बागलुङ ।कोरोना संक्रमणका कारण लामो समयदेखि जारी बन्दाबन्दी (लकडाउन) का समयमा आउने स्वास्थ्य र आर्थिक समस्यामा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आफ्ना शेयर सदस्यहरुको सारथी बन्ने नयाँ अभियान थालेको छ ।
शेयर सदस्य र तीनका परिवारहरुको फोन मार्फत अवस्था बुझ्ने र समस्या भएमा आवश्यक सहयोग र सहजीकरण समेत गरे पछि आदर्श सञ्चार सहकारीको यो अभियान प्रभावकारी बनेको छ । लकडाउनको समयमा संस्थाका शेयर सदस्यहरुलाई पर्न सक्ने समस्याको जानकारीका साथै कोरोनाबाट जोगिन अपनाउनु पर्ने सुझाव लिन संस्थाले शेयर सदस्यसँग सिधा सम्पर्क सहित परामर्श सेवा सञ्चालन गरेको थियो ।
सदस्यहरुलाई फोन गरेर, म्यासेञ्जरमा सन्देश पठाएर तथा फेसबुकमार्फत सञ्चो बिसञ्चो बुझेर समस्या परेको अवस्थामा सहजीकरण गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।हाम्रा कर्मचारीहरुले घरमै बसेर आफ्नो मोबाइलमार्फत सदस्यहरुको स्वास्थ्य अवस्था र दैनिक घर व्यवहारमा परेका अप्ठ्याराका बारेमा पनि जानकारी लिइरहेका छन्, कोरोना संक्रमणबाट जोगिन अपनाउनु पर्ने सतर्कताका बारेमा सचेत बनाइरहेका छन्’ अध्यक्ष जिसीले भन्नुभयो, ‘लकडाउन लम्बिदो छ, आर्थिक लगायतका समस्या परेमा संस्थामा जानकारी गराउनुस् भनेका छौ, अभियान निकै प्रभावकारी देखिएको छ, स्वयम् संक्रमित भएका शेयर सदस्य र परिवारमा पनि संस्थागत अपनत्व र उत्साह थपिएको प्रतिक्रिया दिइरहेका छन् ।’
संक्रमित भएर या हुने सन्त्रासमा आफ्नै मान्छेहरु समेत तर्किने र सम्पर्कविहिन भइरहेको अवस्थामा आदर्शले गरेको सम्झना संकटमा अविस्मरणी भइरहेको प्रतिक्रियाले संस्था उत्साहित भएको संस्थाका प्रवन्धक दिपक सापकोटाले बताउनुभयो । संस्थामा आवद्ध २ हजार ७ सय जना शेयर सदस्यहरुलाई १५ जना कर्मचारीहरुले टेलिफोन गरेर स्वास्थ्य परामर्श लगायत आर्थिक समस्याका बारेमा जानकारी लिइएको र परामर्श कार्यक्रम प्रभावकारी भएको संस्थाले जनाएको छ ।