काठमाडौँ, फागुन २७ गते । फाल्गुण कृष्ण चतुर्दशीका दिन बिहीबार पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व मनाइँदैछ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि नै रहेकाले यो समयपछि शिवको आराधना गर्दा उत्तम हुनेछ ।
सामान्य आराधना र स्तुतिबाटै छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यो दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुन्छ भनिन्छ । आकार निराकार दुवै तवरबाट शिवको आराधना गर्नसकिने पूज्य देवताका रूपमा शिवलाई लिइन्छ । बडादशैँ अघिको कालरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र यो महाशिवरात्रिको धार्मिक शास्त्रमा उच्चताका साथ महìव दर्शाइएको छ । रुद्र स्वभाव हुँदा जाडोमा जगत् रुवाउँदै रुखका पतझर उजाड गरेका शिवले महाशिवरात्रिमा पालुवा लागेर जगत्को कल्याण गरेको हुँदा यो पर्व धूमधामका साथ मनाउन थालिएको हो भनिन्छ ।
शिवलाई मनपर्ने पञ्चामृत, बेलपत्र, गाँजा, भाङ, धतुरो अर्पण गरेर खुसी पार्ने प्रयास भक्तजनबाट हुन्छ । धार्मिक आस्थामा यसो भए पनि आयुर्वेद क्षेत्रमा यी पदार्थलाई पाचन प्रणाली सन्तुलन, ज्वरो नासक, पेटमा कृत्रिम रोग निवारण लगायतका औषधीय महìव रहेको बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. अञ्जु कार्की बताउनुहुन्छ ।नौलोगाउँ बझाङ, कैलाशमाडौँ बाजुरा, नर्वदेश्वर ओखलढुङ्गा, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्त लिङ्गेश्वर, काठमाडौँ डिल्लीबजारको वसन्तेश्वर, जयवागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गारेश्वरलगायतका शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ ।
पशुपति परिसरको पिण्डेश्वरमा अखण्ड दीपसहित सवा लाख बेलपत्र र पञ्चामृत पूजा आयोजना भएको नाथका कोटवाल पूर्णनारायण जोशी बताउनुहुन्छ ।पशुपतिनाथमा चारै प्रहर अतिरुद्री, महादीप प्रज्वलन, अखण्ड दीपसहितको दीपोत्सव, लाख बेलपत्र र प्रशस्त पञ्चामृतद्वारा पशुपतिनाथको पूजा गर्ने तयारी भएको छ ।