तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

 

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् ।कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

 

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा कोरोनाका कारण मन्दिर बन्द गरिएको छ । भगवान् नारायणका मुख्य मुख्य मन्दिर बन्द गरिएपनि विभिन्न स्थानमा छरिएर रहेको मन्दिरमा भने भक्तजनको भीड लाग्छ ।

 

कोरोना जोखिमका कारण मानिस मन्दिर जान सक्ने अवस्था नभएपनि कतिपय स्थानमा दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजन जम्मा हुन्छन् ।धेरैजसो मन्दिर पनि आम मानिसलाई दर्शन एवं पूजा आजाका लागि बन्द गरिएको छ । ती मन्दिरमा नित्य पूजा आराधना मात्र हुने गरेको छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...