नेपालगंजमा पोखरा प्रबर्द्धन अभियान

नेपालगंज, २१ फागुन । पश्चिमान्चल होटल संघ पोखराको आयोजनामा आन्तरिक पर्यटन पुन:उत्थान तथा पर्यटन प्रवर्द्धन अभियान शुक्रबार बाँकेको नेपालगंजबाट सुरु भएको छ ।
कोभिड- १९ का कारण थला परेको पर्यटनलाई पुनर्जिवन दिन यो अभियान सुरु गरिएको संघले जनाएको छ । पूर्वी नेपालका विभिन्न शहरमा झण्डै तीन महिना अघि यस्तो अभियान संचालन गरिएकोमा त्यसैको दोश्रो संस्करणको रुपमा पश्चिम नेपालमा पनि अभियानलाई निरन्तरता दिईएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । नेपालगंजका अतिरिक्त बर्दिया, कंचनपुर र धनगढीमा पनि अभियानका कार्यक्रम हुने छन् । छलफल, अन्तरक्रिया र पत्रकार सम्मेलन अभियान अन्तरगत संचालन हुने संघले जनाएको छ ।
नेपालगंजमा आयोजित कार्यक्रममा बोल्दै क्षेत्रीय होटल संघ नेपालगंजका अध्यक्ष आतिष सम्शेर राणाले कोभिड १९ का कारण होटल क्षेत्र ठूलो मारमा परेको स्मरण गराए । समस्याका वापजूद ब्यबसाय अगाडि बढाउनुको विकल्प नभएको उनले बताए। यस्तो अवस्थामा पर्यटकलाई मुक्तिनाथ पुर्‍याउने प्याकेज पोखरा र नेपालगंजका ब्यबसायीले संयुक्त रुपमा संचालन गर्न सकिने प्रस्ताव पनि राणाले राखे ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपालगंज-पोखरा ७ फागुनदेखी आरम्भ भएको चारटर्ड उडानलाई निरन्तरता दिने तर्फ सम्बन्धित सबैले ध्यान दिनु पर्ने भनाई राखे । पर्यटन प्रबर्द्धन मंच बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले दुई शहर विच सुरु भएको हवाई सेवाले सकारात्मक सन्देश दिएको भन्दै यी शहरका व्यवसायी आपसी लाभका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए ।सो अवसरमा बोल्दै पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष तुलाचनले पोखराको पर्यटकीय सेवा सुविधामा भारी छुट प्रदान गरिएको बताउँदै अहिले पोखरा घुम्ने उपयुक्त अवसर भएको बताए । सिमा नाका खोल्ने र हवाई सेवा दिगो बनाउनेतर्फ सरकार निजी क्षेत्र मिलेर अगाडि बढ्नु पर्ने उनले भनाई राखे ।
पश्चिमान्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष एबं होटल संघ नेपालका सदस्य भरतराज पराजुलीले १९ वर्ष अघि सुरु भएको जाउँ है पोखरा अभियानले आन्तरिक पर्यटन प्रबर्द्धनमा सकारात्मक प्रभाव परेको बताए । पर्यटनमा कनेक्टिभिटी महत्वपूर्ण हुने भन्दै पोखरा र नेपालगंज विचको हवाई सेवा दिगो बनाउनेतर्फ ध्यान दिनु पर्ने बताए ।कार्यक्रममा नेपालगंज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर, पत्रकार झलक गैह्रे, ब्यवसायी चिरन्जिवी ओली लगायतले भनाई राखेका थिए । कार्यक्रमको संचालन पश्चिमान्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले गरेका थिए ।
कोभिड १९ का कारण बन्द गरिएको नेपाल-भारत सिमा नाका खुलेमा पोखरा नेपालगंज हवाई सेवा दिगो हुन मद्दत पुग्ने सो अवसरमा व्यवसायीले बताएका थिए । नेपालगंज स्थित बुद्ध एयरका विनित शाहले सिमा खुले अप्रिल १ तारिखबाट सो एयरलाइन्सले पनि पोखरा नेपालगंज दैनिक उडान सुरु गर्ने जानकारी दिए ।अहिले सीता एयरले हप्तामा दुई दिन यो रुटमा चारटर्ड उडान गर्दै आएको छ । नाट्टा बाँकेको पहलमा यो सेवा संभव भएको जनाइएको छ । जाउँ है पोखरा अभियानको १४ सदश्यीय टोली सोही विमान सेवाको जहाज मार्फत्  ४५ मिनटमा शुक्रबार नेपालगंज पुगेको हो ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...