अन्नपूर्ण गाउँपालिका वडा १० र ११ घान्द्रुकका पहिरो पीडितलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले राहतस्वरूप रु १३ लाख नगद सहयोग गरेको छ। बिहिबार घान्द्रुकमा आयोजित एक कार्यक्रमका बीच फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले पहिरो पीडित १२ परिवारलाई सो रकम हस्तान्तरण गरेका हुन्।
गत असार १ गते मध्यराति परेको अविरल वर्षाका कारण वडा नम्बर १० र ११ मा गएको पहिरोले १२ परिवारको घरमा क्षति हुन पुगेका थियो। पहिरोले दुईवटा घर बगाएको थियो भने दुई घर उच्चजोखिममा तथा अन्य घरमा आंशिक क्षति पुर्याएको थियो।
कार्यक्रममा पहिरोले घर बगाएर पूर्ण क्षति भएको मैतासिंह / चिजकुमारी गुरुङको परिवारलाई नगद रु ७ लाख, हरीकला गुरुङ र उनको घरमा रेष्टुरेण्ट सञ्चालन गर्दै आएका छबि राना मगरलाई ७५ /७५ हजार, विस्थापित बुद्धीराज परियार (पञ्चे कान्छा) र मनबजु परियारलाई
नगद रु १ लाख २५ हजार / १ लाख २५ हजार प्रदान गरिएको थियो ।
त्यसैगरी आंशिक क्षति पुगेका दोबाटोका राजमान गुरुङ, खड्का जैसी, घुर्जुङका लाल गुरुङ, सोही स्थानकै राम प्रसाद गुरुङ, धनु गुरुङ, कत्रोका मिम कुमारी बिक र टेक बहादुर जैसीलाई समान २२ हजार/२२ हजारको दरले प्रदान गरिएको हो ।
हस्तान्तरण पश्चात बोल्दै अध्यक्ष अमृत गुरुङले आफ्नै आँखा अगाडी गाउँलेलाई चोट परेको देख्दा आफू यत्तिकै बस्न नसकेको र चोटमा मल्हम लगाउन सहयोग गर्नुपर्छ भने लागेर पीडितहरुकै अनुमतिमा राहत संकलनमा अगाडी बढेको बताए। उनले भने; ” आफ्नै घर आँगनमा पहिरोले लगेर विस्थापित हुँदा केहि न केहि गरौँ भनेर असार ४ गते देखि राहतका लागि अभियान चलाएका हौँ। ”
उनले स्वदेश तथा विदेशमा बस्ने सहयोग दाताहरु बाट छोटो समयमै जम्मा रु १३ लाख रकम संकलन भएको बताए। उनले भने; ” हाम्रो अनुरोधमा स्वदेश तथा विदेशमा बस्ने नेपाली तथा घान्द्रुके दाजुभाई तथा दिदीबहिनीहरुले सहयोग गर्नु भयो सोही रकम नै आज हस्तान्तरण गर्न पायौं । ”
प्राकृतिक विपदको बेला पीडित गाउँलेलाई केही राहत होस भन्ने सुबिचारको कारण नै यो सम्भव भएको बताउदै उनले सहयोग दाताहरुलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले लामा अमृत फाउण्डेशनले उदाहरणीय कार्य गरेको उल्लेख गरे । उनले फाउण्डेशनको पुण्यकार्यबाट अरुले समेत पाठ सिक्नुपर्ने बताएका थिए ।
त्यसैगरी घान्द्रुक प्हे ल्हु संघ ईकाई समितिका अध्यक्ष प्रेम गुरुङले फाउण्डेशनको प्रसंशा गर्दै लामा अमृत फाउण्डेशनको चालेको कदमले सदैब घान्द्रुकबासीलाई एकताको सुत्रमा बाँधिन टेवा पुग्ने बताए । उनले एकलाई दु:ख पर्दा अर्कोले सहयोग गर्ने प्रचलन पहिले देखि नै रहदै आएको बताउदै उक्त कार्यले निरन्तरता पाउनुपर्नेमा समेत जोड दिएका थिए
सोही अवसरमा फाउण्डेशनले घान्द्रुक स्वास्थ्य चौकी र प्रहरी चौकीलाई समेत स्वास्थ्य सामाग्री प्रदान गरेको थियो।यसअघि घान्द्रुक होटल तथा पर्यटन व्यवस्थापन समिति, घान्द्रुक समाज हङकङ, घान्द्रुक समाज युके लगायतका संस्थाले समेत पीडित परिवारहरुलाई आर्थिक सहयोग गरिसकेको छ ।