नेपालकाे ओलम्पिक यात्रामा पूर्णविराम

काठमाडौं, साउन १५ गते । नेपालको ओलम्पिक यात्रा सकिएको छ । जापानमा जारी ग्रीष्मकालीन ओलम्पिकमा नेपाली एथलेटिक्स सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा सकिएको हो ।


नेपालबाट १० मिटर शूटिङमा कल्पना परियार, पौडीमा एक सय मिटर फ्रि स्टाइलमा महिलातर्फ गौरिका सिंह र पुरुष तर्फ एलेक्जेण्डर शाह, जुडोमा महिला ४८ केजी तौलतर्फ सोनिया भट्ट र एथलेटिक्समा महिला १०० मिटर दौडमा सरस्वती चौधरीले स्पर्धा गर्नुभएको थियो । आज बिहान सम्पन्न १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती पुछारबाट दोस्रो हुनुभयो । स्पर्धामा नौ जना खेलाडी सहभागी थिए ।

सरस्वतीले आफ्नो राष्ट्रिय कीर्तिमान समेत सुधार गर्न सक्नुभएन । उहाँले एक सय मिटरको दूरी १२.९१ सेकेण्डमा पुरा गर्नुभयो । पुछारमा पर्नुभएकी सऊदी अरेबियाकी खेलाडीले उक्त दूरी तय गर्न १३.३४ सेकेण्ड लगाउनुभयो । सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३ औं साग खेलकूदमा सरस्वतीले एक सय मिटरको दूरी १२.५५ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

 

दोहा, कतारमा सन् २०१९ मा सम्पन्न विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा सरस्वतीले एक सय मिटरको दौड १२.७२ सेकेण्डमा पूरा गर्नुभएको थियो ।दोस्रो हिटमा इरानकी फर्जानेह फैसिहीले ११.७६ सेकेण्डमा दूरी पार गर्दै पहिलो स्थानमा रहनुभयो । मलेसियाकी नबिला एलियास दोस्रो स्थानमा रहनुभयो । उहाँले ब्यक्तिगत प्रदर्शनमा सुधार गर्नुका साथै पहिलो राउण्डका लागि छनोट हुनुभयो । कुवेतकी अलशम्मारी तेस्रो भई पहिलो राउण्डमा छनोट हुनुभयो ।

सरस्वती युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागी हुनुभएको थियो । प्रारम्भिक चरणमा तीन हिटमध्ये सरस्वती चौधरी दोस्रो हिटमा हुनुहुन्थ्यो । खेलाडीले स्पर्धा गरेका थिए । हरेक हिटका शीर्ष तीन र एक उत्कृष्ट समय निकाल्ने खेलाडी प्रथम राउन्डका लागि छनोट भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...