गोरखा। हिमाली जिल्ला गोरखाको उत्तरी क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को खाता बन्द गर्दै आफ्नो वित्तीय प्रगति सार्वजनिक गरेको छ। दुर्गम भूगोल, सडक पहुँचको अभाव र निर्माण सामग्री मानव श्रमबाट बोक्नुपर्ने चुनौतीका बाबजुद गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्नुका साथै चालू खर्चभन्दा पुँजीगत खर्च बढी गर्न सफल भएको जनाएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार पुँजीगततर्फ रु. १९ करोड ३१ लाख ४० हजार विनियोजन भएकामा रु. १४ करोड १६ लाख ६६ हजार ३६३ खर्च भएको छ, जुन ७३.३४ प्रतिशत हो। चालूतर्फ रु. २८ करोड ३८ लाख २८ हजार विनियोजनमध्ये रु. २० करोड ६२ लाख ७ हजार २६५ खर्च भएको छ, जुन ७२.६५ प्रतिशत हो। कुल रु. ४७ करोड ६९ लाख ६८ हजार बजेटमध्ये रु. ३४ करोड ७८ लाख ७३ हजार ६२८ खर्च भई समग्र वित्तीय प्रगति ७२.९३ प्रतिशत पुगेको छ।
राजस्व संकलनतर्फ गाउँपालिकाले आन्तरिक राजस्वको वार्षिक लक्ष्य रु. १ करोड ५६ लाख ६८ हजार राखेकामा रु. २ करोड १८ लाख ३० हजार ३७७ संकलन गरेको छ, जुन लक्ष्यको १३९.३२ प्रतिशत हो। त्यसैगरी विभागीय कोष (दहत्तर–बहत्तर) अन्तर्गत रु. २ लाख लक्ष्य राखिएकामा रु. ३५ लाख ४७ हजार ६० रुपैयाँ संकलन भएको छ, जुन १,७७३.५३ प्रतिशत हो।
गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, विकास साझेदार, सञ्चारकर्मी, नागरिक समाज, सुरक्षा निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले दुर्गम हिमाली भूगोल, सडक पहुँचको अभाव, निर्माण सामग्री ढुवानीमा कठिनाइ तथा केही आयोजनामा वातावरणीय प्रभाव मूल्याङ्कन (IEE) स्वीकृतिमा ढिलाइ भएका कारण केही आयोजना प्रभावित भए पनि गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन र सन्तोषजनक वित्तीय प्रगति हासिल गरेको बताए।
आगामी आर्थिक वर्षमा सुशासन, पारदर्शिता, सेवा प्रवाह र विकास निर्माणलाई अझ प्रभावकारी बनाउँदै वित्तीय अनुशासन कायम राखिने उनले बताए।