पोखरा, चैत १२ गते । पोखरामा सम्पन्न राजन प्रिजेन्टस् ‘प्रथम खुल्ला फुटसल प्रतियोगिताको उपाधि घरेलु टोली टिम डुङ्गाले जितेको छ ।पोखरा–४ गणेशटोल स्थित स्पोर्टस क्यासलमा बिहिबार भएको फाईनल खेलमा ढुकु फुटसल हब काठमाडौंलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै टिम डुङ्गाले उपाधि सहित नगद ३ लाख रुपियाँ जितेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । डुङ्गाका गोलरक्षक अनिश श्रेष्ठले ट्राईबेकरमा १ गोल बचाउ गरेपछि सर्बाधिक राशीको फुटसल प्रतियोगिताको उपाधिमा आफनो नाम लेखायो । सो खेलबाट श्रेष्ठ म्यान अफ द म्याच घोषित हुदै ५ हजार र ट्रफी प्राप्त गर्नुभयो । उपविजेता बनेको ढुकु फुटसल हब काठमाडौले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ५० हजारमा चित्त बुझायो ।
उक्त प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकको रुपमा डुङ्गाका अनिश श्रेष्ठ घोषित हुदै ट्रफी र नगद ३५ हजार प्राप्त गर्नुभयो । यसैगरी उदीयमान खेलाडीका रुपमा फङ्की बिन्सका अविनाश तामाङ ट्रफी र नगद रु १० हजार सहित पुरस्कृत हुनुभयो । अनुशासित टिमको रुपमा स्पोर्टस् क्यासल पुरस्कृत भयो ।
यसैवीच कार्यक्रमका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजु काजी शाक्यलाई सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले उहाँलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवाल, राखेप सदस्य राजेश गुरुङ, गोकर्ण श्रेष्ठ, डुङ्गा रेष्ट्रो एण्ड लाउन्ज बारका सञ्चालक राजेश गुरुङ, पूर्व राष्ट्रिय खेलाडी राजु काजी शाक्य, राजन गुरुङ, ङोय तमुधिका निवर्तमान अध्यक्ष जंग बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो । सदस्यसचिव सिलवालले स्वस्थ्य रहन खेलकुदको भुमिका महत्वपूण रहने बताउनुभयो । उहाँले पोखरामा फुटबलको विकास भैरहेको बताउदै पुरुष सहित महिला फुटसल÷ फुटबल प्रतियोगिता आयोजना गर्न समेत सुझाव दिनुभयो । सदस्य सचिव सिलवालले कुनै व्यक्ति तथा निजी संस्थाले नेपालै सर्वाधिक ठुलो उपाधि राशिको प्रतियोगिता आयोजना गरिनु उदाहरणीय कार्य रहेको उल्लेख गर्दै अरुले पनि अनुकरण गर्नुपर्ने धारणा राख्नुभयो । प्रतियोगितामा देशभरका कुल २७ टिमको सहभागिता रहेको थियो ।