पोखरा, बैशाख ५ गते । पोखरा महानगरपालिकाका विद्यालय तत्काल बन्द नहुने भएका छन् । कोरोना भाइरस संक्रमणका बढदो रहेको र त्यसबाट विद्यार्थी धेरै प्रभावित भएका छन् ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाले आइतबार कास्कीका नीजि विद्यालयका छाता संस्था प्याब्सन र एनप्याब्सन लगायत सरोकारवाला निकायसंग गरेको छलफलमा तत्काल विद्यालय बन्द नगर्ने तर कक्षा आठ बाहेक सम्पूर्ण कक्षाको परिक्षा सक्ने निर्णय भएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुग सहितको बैठकले विद्यालयमा आउने समस्याका आधारमा विद्यालयहरुले बन्द गर्ने वा नगर्ने निर्णय गर्न पाउने तर परिक्षा बैशाखभित्रै सक्नुपर्ने निर्णय भएको महानगर शिक्षा प्रमुख हेम आचार्यले जानकारी दिनुभयो ।
भौतिक अवस्था, स्वस्थ्य मापदण्डलाई ख्याल गर्दै विद्यालयले लिने वार्षिक परीक्षा वैशाखभित्रै लिनुपर्ने निर्णय गरेको हो । जेठ ३ देखि ११ सम्म तोकिएको ८ कक्षाको नगरस्तरीय परीक्षाको मिति पनि हाललाई हेरफेर नगर्ने निर्णय भएको पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आचार्यले जानकारी दिनुभयो । ‘त्यतिबेलासम्मको परिस्थितिलाई आँकलन गरेपछि मात्रै सार्ने नसार्ने निर्णय गर्छौं,’ उहाँले भन्नुभयो । बैठकमा प्याब्सन, एन(प्याब्सन, अभिभावक संघ, नगरस्तरीय परीक्षा समिति लगायतका प्रतिनिधि सहभागी थिए ।
पछिल्लोपल्ट पोखरामा एक दर्जन विद्यालयका ८९ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित जिल्लामा कास्कीलाई वर्गीकरण गरेको र विद्यार्थीहरु उच्च जोखिममा रहेको बताए पनि यहाँका स्थानीय तहले औपचारिक रुपमा विद्यालय बन्दको घोषणा गरेका छैनन् । जिल्ला शिक्षा समन्वय समिति कास्कीले पनि विद्यालय बन्द नगर्ने बताएको छ ।