काठमाडौं, भदौ १३ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संसदीय दलको नेतामा अध्यक्ष नेपाल चयन हुनुभएको जानकारी दिनुभयो । आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको सांसद चौधरीले बताउनुभयो ।
यसैगरी वेदुराम भुसाल राष्ट्रियसभा, संसदीय दलको नेतामा चयन हुनुभएको सांसद चौधरीले बताउनुभयो । बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको उहाँले जानकारी दिनुभयो । एमाले विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सभामा सात सांसद छन् । त्यस्तै बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । विधान मस्यौदा समितिमा भवानी खापुङ, शेरबहादुर कुवँर, लक्ष्मी चौधरी, निरा जैरु र ठगेन्द्रप्रकाश पुरी रहनुभएको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।
यसै गरी आइतबार बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्नुहुँदै नेता नेपालले हाल पार्टीको विधान, वैचारिक तथा सांगठनिक स्वरुप सबै निर्वाचन आयोगमा मस्यौदाको रुपमा रहेको र यी सबै मस्यौदाहरुलाई राष्ट्रिय सम्मेलनमार्फत पूर्णता दिइने बताउनुभयो ।