गण्डकी, १५ असोज/ बुढ्यौली उमेरका कारण घरको पट्यार लाग्दो बसाईमा टोल समाजमा सञ्चालित जेष्ठ नागरिक सेवा केन्द्रहरु जेष्ठ नागरिकका लागि बरदान सावित बन्दै गएको छन् ।परिवारका सदस्यको सेवा, पेशा र रोजगारीका कारण दिनभर एक्लै समय बिताउदा हुने अत्यार लाग्दो अवस्थालाई जेष्ठ नागरिक सेवा केन्द्रले भगाईदिएको छ ।
त्यस्तै सेवा केन्द्र मध्येको पोखरा महानगरपालिका वडा नं. १७ विरौटामा सञ्चालित जेष्ठनागरिक बैदिक सनातन (वेदान्त दर्शन) सत्संग स्थल पनि एक हो ।स्थानीय समाजसेवी ७८ बर्षीय टोपराज ढुडानाको विशेष पहल एवम् समुदायको आर्थिक सहयोगले हालै सञ्चालनमा आएको केन्द्रमा अहिले दैनिक ३० देखि ३५ जना जेष्ठ नागरिक जम्मा हुने गरेका छन् ।विद्यमान कोरानाको संक्रमणको कारण माक्स, सेनिटाईजरको प्रयोगको साथै सामाजिक दुरी पनि कायम गरिएको ढुंगानाले जानकारी दिनुभयो ।बिहान १०.०० बजेदेखि साँझ ५.०० बजेसम्म सञ्चालन हुने केन्द्रमा जेष्ठ नागरिकको मनोरन्जनका लागि भजन कृतन एवम् सत्संग गर्ने गरिएको छ ।
केन्द्रमा पोखरा महानगरका १७ लगायत ६, ७ र २१ नं वडाका आमाबुबा आउने गर्नुभएको छ ।उनीहरुलाई प्रत्येक दिन चिया, खाजाका साथै फलफुल समेत मिलाएर खुवाउने गरिनुका साथै बेलामौका मिलाएर बिभिन्न धार्मिक क्षेत्रको भ्रमण समेत गराउने र सम्मान समेत गरिदै आएको उहाँले जानकारी दिनुभयो ।जेष्ठ नागरिक मञ्च पोखरा १७ का अध्यक्ष समेत रहनु भएका ढुङ्गानाले सो स्थानको सार्वजनिक जग्गामा तीन लाख ७२ हजारको लागतमा आवश्यक सभा हल समेत निर्माण गरि केन्द्र सञ्चालन गरिएको बताउनुभयो ।
भवन निर्माणका लागि राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था(नेष्टो) बाट रु.४० हजार, पूर्वमन्त्री एवम् उद्योगपति हरि पाण्डेबाट रु. ४० हजार, पोखरा १७ का वडासदस्य शान्ता गुरुङबाट रु.३० हजार, समाजसेवी लिलाभक्तबाट १५ हजार ५५५ रुपैया, ज्ञानेन्द्र सुवेदीबाट २१ हजार सहित बिभिन्न १४० जनाले आर्थिक सहयोग गर्नुभएको थियो ।अद्धैत संस्था पोखरा १७ का अध्यक्ष ज्ञानेन्द्र सुवेदीले केन्द्रमा आउने आमाबुबाका लागि दैनिक खाजाको व्यवस्था सहित सरसफाई गर्दै आउनुभएको छ ।
केन्द्रमा आवद्ध जेष्ठ नागरिकलाई भ्रमण एवम् सम्मान गर्नका लागि वडा कार्यालयको सिफारिसमा पोखरा महानगरपालिबाट दुई पटकमा एक लाख ४५ हजार रुपैया प्राप्त भएको जेष्ठ नागरिक मञ्च १७ का उपाध्यक्ष देवीबहादुर थापाले जानकारी दिनुभयो ।दिवा सेवा केन्द्रसँगै जोडिएका दुई वटा कोठामा घरेलु श्रमिक एवम् रोजगारी बालबालिकालाई पठनपाठनको व्यवस्था समेत गरिदै आएको छ ।
मुलुकका गोरखा, वाग्लुङ, चितवन, काभ्रेपलाञ्चोक, रोल्पा, मुगु, रामेछाप लगायतका १० बालिका सहित २५ जना बालबालिका नियमित अध्ययनरत छन् ।पोखरा उद्योग वाणिज्य संघद्धारा सञ्चालित वालश्रम न्यूनिकरण कार्यक्रम अन्तर्गत श्रमिक तथा जोखिममा रहेका बालकालिकालाई अनौपचारिक शिक्षा प्रदान गरि विद्यालय भर्ना गरिएको छ । तीन जना शिक्षीका सहित आवश्यक खर्च संघले व्यहोदै आएकोछ ।