 

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले लोपोन्मुख अवस्थामा पुगेको गोरुले दाइँ गर्ने परम्पराको संरक्षण र प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको बताए। किसानलाई प्रोत्साहित गर्दै कृषि र पर्यटनलाई जोड्ने महानगरको उद्देश्य रहेको उनको भनाइ छ।

 

महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले परम्परागत कृषि प्रणालीको संरक्षणसँगै किसानलाई गोरुपालनतर्फ आकर्षित गर्न महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले परम्परागत कृषि संस्कृतिलाई पर्यटनसँग जोड्न सके ग्रामीण पर्यटनको विकास र आर्थिक समृद्धिमा योगदान पुग्ने बताए। पोखरामा आयोजना हुने यस्ता मौलिक कार्यक्रमलाई नियमित र व्यवस्थित बनाउन सके दाइँ महोत्सव पनि पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने उनको धारणा छ।

 

पोखरा प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका लागि मात्र नभई मौलिक संस्कृति र ग्रामीण जीवनशैलीका लागि पनि परिचित हुँदै गएको छ। रोपाइँ महोत्सवसँगै दाइँ महोत्सवलाई समेत निरन्तरता दिन सके पोखराको पर्यटनमा नयाँ आयाम थपिन सक्नेछ।

 

धान रोप्ने बेलाको रोपाइँदेखि भित्र्याउने बेलाको दाइँसम्मका कृषि गतिविधिलाई पर्यटकीय कार्यक्रमका रूपमा विकास गर्ने प्रयासले कृषि र पर्यटनबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। हराउँदै गएको परम्परा जोगाउने, किसानको श्रम र सीपको सम्मान गर्ने तथा नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्ने सन्देश बोकेको तेस्रो दाइँ महोत्सव पोखराको ग्रामीण पर्यटन प्रवर्द्धनमा अर्को महत्वपूर्ण पहल बन्ने देखिन्छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...