देशभर नौ हजार ८४ जनाले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौँ, माघ १५ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।कोरोना खोप लगाउन सुरु गरिएसँगै आम नागरिकमा आशा र उत्साह सञ्चार भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको जानकारी दिनुभयो । प्राविधिक कारणले बाँकी जिल्लामा खोप सेवा सुरु हुन नसकेको जनाइएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै सबै नेपालीले कोरोनाविरुद्धको खोप निःशुल्क रूपमा पाउने बताउनुभयो ।खरिद वा अनुदान जुनसुकै माध्यमबाट प्राप्त भए पनि नेपाली नागरिकलाई खोप निःशुल्क गरिने जानकारी दिँदै उहाँले तीन महिनाभित्र सबैलाई खोप उपलब्ध गराउने सरकारको नीति रहेको बताउनुभयो । प्रम ओलीले बिनाभेदभाव प्राथमिकताका आधारमा सबै नेपालीलाई खोप दिने बताउनुभयो । सरकारले पहिलो अभियान १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

 

मन्त्रालयका प्रवक्ता डा. गौतमले खोप कार्यक्रमअन्र्तगत प्रदेश १ मा एक हजार २५५, प्रदेश २ मा ७२६, बागमती प्रदेशमा दुई हजार ६९४, गण्डकी प्रदेशमा एक हजार ८४३, लुम्बिनी प्रदेशमा ७३३, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार खोप लगाएका व्यक्तिमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन । मन्त्रालयका अनुसार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताललगायतमा खोप अभियान सुरु गरिएको छ । यी अस्पतालमा प्रधानमन्त्री ओली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीका साथै स्वास्थ्य मन्त्रालयका पदाधिकारीले स्थलगत अनुगमन गर्नुभएको थियो ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले कोरोना खोप लगाएपछि निश्चिन्त भएको बताउँदै खोप लगाएर आफू गौरवान्वित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ढुक्क भएर खोप सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नका लागि मैले पहिलो खोप लगाएँ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...