काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय राष्ट्रिय कार्यकर्ता भेला शुरू भएको छ । वरिष्ठ नेता झलनाथ खनालले भेलाको अध्यक्षता गरेका छन् ।ललितपुरको सानेपास्थित हेरिटेज ब्यांक्वेटमा आज र भोलि भेलाको आयोजना गरिएको हो ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । उनले पार्टीमा गुटबन्दी नै ओलीले शुरू गरेको दाबी गरे ।
भेलामा बोल्दै खनालले भने, ‘ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशब्यापी गुटबन्दी शुरू गरेका हुन् । उनको गतिविधिले पार्टीमा विधि, पद्दति, अनुशासन तोडियो र अराजकता पैदा भयो । वैचारिक काम शून्य हुन थाल्यो । पार्टी दक्षिणपन्थी भासतर्फ गयो ।’
नेकपा एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीको असन्तुष्ट समूहले आज आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी हुन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई आग्रह गरेकी छन् ।
उनले यो गुट भेला नभएको भन्दै उपस्थित कार्यकर्ताहरुलाई ढुक्कले बस्न आग्रह गरिन् ।कार्यकर्ता भेलामा बोल्दै शाक्यले भनिन्, ‘यो गुटको भेला होइन, पार्टीको भेला हो ।
हामी एमालेलाई बलियो र सुदृढ र एकीकृत बनाउन चाहन्छौं । देशको रुपान्तरणको नेतृत्व गर्न चाहन्छौं । यस्तो भेलामा आउन डराउनुपर्ने ? त्यस्तो खालको धम्की सहनुपर्ने ? म घोर निन्दा गर्न चाहन्छु ।’