पोखरा, चैत ३० गते । पोखरा महानगरपालिकाको आयोजनामा मेयर साइकल दौड प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली नयाँ वर्षको अवसर २०७८ बैशाख १ गते पोखरामा देशभरका मेयरहरुलाई सहभागी गराउने गरी दौड आयोजना गर्न लागिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिनुभयो । साईकल दौडमा स्थानीय तहका प्रमुखहरुले सहभागीता जनाउने उहाँले जानकारी दिनुभयो । देशभरका ७५३ वटै स्थानीय तहका प्रमुखहरुलाई आमन्त्रण गरेका छौ उहाँले भन्नुभयो,‘कति जना आउनुहुन्छ । हामीले सबैलाई पत्राचार गरेका छौ ।’ गरिएको छ ।

कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँगको सहकार्यमा ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरपालिकाका मेयर जिसीले जानकारी दिनुभयो । ‘स्थानीय तहका प्रमुखहरुले साईकल दौडमा प्रतिस्पर्धा गर्ने छन’ मेयर साईकल दौड प्रतियोगिताका संयोजक दर्शन लामाले भन्नुभयो–‘एकसयजना स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने अनुमान गरेका छौ ।’
साईकल दौड पोखरा महानगरपालिका कार्यालयदेखि शुरु हुने छ । महानरपालिका हुदैं सभागृहचोक–सृजनाचोक–राष्ट्रबैंकचोक हुदैं फेवाताल किनार हल्लनचोकमा पुगेर टुंगिने छ । झण्डै ५ किलोमिटरको दुरी रहने छ । प्रतियोगितामा विजेताले मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । स्थानीय तहका प्रमुखहरुवीच आपसी सद्भाव र भाईचारा अभिबृद्धि गर्न प्रतियोगता आयोजना गरिएको महानगर प्रमुख जिसीको भनाई छ ।प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
यसैवीच महानगरपालिकाले साईकल दौडकै अवसरमा कास्कीबाट १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा साईक्लिङ प्रतिस्पर्धा(डाउनहिल) रजत पदक विजेता जमूना थापालाई सम्मान समेत गर्ने भएको छ । थापालाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरिने कार्यक्रम संयोजक दर्शन लामाले जानकारी दिनुभयो । त्यस्तै सोही दिन पोखराका विभिन्न ठाँउमा साइकल स्र्टयाण्ड समेत राख्ने योजना रहेको बताइएको छ । त्यसका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको बताइएको छ ।