पोखरा, चैत १४ गते। पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार सम्पन्न पुरुष तथा महिला दौडको उपाधि तिर्थ पुन र महिलातर्फ शसस्त्र प्रहरी बल एपिएफ क्लवकी फूलमती रानाले जित्नुभएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको उक्त दौड अन्तर्गत पुरुषतर्फ भारतिय सेनामा कार्यरत तिर्थ पुनले ३३ मिनेट ३३.०८ सेकेण्डमा दौड पुरा गर्दै उपाधि सहित नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पार्नुभयो ।
त्यसै गरी पुरुष तर्फ नै नेपाली सेनाका जितेन्द्र दनुवार दोश्रो हुनुभयो । उहाँले उक्त दौड ३४ मिनेट ०७.०३ सेकेण्डमा दुरी पुरा गर्दै नगद १० हजार जित्नुभयो । काठमाडौका शिव बहादुर रायमाझीले ३४ मिनेट २२.०५ सेकेण्डमा दुरी पार गर्दै तेश्रो हुदै नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
महिलातर्फको दौडको उपाधि शसस्त्र प्रहरीकी फूलमती रानाले ८३ जना प्रतिष्पर्धीलाई उछिन्दै उपाधि हात पार्नुभयो । उहाँले उक्त दौड ४० मिनेट ५२.०२ सेकेण्डमा पुरा गर्दै नगद १५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभयो । उक्त दौडतर्फ धरानकी छेन्वी राईले ४२ मिनेट ०१.०६ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुदै नगद १० हजार हात पार्नुभयो । एपिएफकी आशा रावतले ४३ मिनेट ५२.०३ सेकेण्डमा दुरी पार गर्दै तेश्रो बन्दै नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
विजेता खेलाडीहरुलाई पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेका उपाध्यक्ष करम गुरुङ, मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट लगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गर्नुभयो ।प्रतियोगितामा १० किमि दौडमा सहभागी जेष्ठ नागरिक ७४ वर्षिय टंक बहादुर श्रेष्ठलाई उहाँको हौसलाको कदर गदै पोखरा महानगरका प्रमुख जिशीले नगद १० हजार प्रदान गर्ने घोषणा गनुभयो ।
प्रतियोगितामा विभिन्न १७ जिल्लाका पुरुषतर्फ ४ सय ३९ र महिलातर्फ ८३ जना धावकले सहभागिता जनाएका थिए । पोखरा म्याराथन अन्तर्गत आगामी वैशाख ४ गते ५ किमी छात्र–छात्रा दौड हुने भएको मञ्चले जनाएको छ ।