प्रमुख प्रशिक्षक पदका चाैध जनाकाे अन्तर्वार्ता सकियो

काठमाडौं, कात्तिक ३० गते । नेपाल क्रिकेट संघ(क्यान)ले प्रमुख प्रशिक्षक पदका लागि १४ जना उम्मेदवारको अन्तवार्ता टुंग्याएको छ । अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी)ले प्रमुख प्रशिक्षक पदका लागि छोट्याएको सूची प्राप्त हुनासाथ क्यानले अन्तवार्ता सञ्चालन गरेको थियो । शनिबार प्रमुख प्रशिक्षकका उम्मेदवारहरुको अनलाइनबाटै अन्तवार्ता लिइएको छ ।


क्यानका महासचिब अशोकनाथ प्याकुरेलले आईसीसीबाट प्राप्त सूचीका १४ जनाको अन्तर्वाता सकिएको जानकारी दिनुभयो । नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षकका साथै पदपूर्तिका अन्य सदस्यहरुका लागि चार सदस्यीय समिति गठन गरेको छ ।क्यान स्रोतका अनुसार अन्तवार्ता सञ्चालन गरिएकोमा तीन तीन जना पाकिस्तान र भारतका, एक जना श्रीलङ्काका, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अष्ट्रेलियाका छन् । भारतबाट मुकुन्द प्रमाणी र चेतन शर्मा हुनुहुन्छ । भारतीय क्रिकेट टोलिका सदस्य समेत रहिसक्नुभएका शर्मा क्रिकेट विश्लेषक हुनुहुन्छ । दक्षिण अफ्रिकाका लान्स क्लुजनरले समेत नेपालको प्रमुख प्रशिक्षक पदका लागि आवेदन दिनुभएको छ । क्लुजनर दक्षिण अफ्रिकी क्रिकेट टोलिका पूर्ब अलराउण्डर हुनुहुन्छ ।

 

यसअघि नेपाल क्रिकेट संघका प्रशिक्षकको जिम्मेवारी सम्हालिसक्नुभएका श्रीलङ्काका पुबुदु दसानायके पुनः प्रशिक्षक नियुक्त हुन इच्छा ब्यक्त गर्नुभएको छ । उहाँले समेत आवेदन दिनुभएको छ ।अध्यक्ष चतुरबहादुर चन्द, महासचिब प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह र दिपेन्द्र चौधरी उक्त समितिमा हुनुहुन्छ । तीन जना क्यानका पदाधिकारी र अर्का एकजना पूर्ब खेलाडीबाट पदपूर्ति समितिमा राखिएको महासचिब प्याकुरेलले जानकारी दिनुभयो । चौधरी राष्ट्रिय टोलिका पूर्ब खेलाडी हुनुहुन्छ ।

 

क्यानको प्रमुख प्रशिक्षक पद करीब एक वर्ष देखि रिक्त रहेको छ । गत् माघ महिनामा उमेश पटवालले प्रमुख प्रशिक्षक पदबाट राजिनामा गरेपछि उक्त पद रिक्त रहँदै आएको छ । गत् असोजमा नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षक, महाप्रबन्धकसहितका पदका लागि विज्ञापन गरेको थियो ।
प्रमुख प्रशिक्षक पदका लागि करीब ७२ वटा आवेदन परेको थियो । क्यानले प्रमुख प्रशिक्षकका लागि परेको आवेदनको संक्षिप्त सूची बनाउन आईसीसीलाई पठाएको थियो । आईसीसीले गत् साता १४ जनाको संक्षिप्त सूची पठाएको महासचिब प्याकुरेलले बताउनुभयो । संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको अनलाइनबाटै अन्तवार्ता गरिएको महासचिब प्याकुरेलले बताउनुभयो ।उहाँले भन्नुभयो, “संक्षिप्त सूचीमा परेका सबैजना खेलाडी र क्रिकेट संस्कृतिमै हुर्केकाहरु ह्ुन्, कोही काउन्टी क्रिकेटबाट आएका छन्, कोही आ आफ्ना राष्ट्रमा ए लेभलका टोलिका छन् ।”

 

आईसीसीले केही दिनभित्रै १४ जनाको सूचीलाई अझै छोट्याएर तीन जनामा संक्षेपीकरण गरेर क्यानलाई पठाउनेछ । क्यानले उक्त तीन जनाको पुन अन्तवार्ता गरेर पठाएको नामलाई आईसीसीले अनुमोदन गर्नेछ । संक्षिप्त सूचीमा पाकिस्तान, भारत, बेलायत र अष्ट्रेलिया लगायतका राष्ट्र«का छन् ।
प्रमुख प्रशिक्षक पदका लागि क्यानले पदपूर्ति विज्ञापन गर्दा सीए लेभलको योग्यता हुनुपर्ने, तीन वर्ष व्यवसायिक प्रशिक्षणको अनुभव भएको मापदण्ड तोकेको छ । जस अन्तगर्त आईसीसीको पूर्ण सदस्य, पहिलो श्रेणिको टोलि, एशोसिएट सदस्य, राष्ट्रिय टोलि वा अन्तर्राष्ट्रिय लिगको अनुभव लिएको हुनुपर्नेछ । ६० वर्ष उमेर हद तोकिएको प्रशिक्षकका उम्मेदवारले एशोसिएट राष्ट्रको एकदिवसीय चक्रबारे जानकार हुनुपर्ने र क्रिकेट संस्कृतिको ज्ञान हुनुपर्ने मापदण्ड तोकिएको छ ।आईसीसीबाट आउने नामलाई क्यानको बैठकले नियुक्तिका लागि राष्ट्रिय खेलकुद परिषद् समक्ष सिफारिश गर्नेछ । क्रिकेट प्रशिक्षकलाई एक वर्षको लागि अनुबन्धन गरिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...