पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशको नेतृत्व गर्दै आठौं राष्ट्रिय खेकलुद प्रतियोगितामा सहभागी र १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई कोभिड १९ विरुद्धको खोपका लागि पहल शुरु गरेको छ ।
परिषदको बुधबार पोखरामा सम्पन्न बैठकले कोभिड १९ का कारण ठप्प रहेको खेलकुद गतिविधीलाई चलायमान गर्न खोपका लागि पहल शुरु गर्ने निर्णय गरेको हो । परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले बैठक बारे जानकारी दिंदै गण्डकी प्रदेशबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सहभागी र १३ औं सागमा पदक विजेता गण्डकी प्रदेशका खेलाडीलाई कोभिड विरुद्धको खोपका लागि यूवा तथा खेलकुद मन्त्रालय मार्फत पहल गर्ने भएको जनाएका छन ।
कोभिड १९ का कारण दोश्रो लहरको महामारीका कारण खेलकुद क्षेत्र ठप्प रहेकोले खेल क्षेत्रलाई चलायमान गराउन कोभिड विरुद्धको खोप अनिवार्य भएको सदस्य सचिब गुरुङले बताए । ‘खेल क्षेत्र अव टुलुटुलु हेरेर बस्न सक्दैन, खेलाडी र प्रशिक्षकलाई हामी मैदानमा उर्तान चाहन्छौ तर त्यो भन्दा अघि खोप हाम्रा लागि अनिवार्य हुन्छ,’उनले भने । खेलाडी सँगै सवै जिल्ला खेलकुद विकास समितीका सदस्यहरु र प्रशिक्षकहरुलाई समेत कोभिड विरुद्धको खोपका लागि मन्त्रालय मार्फत पहल शुरु गरिएको सदस्य सचिव गुरुङले बताए ।
परिषदको सम्पन्न बैठकले गण्डकी प्रदेशमा विभिन्न पर्यटन तथा शहासिक खेलकुदको अध्ययन तथा परामर्शका लागि बसन्तराज दवाडीको संयोजकत्वमा तिन सदस्यिय उपसमिती गठन गरेको छ । उप समितीको सदस्यमा परिषदका सदस्य गिरमान गुरुङ र परिषदका सदस्य केशव पाठक रहेका छन । यसै गरी बैठकले असारको दोश्रो साताबाट प्रदेशमा विभिन्न खेलका प्रशिक्षकहरु उत्पादन गर्न अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।