पोउवा संघका अध्यक्ष अधिकारीलाई कोरोना पुष्टि,सुरक्षित रहँदै व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह

पोखरा,१६ कार्तिक । पोखरा उद्योग  वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्योगी÷व्यवसायीहरुलाई  आफू सुरक्षित रहन तथा सुरक्षाका प्रबन्धसहित व्यवसाय संचालन गर्न  आग्रह गर्नुभएको छ ।आफैलाई कोरोना ( कोभिड–१९) संक्रमण पुष्टि भएलगत्तै अध्यक्ष अधिकारीले बढ्दो संक्रमणले निम्त्याएको जोखिमबाट बच्नु नै अहिलेको पहिलो आवश्यकता भएकोमा जोडसमेत दिनुभएको छ । नेपाल रेडक्रम सोसाइटीका  महामन्त्री तथा सहोदर दाजु धर्मराज अधिकारीलाई संक्रमण पुष्टिसँगै कन्ट्रयाक्ट टे«सिङमा पर्नुभएका अध्यक्ष अधिकारीलाई पनि संक्रमणले छोएको हो । अध्यक्ष अधिकारीसहित परिवारका अन्य सदस्यहरुमा पनि संक्रमण पुष्टि भएको छ । उहाँहरु सबैको अवस्था सामान्य छ र घरमै स्वास्थ्यलाभ गरिरहनु भएको छ ।


‘जोखिमबारे जानकार हुँदाहुँदै पनि म स्वयं र हाम्रो परिवार संक्रमणमा परेको छ’,अध्यक्ष अधिकारीले टेलिफोनमा भन्नुभयो,‘ मान्छेको जीवनभन्दा ठूलो केही हुँदैन, त्यसैले व्यापार÷व्यवसाय  गर्दा स्वास्थ्य  सुरक्षाका मापदण्ड पूरा गर्न तथा आफू सुरक्षित रहन म संघका सदस्य तथा आम व्यवसायीहरुसँग हार्दिक अनुरोध गर्दछु ।’ उहाँले दशैं भर्खर सकिएको र अर्को ठूलो चाड तिहार आउँदै गरेको सन्दर्भमा उल्लेख गर्दै महामारीको जोखिमलाई नजरअन्दाज नगर्न सर्वसाधारणलाई पनि आग्रह गर्नुभयो ।


अध्यक्ष अधिकारीले समुदायमा फैलिएको संक्रमण तथा स्वास्थ्यका पूर्वाधारहरु अपुग भएको अवस्थाको गार्भीर्यताप्रति गम्भीर बन्न स्थानीय,  प्रदेश तथा संघीय सरकारसँग अपील  गर्नुभएको छ ।‘कोरोनाको ओखती बनेको छैन,सामाजिक दूरी कायम  गर्नु  नागरिकको कर्तव्य हो भने स्वास्थ्यका पूर्वाधारको जोहो र पीसीआर परीक्षणको दायरा बढाउनु सरकारको जिम्मेवारी हो’, उहाँले भन्नुभयो,‘ सरकार आफ्नो जिम्मेवारीप्रति गम्भीर  बन्नैपर्छ, नागरिकको ज्यानको सुरक्षा गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार अझ सक्रिया होस् भन्ने निजी क्षेत्रको माग हो ।’ उहाँले लकडाउन र निषेधाज्ञाका कारण थला परेको निजी क्षेत्रका समस्याप्रति गम्भीर बन्दै घोषित राहतका कार्यक्रमहरु तत्काल लागु गर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराउनु भयो ।  

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...