एकराज गिरी/पोखरा । गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले पदभार ग्रहण गरेको सय दिन पूरा भएको अवसरमा मन्त्रालयले गरेका प्रमुख उपलब्धि सार्वजनिक गरेका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले कृषि, पशुपन्छी, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको सुधार, किसानमुखी कार्यक्रम, कानुनी सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले उल्लेखनीय काम गरेको बताए।

मन्त्री कार्कीले आफू २०८३ वैशाख २ गते मन्त्री नियुक्त हुँदा आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको र अघिल्लो आर्थिक वर्षका कार्यक्रम कार्यान्वयनको व्यस्त समय भएकाले छोटो अवधिमै नीति निर्माण, बजेट तर्जुमा र कार्यक्रम कार्यान्वयनलाई प्राथमिकतामा राखिएको बताए।
उनले मन्त्रालयले सय दिनमा रिटर्न टु भिलेज (Return to Village) कार्यक्रमका लागि २ करोड रुपैयाँ, कृषि एम्बुलेन्स सेवा सञ्चालनका लागि १ करोड रुपैयाँ, रासायनिक मल व्यवस्थापन तथा जैविक मल उत्पादन प्रोत्साहनका लागि २ करोड ६० लाख रुपैयाँ, प्राकृतिक प्रकोपबाट प्रभावित किसानका लागि राहत कोषमा १ करोड ५१ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
यस्तै, न्यूनतम समर्थन मूल्य कार्यक्रमका लागि १ करोड रुपैयाँ, सार्वजनिक–निजी–सामुदायिक साझेदारी (PPP) मा आधारित कृषि तथा पशुपन्छी उत्पादन कार्यक्रमका लागि २ करोड ५० लाख रुपैयाँ, कृषि तथा पशुपन्छी बीमा कार्यक्रमका लागि १३ करोड १० लाख रुपैयाँ तथा उत्कृष्ट किसान सम्मान तथा पुरस्कार कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री कार्कीले बताए।
उनका अनुसार प्रदेशबाटै जीवनाशक विषादी विक्रेताको अनुमति तथा नवीकरण प्रणाली सुरु गरिएको छ भने Paperless प्रणाली कार्यान्वयनको प्रक्रिया पनि अघि बढाइएको छ। साथै खाद्य अधिकार तथा गुणस्तर सम्बन्धी विधेयकको मस्यौदा तयार गरी प्रदेश सभामा पेस गरिएको र भूमि नीतिको मस्यौदा पनि तयार गरिएको छ।
कृषि उत्पादन वृद्धि र आयात प्रतिस्थापनका लागि प्रशोधनयोग्य तथा खाने आलु उत्पादन कार्यक्रममा ५ करोड ४२ लाख रुपैयाँ, खाद्यान्न बाली उत्पादन प्रवर्द्धन कार्यक्रममा ५ करोड ५८ लाख रुपैयाँ, फलफूल विकास कार्यक्रममा ५ करोड रुपैयाँ, NAFHA परियोजनामार्फत फलफूल खेती विस्तारका लागि ८ करोड ३० लाख रुपैयाँ तथा गण्डकी SHEP परियोजनामार्फत बजारमुखी कृषि प्रवर्द्धनका लागि ३५ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिइयो।
त्यस्तै, कृषि एप तथा डिजिटल सेवा प्रवाहका लागि १० लाख रुपैयाँ, दुग्ध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत ११ हजार २३२ किसानलाई ५ करोड ५८ लाख रुपैयाँ उपलब्ध गराइएको, १८ वटा दुग्ध चिस्यान केन्द्र स्थापनाबाट करिब ७ हजार ५ सय किसान लाभान्वित भएको तथा पूर्ण खोपयुक्त पालिका अभियानलाई निरन्तरता दिइएको मन्त्री कार्कीले जानकारी दिए।
मन्त्री कार्कीले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै गण्डकी प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको उल्लेख गरे।
पत्रकार सम्मेलनमा मन्त्रालयकी सचिव प्रेरणा सेढाइ भट्टराईले मन्त्री भीमबहादुर कार्कीको पहलमा किसानमुखी कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको बताइन्। उनले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन केन्द्र सरकारसँग निरन्तर समन्वय गरिएको उल्लेख गर्दै त्यसको परिणामस्वरूप मल आपूर्तिमा सहजता ल्याउने प्रयास भएको जानकारी दिइन्। साथै किसानलाई थप हौसला प्रदान गर्ने उद्देश्यले उत्कृष्ट किसानलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गर्ने कार्यक्रम चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताइन्।
कृषि उत्पादन वृद्धि, व्यवसायीकरण, बजारीकरण तथा किसानको आय अभिवृद्धिलाई केन्द्रमा राखी विभिन्न नवीन तथा उत्पादनमुखी कार्यक्रमहरू पनि मन्त्री कार्कीकै पहलमा बजेटमा समेटिएको उनको दाबी थियो।
मन्त्रालयले आगामी दिनमा पनि किसानको हितलाई केन्द्रमा राखेर उत्पादन वृद्धि, आत्मनिर्भर कृषि प्रणालीको विकास तथा आयात प्रतिस्थापनमा टेवा पुग्ने कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरिन ।

