गण्डकी, माघ १९ गते । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित मदन आश्रिम स्मृतिपार्कमा आज बृक्षारोपण कार्यक्रमको आयोजना गरियो । पोखरा महानगरपालिकाको लगभग तीन रोपनी क्षेत्रफलको जग्गामा मानगोट्रीका १० वटा विरुवा रोपिएको हो ।
स्थानीय सकृयतामा विरुवा रोप्ने खाल्टा खनिएको थियो भने आवश्यक पर्ने विरुवा सोही स्थानमा निर्माण गरिएको नेपाल बञ्जिले उपलव्ध गराएको थियो ।
स्थानीय मदन आश्रित टोल विकास संस्थाद्धारा आयोजित सो कार्यक्रममा पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले बृक्षारोपण गर्दै वडाको खानेपानी, शिक्षा, सडक स्वास्थ्य र विद्युतीकरणमा जोड दिंदै आएको बताउनुभयो ।
निर्वाचित जनप्रतिनिधिको साढे तीन बर्षको अवधिमा वडा भित्र ४६ किलोमिटर खानेपानीको पाईप विस्तार तथा ५१ मिलोमिटर सडक निर्माण गरिएको जानकारी दिंदै उहाँले विकास निर्माणमा स्थानीय वासिन्दा सहित तीनै तहका सरकारको साथ र सहयोगको आवश्यकता औल्याउनुभयो ।
महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले वडामा तिब्ररुपमा बढेको वस्ति विस्तारसंगै सिमीत श्रोत र साधानको अधिकतम उपयोग गर्दै समानुपातिक विकासमा जोड दिदै आएको बताउनुभयो ।
महिला सशक्तिकरणका लागि उपमेयरसंग महिला कार्यक्रम सञ्चालन भई रहेको जानकारी दिंदै उहाँले यस कार्यक्रमबाट द्धन्द पीडित एवम् एकल तथा विपन्न महिलाको उत्थानका लागि विभिन्न रोजगारी मूलक कार्यक्रम अघि बढाएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोखरा १७ का अध्यक्ष सुभाष ढुङ्गानाले मदन–आश्रित स्मृति पार्कको विकाससंगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पार्कमा आवश्यक पूर्वाधार निर्माणका लागि सवै क्षेत्र सहयोग आवश्यक रहने बताउनुभयो ।
टोल विकास संस्थाका अध्यक्ष जाङमु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्णध्वज थकाली, सचिव मुना श्रेष्ठ र कोषाध्यक्ष तारादेवी सुवेदी लगायतले महानगरको सुगम स्थानमा भएपनि यस क्षेत्रका वासिन्दा खानेपानी, सडक र विद्युत जस्ता आधारभूत आवश्यकताबाट समेत बञ्चित रहेको दुःख व्यक्त गर्नुभयो ।