पोखरामा हुने १० किमि दौडको सम्पूर्ण तयारी पुरा

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा चैत १४ गते शनिवार हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पुरा भएको छ ।

१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पुरा भएको मञ्चले जनाएको हो । उक्त दौड अन्तर्गत पुरुष र महिलातर्फ विभिन्न १७ जिल्लाका धावकहरुले नाम दर्ता गराएको मञ्चका द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिएका छन ।

उक्त दौड अन्तर्गत पुरुषतर्फ ४ सय ७५ जना भन्दा वढीले नाम दर्ता गराएका छन भने महिला तर्फ ८० जना रहेका छन । दौडको शुभारम्भ तथा विजयी खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशीले अपर्ण गर्ने कार्यक्रम तय भइ सकेकोको मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङले जनाएका छन ।

उक्त दौड पोखरा रंगशालाबाट शुरु भई, पृथ्वीचोक, मेयर हर्कचोक, मुस्ताङचोक, शहिद चोक, हल्लनचोक, डिहिको पाटन, जरेवर, जिरो किमी, सृजना चोक, शभागृह चोक, न्यूरोड, विपी चोक हुँदै मानवअधिकार चोक (पोखरा ट्रेडमल) पुगेर समापन हुनेछ । दौडको रुटमा पर्ने सम्पूर्ण संघ संस्था तथा आमा समुहहरुलाइ सदाझैं सांस्कृतिक झाँकी र वाजागाजा सहित धावकहरुलाई स्वागत गरिदिन मञ्चले आह्वान गरेको छ । त्यसै गरी सवारी आवगमनका कारण धावकहरुलाई बाधा पग्ने भएकोले सम्पूर्ण यातायत व्यवसायीहरुलाई केही समयका लागि आफ्ना सवारी साधनहरु नचलाउन समेत आग्रह गरेको छ ।

विश्वभर कोभिड १९ का कारण सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दौड कार्यक्रम आयोजना गरिएको मञ्चका आजिवन सदस्य तथा स्वास्थ्य समितीका संयोजक सम्मर बहादुर श्रेष्ठले जनाएका छन । उनले भने–“हामी निकै सजग छौं र स्वास्थ्यका मापदण्ड अपनाएका छौं भने सहभागी खेलाडीहरुलाई समेत यसबारे सचेत गराएका छौं ।” स्वास्थ्य सचेतना सँगै खेलाडी तथा अन्य कार्यक्रममा सहभागीहरुलाई नेलम्वो नेपालले स्वास्थ्यका सामाग्री मास्क र सेनीटाइजरहरु समेत वितरण गर्ने तयारी भइरहेको संयोजक श्रेष्ठले बताए ।

प्रतियोगितामा विजयी महिला र पुरुषतर्फ प्रथम हुनेले समान नगद रु १५–१५ हजार, दोश्रोले १०–१० र तेश्रोले ७–७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरी दौडतर्फ ३०० जना धावकहरुलाई उनीहरुले दौड पुरा गरेको क्रमशंख्याको आधारमा मेडल प्रदान गरिने मञ्चका प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुलीले जनाएका छन ।

स्मरणिय के छ भने १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत गत फागुन १ गते पुरुषतर्फको ४२.१९५ किमी म्याराथन र महिलातर्फको २१ किमी हाफ म्याराथन दौड सम्पन्न भइसकेको छ भने गत फागुन २२ गते महिला पुरुष ह्विल चियर र दृष्टिविहिन दौड समेत सम्पन्न भइसकेको छ । उक्त कार्यक्रम अन्तर्गत २०७८ वैशाख ४ गते छात्र–छात्रातर्फको ५ किमी दौड हुने मञ्चले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...