पोखरा, माघ २२ गते । पोखरामा फागुन पहिलो साता बक्स क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छे क्रिकेट एकेडेमीको आयोजनामा फागुन ४ गतेसम्म आयोजना हुने भएको हो । पोखराको लेखनाथस्थित तालचोकमा आयोजना हुने प्रतियोगितामा १६ टिमले सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ ।प्रतियोगिता आयोजक प्रमुख अरुण पौडेलले विजेताले ३२ हजार, उपविजेताले १६ हजार ट्रफि प्राप्त गर्ने बताउनुभया ।
बक्स क्रिकेट प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी एवं प्रतियोगिताका ब्राण्ड एम्बास्डर दिपेश खत्रीले जानकारी दिनुभयो । किक्रेटको विकाससंगै खेलाडी उत्पादनका लागि बक्स क्रिकेट प्रतियोगिता गर्न लागेको बताउनुभयो । सानो मैदानमा पनि क्रिकेट गर्न सकिने बताउदै उहाँले भन्नुभयो, ‘बक्स क्रिकेट प्रतियोगिता भारतमा ब्यापक छ तर नेपालाका लागि नयाँ र पहिलो पटक हुदै छ ।’ क्रिकेट खत्रीका अनुसार नेपालमा भैरहेको अहिलेको क्रिकेटको नियम भन्दा केही फरक हुने बताउनुभयो । बक्स क्रिकेट प्रतियोगितामा छक्कालाई आउट मानिन्छ भने मैदान सानो हुन्छ उहाँले भन्नुभयो, ‘यो प्रतियोगितामा खेल्न ब्याटमात्रै भए पुग्छ ।’
उहाँले नेपाली राष्ट्रिय टिममा ब्याटिङको कमजोरी रहेको बताउदै क्रिकेटको सैद्धान्ति ज्ञानका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । उहाँले टिममा नौ जना खेलाडी हुने र सात जनाले खेल्ने बताउनुभयो । त्यस्तै एउटा टिमले दुई जना जिल्ला खेलाडी समावेश गराउन पाउने प्रावधान रहेको खत्रीले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न १ लाख ५० हजार खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले प्रतियोगिताले खेलाडी उत्पादनमा भुमिका खेल्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन माछापुच्छे क्रिकेट क्लबका सचिव बिवेक चालिसले गर्नुभएको थियो ।