सिँचाइ पूर्वाधार विकासमा उपभोक्ता समितिको भूमिका महत्वपूर्ण : मन्त्री देवकोटा

पोखरा, १२ मंसिर । गण्डकी प्रदेशका सिँचाइ, जलस्रोत, ऊर्जा तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले कृषि उत्पादन वृद्धि, किसानको आर्थिक समृद्धि र खाद्य सुरक्षाका लागि सिँचाइ पूर्वाधारको विकास आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ, नेपालको नवौँ राष्ट्रिय परिषद् बैठकको पोखरामा उद्घाटन गर्दै मन्त्री देवकोटाले सिँचाइ प्रणालीलाई व्यवस्थित र दिगो बनाउन सरकारसँगै जल उपभोक्ता संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताए। सिँचाइ आयोजनाको निर्माणसँगै त्यसको नियमित मर्मतसम्भार र व्यवस्थापनमा उपभोक्ताको सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

 

उनले सिँचाइ सुविधाको विस्तारबाट कृषि उत्पादन र उत्पादकत्व बढाउन सकिने भएकाले किसानको आवश्यकता र स्थानीय अवस्थालाई ध्यानमा राखेर योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए। सिँचाइ पूर्वाधारको संरक्षण र प्रभावकारी उपयोगका लागि उपभोक्ता समितिलाई जिम्मेवार बनाउँदै सरकार र उपभोक्ताबीच सहकार्य हुनुपर्ने बताए।

 

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले उपभोक्ताको पक्षमा काम गर्नुपर्ने बताए। सिँचाइ जल उपभोक्ता संस्थाको अधिकार सुनिश्चित गर्दै किसानको हितमा काम गर्नुपर्ने उनको भनाइ थियो।

 

महासंघका संस्थापक महासचिव पदमप्रसाद अर्यालले कृषि उत्पादनमा सिँचाइको महत्वपूर्ण भूमिका रहेको बताए। सरकार र उपभोक्ता समितिबीच समन्वय तथा सहकार्य गर्ने पुलका रूपमा महासंघ स्थापना भएको उल्लेख गर्दै उनले उपभोक्ता समितिलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए।

 

उनले एक करोड रुपैयाँसम्मका सिँचाइ आयोजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्न पाउने कानुनी व्यवस्था भए पनि प्रदेश सरकारले त्यसको प्रभावकारी कार्यान्वयन नगरेको बताए। कानुनी व्यवस्थाअनुसार उपभोक्ता समितिलाई काम गर्ने अवसर दिन उनले सरकारसँग आग्रह गरे।

 

महासंघका उपाध्यक्ष गंगाबहादुर केसीले पोखरामा राष्ट्रिय परिषद् बैठक आयोजना हुनु अवसर भएको बताए। बैठकले गरेका निर्णय कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

 

कार्यक्रममा महासंघका कोषाध्यक्ष कुमारराज शाहीले आर्थिक प्रतिवेदन र महासचिव कोमलकान्त झाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। छलफलपछि दुवै प्रतिवेदन पारित गरिएको थियो।

 

बैठकले सिँचाइ जल उपभोक्ता संस्थाको सुदृढीकरण, किसानका अधिकार संरक्षण, सिँचाइ पूर्वाधारको दिगो व्यवस्थापन तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना अघि सारेको छ।

 

महासंघले देशभरका सिँचाइ जल उपभोक्ता संस्थालाई संगठित र प्रभावकारी बनाउने, संस्थाको क्षमता विकास गर्ने तथा किसानको आर्थिक उन्नतिमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

 

प्रतिवेदनअनुसार राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ, नेपाल सिँचाइ जल उपभोक्ता संस्थाहरूको साझा राष्ट्रिय छाता संगठन हो। सिँचाइ जल उपभोक्ताको अधिकार संरक्षण, सहभागितामूलक सिँचाइ व्यवस्थापन र दिगो कृषि विकास प्रवर्द्धन गर्ने उद्देश्यले महासंघ स्थापना भएको हो।

 

महासंघले आगामी दिनमा सिँचाइ उपभोक्ता संस्थाका पदाधिकारी तथा सदस्यको क्षमता विकास, जिल्लागत सिँचाइको अवस्था समेटिएको स्थिति पत्र तयार गर्ने, सिँचाइसम्बन्धी नीति तथा कानुन कार्यान्वयनका लागि पहल गर्ने र सरकार तथा सरोकारवाला निकायसँग सहकार्य विस्तार गर्ने कार्ययोजना बनाएको छ।

 

त्यसैगरी सिँचाइ पूर्वाधारको मर्मतसम्भार, जलस्रोत संरक्षण, जलवायु परिवर्तन अनुकूल कृषि प्रविधिको प्रवर्द्धन र किसानको अधिकार सुनिश्चित गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...