भोजपुर। प्रदेश १ सरकारको लगानीमा भोजपुर सदरमुकामदेखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे सुरु भएको छ। जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको १६ करोड ९२ लाख रुपैयाँ लागतमा कालोपत्रे गर्ने काम सुरु भएको हो।
यसअघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए पनि निरन्तरको वर्षाले काम रोकिएको थियो। मौसममा सुधार आएपछि कामको थालनी भएको हो।
प्रदेश सरकारको महत्त्वपूर्ण योजना भएकोले यसको गुणस्तरमा ध्यान दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए। प्रमुख रेड्डीले भने,‘‘काम गुणस्तरीय बनाउन लागेका छौँ, जिल्लामा पहिलोपटक यो प्रविधिबाट कालोपत्रे थालिएकोले यसमा बढी ध्यान दिएका छौँ।’’
गुणस्तरमा कमी आउन नदिन जिल्ला प्रशासन कार्यालयसँगै अन्य सरोकारवालाले अनुगमन गरिरहेका छन्। अनुगमनका क्रममा काम मापदण्डअनुसारको रहेको पाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए। प्रजिअ पुरीले भने, ‘‘निर्माणका क्रममा आउने विभिन्न समस्या समाधानदेखि अनुगमनको पाटोमा हामीले विशेष ध्यान दिएका छौँ, हामीले हेर्दा सडकको गुणस्तर राम्रो नै छ।’’
काम गर्ने क्रममा कुनै यन्त्र उपकरणको समस्या नआएमा तथा मौसम राम्रो भएमा यो महिनामा काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ। कालोपत्रेको काम सुरु गरेको भए पनि स्थानीय सरकार तथा सरोकारवालाले ट्रयाक्टर लगायतका ढुवानीका साधन सञ्चालनमा रोक लगाउँदा भने काममा केही बाधा पुगेको कम्पनीको गुनासो छ।
मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले भने,‘‘तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने लक्ष्यसाथ काम गरेको हो, वर्षातले कालोपत्रे गर्न सकिएन तर पनि छिट्टै सक्ने लक्ष्य छ।’’ रायामाझी-जगदम्बा-मार्सेली जेभीले निर्माण गरिरहेको यो सडकको लम्वाई पाँच किलोमिटर रहेको छ।