प्रचण्डका कमाण्डरहरु ओलीका सारथि बने

काठमाडौं । नेपाली राजनीतिमाथि सिद्धान्त र निष्ठाको भन्दा सत्ता र शक्तिमा चल्ने गरेको आरोप छ । यही आरोपलाई बल पुग्ने गरी नेकपा एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले अहिले आफ्नो राजनीतिक चरित्र देखाइरहेका छन् ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेकपा अदालतको आदेशले खारेज भयो । यसपछि पुनः एमाले र माओवादी केन्द्र अस्तित्व आयो ।

तर, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका माओवादी केन्द्रका नेताहरु आफ्नो घर फर्किएनन् । उनीहरुले मन्त्री पदका लागि एमालेमै रहेर ओलीलाई साथ दिएको माओवादी केन्द्रले आरोप लगाएको छ ।

कुनै बेला एमालेलाई प्रधान सत्रु किटान गरेर उनीहरुका नेताहरुमाथि भौतिक कारबाही गरिँदा माओवादीका कमाण्डर रहेका नेताहरु अहिले ओलीलाई साथ दिन पुगेका हुन् ।

प्रधान सत्रु किटान गरेर एमालेका नेता तथा कार्यकर्तामाथि भौतिक कारबाही गरिँदा प्रचण्ड सुप्रिम कमाण्डर थिए भने रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतका नेताहरु कहिँ न कहीँ कमाण्डरको नेतृत्व सम्हालिरहेका थिए । तर, अहिले उनै कमाण्डरहरुले प्रचण्डसँग राजनीतिक सम्बन्धविच्छेद गरेर ओलीको छहारीमा ओत लाग्न पुगेका छन् ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरी शंकर चौधरीको सांसद पद गुमेको छ भने मन्त्री पद पनि असुरक्षित भएको छ । सांसद पदबाट पदमुक्त भएकाले फेरि उनीहरुले मन्त्रीको सपथ लिनुपर्ने भएको छ ।

राजनीतिक भविष्य सुरक्षित र लाभको पद पाउने आशमा धेरै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु एमालेमा गएका छन् । केन्द्रमात्रै नभएर प्रदेशमा पनि यसले निरन्तरता पायो । प्रदेश १ का टंक अंङबोहाङ, प्रदेश २ का ज्वालाकुमारी साह र रामचन्द्र मण्डल, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मी र सुदूरपश्चिमका झपट बोहोराले प्रदेशसभा सदस्य पद त्यागेर प्रचण्डको साथ छाडेर ओलीको छत्रछायाँमा गएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...