सुकेका मुहानहरुलाई पुनः जीवित गर्न रिचार्ज पाेखरी

धनकुटा, फागुन ८ गते । खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनः जीवित गर्न धनकुटाको दुई स्थानीय तहमा वर्षाकाे पानी जम्मा गर्ने रिचार्ज पाेखरी बनाउन शुरु गरिएको छ ।

मौसम सेवा प्रणाली स्थापनाका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोग तथा गैरसकारी संस्था हुसाडेक नेपाल धनकुटाको सहकार्यमा धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा रिचार्ज पोखरी निर्माण सुरु गरिएको हो ।

 

जलाधार र मुलाधार क्षेत्रलाई रिचार्ज गर्न लक्षित गरी धनकुटा नगरपालिकाका १० वडामध्ये आठ र छथर गाउँपालिकाको छमध्ये दुई वडामा रिचार्ज पोखरी निर्माण भइरहेको हुसाडेकका अध्यक्ष सरोज भुजेलले जानकारी दिनुभयो । गत वर्षबाट पाँच वर्षमा सक्ने गरी शुरु गरिएको उक्त कार्यक्रम अन्तर्गत हालसम्म धनकुटा नगरपालिकामा २२ वटा र छथर जोपाटीमा ५८ वटा रिचार्ज पोखरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

 

“नयाँ रिचार्ज पोखरी निर्माण तथा पुराना पोखरी पुनःनिर्माण कार्यक्रमले सुक्दै गएका पानीका मुहानमा पानीको वृद्धि भइहेको छ”, भुजेलले भन्नुभयो । यसअघि इसिमोडसँग सम्बन्धित स्थानीय तहका वडाध्यक्षहरुले आफ्नो क्षेत्रमा रहेको सामुदायिक वनसँगको सहकार्यमा रिचार्ज पोखरी बनाउने प्रतिबद्धता जनाएका थिए । जसअनुसार छथर जोरपाटी गाउँपालिकामा गत वर्षबाट पोखरी निर्माण सुरु भएको र धनकुटा नगरपालिकामा यस वर्षबाट वडा नम्बर १ मा काम शुरु गरिएको भुजेलले जानकारी दिनुभयो ।

 

वडाले धनकुटा बजार र हिले बजारलाई ल्याइएको खानेपानी जलाधार तथा मुलाधार रहेको राना टोल क्षेत्रमा १७ वटा रिर्चाज पोखरी निर्माण गरिएको वडाध्यक्ष वङ्द तामाङले जानकारी दिनुभयो । आफूहरुलाई इसिमोडले भारतको सिक्किम भ्रमण लगेर रिचार्ज पोखरीको माध्यमबाट खानेपानी मुहानहरु जीवित भएको देखाएपछि यो काम गर्न आफू उत्साहित भएको तामाङले बताउनुभयो ।

 

चालु आर्थिक वर्षमा वडाको जलाधार तथा मुलाधार क्षेत्रमा ७० देखि एक सय वटासम्म रिचार्ज पोखरी निर्माण गरिने उहाँले जानकारी दिनुभयो । खानेपनी तथा मुलपानी संरक्षणका लागि तोकिएका सबै वडाहरुमा पनि रिचार्ज पोखरीको कार्यक्रमलाई निरन्तरता दिइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । रासस  

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...