उद्योग वाणिज्य महासङ्घको साधारण सभा आजदेखि

काठमाडौँ, मङ्सिर ११ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा बिहीबारदेखि सुरु हुँदै छ । गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित हुँदै आजदेखि सुरु हुन लागेको हो ।


कोरोना सङ्क्रमणकै जोखिमका कारण साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम यसपटक अभौतिक रूपमा सम्पन्न गर्न लागिएको छ भने निर्वाचन कार्यक्रम आगामी शनिबार राजधानीमै गर्न लागिएको छ ।


महासङ्घको वैधानिक प्रावधान अनुरूप यो साधारण सभाले महासङ्घको अध्यक्षता वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गर्नेछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष कार्यकालपछि स्वतः महासङ्घको अध्यक्ष बन्छन् ।


भर्चुअल रूपमा हुने साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्ने कार्यक्रम रहेको महासङ्घ सचिवालयले जनाएको छ ।
बन्दसत्रको कार्यक्रम शुक्रबार पनि अभौतिक रूपमै हुनेछ । बन्दसत्रमा महासङ्घको आर्थिकलगायत विभिन्न प्रतिवेदन पेस गर्ने र पास गर्ने कार्यक्रमसहित निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले नीतिगत मन्तव्यसमेत राख्ने छन् ।


निर्वाचनको कार्यक्रम भने शनिबार तीन स्थानमा राखिएको छ । सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगर समूहको मतदान हुनेछ भने बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको मतदान केन्द्र राखिएको छ । वस्तुगततर्पmको मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ ।


महासङ्घको नयाँ पदाधिकारीका लागि वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिनुभएको छ । दुवै उम्मेदवारले यसपटक पूरै प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको छ । ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, एसोसिएटमा रामचन्द्र सङ्घई र वस्तुगतमा उमेशलाल श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । उता प्रधान समूहबाट जिल्ला नगरमा दिनेश श्रेष्ठ, एसोसिएटमा सौरभ ज्योति र वस्तुगतमा अन्जन श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।


ढकाल समूहले जिल्ला, नगर र एसोसिएटतर्पmबाट अत्यधिक मत आउने आकलन गरिरहेको छ भने प्रधान समूहले आफ्नो पक्षमा रहनुभएका केही पूर्वअध्यक्षको साथका आधारमा समग्र मत पाउने अपेक्षा राखेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...